सूचना तथा सञ्चार मन्त्रालयले रसुवा, नुवाकोट र धादिङसहितका स्थानमा हालै गएको प्राकृतिक विपद्का घटनासँग सम्बन्धित मानवीय रूपमा संवेदनशील तस्बिर, श्रव्यदृश्य तथा अपुष्ट सूचना प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तासँग अपील गरेको छ ।
मन्त्रालयले विपद्को विषम परिस्थितिमा सञ्चारमाध्यम तथा सर्वसाधारण नागरिकहरूबाट प्रवाह हुने सूचनाले उद्धार, राहत तथा जनमानसमा महत्वपूर्ण प्रभाव पार्ने भएकाले जिम्मेवार र संवेदनशील ढङ्गबाट सूचना सम्प्रेषण गर्न आग्रह गरेको राष्ट्रिय समाचार समितिले जनाएको छ।
मन्त्रालयका प्रवक्ताले एउटा विज्ञप्ति जारी गर्दै विपद्बाट भएको क्षति, उद्धार तथा राहतसम्बन्धी समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्दा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय विपद् व्यवस्थापन समितिजस्ता आधिकारिक निकायबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन अनुरोध गरेका छन्।
अपुष्ट, कपोलकल्पित तथा एआईको प्रयोगबाट सिर्जित भ्रामक सामग्री र सर्वसाधारणमा त्रास फैलाउने किसिमका समाचार तथा अफवाह सम्प्रेषण नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयले सामाजिक सञ्जालमा विपद्का हृदयविदारक घटनाका तस्बिर, श्रव्यदृश्य वा विवरण पोस्ट वा रिपोस्ट नगर्न पनि अनुरोध गरेको छ। त्यस्ता सामग्रीले ज्यान गुमाएका व्यक्तिका आफन्त तथा परिवारजनलाई थप मानसिक पीडा पुग्न सक्ने भएकाले पीडित र परिवारप्रति मानवीय संवेदनशीलता अपनाउन मन्त्रालयले जोड दिएको छ।
विपद्को समयमा भयावह, विचलित बनाउने तथा समाजलाई नै विक्षिप्त पार्ने सामग्री प्रकाशन, प्रसारण, अप्लोड, शेअर, पोस्ट वा रिपोस्ट नगरी सही, तथ्यपरक र जिम्मेवार सूचना प्रवाह गर्न मन्त्रालयले आग्रह गरेको छ।