'जेन जी' आन्दोलनमा मृतकको सङ्ख्या ३०, प्रधानसेनापति 'वार्ता'मा

नेपाली सेनाले जेन जीको आन्दोलनपश्चात् उत्पन्न परिस्थितिलाई सम्बोधन गरी समस्या समाधान गर्न सम्बद्ध पक्षबीच समन्वय भइरहेको भन्दै शान्ति सुरक्षा कायम गर्न देशैभरि निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेको छ।

सारांश

  • नेपाली सेनाले देशभरि भोलि बिहानसम्म लागु हुने गरी निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेको छ
  • सैनिकहरू गस्तीमा निस्किएका छन्
  • कैयौँ सरकारी कार्यालय र अन्य संरचनामा व्यापक आक्रमण र आगजनी भएको भोलिपल्ट आज बिहानसम्म आन्दोलनकारीहरू सडकमा गएको देखिँदैन
  • नेपाली सेनाले जेन जीको आन्दोलनपश्चात् उत्पन्न परिस्थितिलाई सम्बोधन गरी समस्या समाधान गर्न सम्बद्ध पक्षबीच समन्वय भइरहेको जनाएको छ
  • मङ्गलवार अपराह्णदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झन्डै २४ घण्टापछि पुन: सञ्चालनमा आएको छ
  • 'जेन जी' प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ
  • प्रधानसेनापति अशोकराज सिग्देलले सङ्कटको निकासबारे विभिन्न पक्षहरूसँग कुराकानी गरेको विवरण आएका छन्

लाइभ कभरेज

  1. हिजो के भयो

    • प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि समेत मङ्गलवार साँझसम्म काठमाण्डूलगायत देशका विभिन्न भागमा राज्यका प्रमुख अङ्गका संरचना, व्यावसायिक भवन तथा निजी सम्पत्तिहरू आक्रमणकारीहरूको निसानामा परे
    • मङ्गलवार साँझ प्रधानसेनापति अशोकराज सिग्देलले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिएको एक भिडिओ सन्देशमा आन्दोलनरत समूहलाई "आन्दोलनका कार्यक्रमहरू स्थगन गरी वार्ताको निमित्त आह्वान" गरे
    • मङ्गलवार अबेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल 'एक्स'मा नेपालको घटनाक्रमबारे विस्तृत छलफल भएको जनाए
    • संयुक्त राष्ट्रसङ्घका महासचिवले पनि नेपालमा विकसित घटनाक्रम नजिकबाट नियालिरहेको बताए
    • मङ्गलवार थप केही प्रदर्शनकारी एवं प्रहरीको मृत्यु भएको विवरण आयो,
    • जेन जी युवा पुस्ताले सोमवार गरेको आन्दोलनमा प्रहरीले घातक बल गर्दा १९ जनाको मृत्यु भएको थियो
  2. शान्ति सुरक्षाको जिम्मा लिँदै सेना सडकमा

    सिंदरबारनजिकै सडकमा गस्ती गर्दै नेपाली सेना

    तस्बिर स्रोत, Reuters

    नमस्कार। बीबीसी न्यूज नेपालीको लाइभ पेजमा तपाईँलाई स्वागत छ। आज पनि हामी तपाईँहरूलाई जेन जीको आन्दोलनपश्चात् उत्पन्न घटनाक्रम र शान्तिसुरक्षाको स्थितिबारे यो लाइभ पेजमार्फत् जानकारी गराउने छौँ।

    • कैयौँ सरकारी कार्यालय र अन्य संरचनामा व्यापक आक्रमण र आगजनी भएपछि राजधानी काठमाण्डूसहित देशका विभिन्न भागमा हिजो रातिदेखि नेपाली सेना परिचालन भएको छ
    • बिहानैदेखि काठमाण्डूका सडकमा थप सङ्ख्यामा सैनिकहरू परिचालित छन् भने आन्दोलनकारीहरू सडकमा गएको देखिँदैन
    • नेपाली सेनाले जेन जीको आन्दोलनपश्चात् उत्पन्न परिस्थितिलाई सम्बोधन गरी समस्या समाधान गर्न सम्बद्ध पक्षबीच समन्वय भइरहेको जनाएको छ
    • सेनाले हाल देशभरि लागु गरिएको निषेधाज्ञा बुधवार बेलुकी ५ बजेसम्म जारी रहने र त्यसपछि बिहीवार बिहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश जारी भएको जनाएको छ।