एक करोडभन्दा बढी समानुपातिक मत गन्दा रास्वपालाई ५० लाख, ६ दलले 'राष्ट्रिय पार्टी'को मान्यता पाउने सङ्केत

प्रत्यक्ष मतदानमा सीट जित्ने सबै छ दलले समानुपातिकतर्फ कुल सदर मतको तीन प्रतिशत मत कटाएकाले तिनले 'राष्ट्रिय पार्टी'को मान्यता पाउने देखिएको छ।

सारांश

  • प्रतिनिधिसभा निर्वाचन सम्पूर्ण मतगणना अन्तिम चरणमा पुगेको छ, १ करोड ६ लाखभन्दा बढी मत गन्दा रास्वपाले ५० लाख मत पाएको छ
  • निर्वाचन आयोगले प्रत्यक्षतर्फ सबै १६५ स्थानको अन्तिम मतपरिणाम घोषणा गरिसकेको छ, विवाद उत्पन्न भएको धनुषा १ मा नेकपाका मातृका यादव विजयी भएको आयोगले जनाएको छ
  • प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा, नेपाली कांग्रेस दोस्रो, नेकपा एमाले तेस्रो र नेपाली कम्युनिस्ट पार्टी चौथो स्थानमा छन्
  • पहिलो पटक चुनावमा भाग लिएको श्रम संस्कृति पार्टी र पुरानो दल राप्रपाले पनि समानुपातिक मतमा ३ प्रतिशत 'थ्रेश्होल्ड' कटाएर राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ
  • यो निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद निर्वाचित हुने छन्

लाइभ कभरेज

  1. यसरी भयो विवाद उत्पन्न भएको धनुषा १ मा मतपरिणाम घोषणा, माधुरी महतो, वीरगन्ज

    मातृका यादव

    तस्बिर स्रोत, RSS

    प्रत्यक्षतर्फ विवादित बनेको धनुषा-१ को मतपरिणाम निर्वाचन आयोगको निर्देशनसँगै सोमवार अबेर घोषणा गरियो। त्यहाँ नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी बने।

    आयोगको सोमवारको बैठकले धनुषा-१ का निर्वाचन अधिकृतलाई मतपरिणाम सार्वजनिक गर्न निर्देशन दिएको थियो।

    "...सम्मानित सर्वोच्च अदालतबाट मिति २०८२/११/२९ गते प्राथमिकतामा पर्ने गरी पेसी तोक्ने भनी भएको आदेशबमोजिम धनुषा जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ को निर्वाचन परिणामको सम्बन्धमा सम्मानित अदालतबाट अन्यथा आदेश भएमा सोही बमोजिम हुने गरी हाल उम्मेदवार कायम रहेका उम्मेदवारले प्राप्त गरेको मत परिणाम घोषणा गर्न भनी धनुषा जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ का निर्वाचन अधिकृतलाई निर्देशन दिने," आयोगले आफ्नो निर्देशनमा भनेको छ।

    त्यसलगत्तै नेकपाका विजयी उम्मेदवार यादवले आफ्नो प्रमाणपत्र बुझेका थिए।

    यसअघि कालोसूचीमा परेको आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी निर्वाचन हुनुभन्दा तीन दिनअघि मात्रै आयोगले खारेज गरेको थियो।

    उम्मेदवारी खारेज भए पनि मतदान प्रक्रिया सम्पन्न भइसकेकाले आयोगले मतपरिणाम सार्वजनिक नगरी रोक्दै आएको थियो। निर्वाचनको नतिजा रोकिएको विषयमा चौतर्फी विरोध बढेपछि र सर्वोच्च अदालतले तत्काल उम्मेदवारी खारेजीको निर्णयमा रोक लगाउन अस्वीकार गरेपछि आयोगले निकास निकाल्दै परिणाम सार्वजनिक गर्ने निर्णय गरेको हो।

    आफ्नो उम्मेदवारी खारेजीविरुद्ध साहले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। त्यसमाथि सोमवार न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासमा बहस भएको थियो।

    बहसपछि अदालतले आगामी शुक्रवार (फागुन २९ गते) दुवै पक्षलाई अन्तरिम आदेशबारे छलफलका लागि उपस्थित हुन आदेश दिएको छ।

    नेकपाले धनुषा १ मा बाहेक सात स्थानमा चुनाव जितेको छ।

  2. यसपालि यस्तो हुन सक्छ प्रतिनिधिसभाको संरचना

    गत साता सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक सीट जितेको छ भने समानुपातिकतर्फ पनि झन्डै ४८ प्रतिशत मत पाएको छ।

    अहिलेसम्म घोषित अन्तिम परिणाम र समानुपातिक मतको अनुपातको आधारमा प्रतिनिधिसभाको संरचना यस्तो हुन सक्छ -

    यहाँ समानुपातिकतर्फ अहिलेसम्म प्राप्त मतका आधारमा अनुमानित सीट सङ्ख्या देखाइएको छ।

    सीट सङ्ख्याको अन्तिम निर्णय निर्वाचन आयोगले गर्छ।

  3. समानुपातिक मतगणना पनि अन्तिम चरणमा, आजै अन्तिम परिणाम घोषणा गर्ने तयारीमा निर्वाचन आयोग

    नमस्कार। बीबीसी न्यूज नेपालीको लाइभ पेजमा यहाँहरूलाई स्वागत छ।

    गत साता फागुन २१ गते बिहीवार भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ। आजै अन्तिम परिणाम घोषणा गर्ने निर्वाचन आयोगको तयारी छ।

    अहिलेसम्म हामीलाई के थाहा छ?

    • प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ, १ करोड ४ लाख मत गन्दा रास्वपाले झन्डै ४९ लाख ८७,००० मत पाएको छ
    • प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा, नेपाली कांग्रेस दोस्रो, नेकपा एमाले तेस्रो र नेपाली कम्युनिस्ट पार्टी चौथो स्थानमा छन्
    • निर्वाचन आयोगले विवादित धनुषा १ को मतपरिणाम पनि घोषणा गरेको छ
    • प्रत्यक्षतर्फ सीट जितेका श्रम संस्कृति पार्टी र राप्रपा पनि ' कटाएका छन्, तिनले पनि राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ
    • यो निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद निर्वाचित हुने छन्

    आज हामी यो लाइभ पेजमा मतपरिणामसँग सम्बन्धित जानकारी र समाचार प्रकाशित गर्ने छौँ। धन्यवाद।