तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

बालेन शाह विजयी घोषित, रास्वपाले घोषणा गरेबमोजिम भावी प्रधानमन्त्री बन्ने ढोका खुला

फागुन २१ गते भएको मतदानको हालसम्म प्राप्त मतपरिणाममा रास्वपाले अग्रता कायम गरेको छ। बालेन शाह विजयी घोषित हुँदा नेकपा एमालेका केपी ओली निकटतम प्रतिद्वन्द्वी बनेका छन्।

सारांश

  • रास्वपाका उम्मेदवार बालेन्द्र शाह ६८,३४८ मतका साथ झापा ५ बाट विजयी भएका निर्वाचन आयोगले जनाएको छ, दोस्रो स्थानमा रहेका केपी शर्मा ओलीले १८,७३४ मत पाएका छन्
  • प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि अहिले देशका विभिन्न निर्वाचन क्षेत्रहरूमा मतगणना जारी छ
  • प्रत्यक्षतर्फ प्रारम्भिक मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी अधिकांश स्थानमा अगाडि छ, रास्वपाले अहिलेसम्म ७१ स्थानमा जित र ५१ स्थानमा अग्रता लिएको छ
  • दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १० स्थान, तेस्रो स्थानको एमालेले ४ र चौथो स्थानको नेकपाले २ पाँचौँ स्थानको राप्रपाले १ स्थानमा जित हासिल गरेका छन्
  • म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित भएका छन्
  • बिहीवार देशैभरि प्रत्यक्ष र समानुपातिक प्रणालीका लागि एकै चरणमा मतदान भएको थियो
  • प्रत्यक्षतर्फ ३,४०० भन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन्
  • यो निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद निर्वाचित हुने छन्
  • केही निर्वाचन क्षेत्रमा प्रत्यक्षको घोषणा पछि समानुपातिकतर्फको पनि मतगणना जारी छ

लाइभ कभरेज

  1. पाँचथरमा दुई उम्मेदवारबीच ३ मतको अन्तरसहित प्रतिस्पर्धा, सीता निरौला, इलाम

    पाँचथरमा श्रम संस्कृति पार्टीका उम्मेदवार हस्त राज शेर्मा र नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्र कुमार केरुङबीच मत गणनामा रोचक प्रतिस्पर्धा देखिएको छ। पछिल्लो मत परिणाम अनुसार उनीहरूबीच मात्र ३ मतको अत्यन्तै नजिकको अन्तर रहेको छ।

    हालसम्मको मत गणनाअनुसार:

    नरेन्द्र कुमार केरुङ, नेपाली काँग्रेस : ५,७०५

    हस्त राज शेर्मा, श्रम संस्कृति पार्टी : ५,७०२

    हर्क बहादुर नेम्बाङ, नेपाली कम्युनिस्ट पार्टी : ४,५०३

    अइन्द्र सुन्दर नेम्बाङ, नेकपा एमाले : ३,६३७

    टेकबहादुर सुब्बा, राष्ट्रिय परिवर्तन पार्टी : १,३६२

  2. कांग्रेस महामन्त्री घिमिरे रास्वपाका राजवंशीसँग पराजित, विक्रम निरौला, विराटनगर

    नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेलाई पराजित गर्दै मोरङ ४ बाट रास्वपाका सन्तोष राजवंशी निर्वाचित भएका छन्।

    रास्वपा उम्मेदवार राजवंशीले २८ हजार बढीको मतान्तरले घिमिरेलाई पराजित गरेका हुन्। राजवंशी पूर्व पत्रकार हुन्। यो क्षेत्रबाट अघिल्लो पटक सांसद निर्वाचित भएका नेपाली कम्युनिस्ट पार्टीका अमनलाल मोदी तेस्रो स्थानमा छन्।

    मोरङ ४ का १,१९,२५५मतदातामध्ये ८०,०८४ जनाले भोट हालेका थिए।

    सन्तोष राजवंशी, रास्वपा : ४०,८३३

    गुरुराज घिमिरे, कांग्रेस : १२,८१८

    अमनलाल मोदी, नेकपा : १०,७६२

  3. जनार्दन शर्मालाई आफ्नै 'चेला'ले पछि पारे, प्रकाश पन्त, सुर्खेत

    रुकुम पश्चिममा माओवादी सशस्त्र द्वन्द्वको समयका 'गुरु र चेला' बीचको चुनावी प्रतिस्पर्धामा हालसम्मको मतपरिणाममा गुरुभन्दा चेला अघि देखिएका छन्।

    एउटै मोर्चामा रहेर सशस्त्र द्वन्द्वमा सहभागी भएका नेता जनार्दन शर्मा र गोपाल शर्माबीच यहाँ रोचक प्रतिस्पर्धा छ।

    सुरुदेखि नै अग्रता हासिल गर्दै आइरहेका जनार्दन शर्मालाई गोपाल शर्माले पछिल्ला मतपरिणाममा पछाडि पारेका छन्।

    पछिल्लो मत गणनाको परिणाममा नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्माले ९,०६५ र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनाव लडेका जनार्दनले ६,७५३ मत पाएका छन् ।

    शर्मा केही समयअघि मात्रै पुरानो पार्टी नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रलोपा गएका थिए।

    यस्तै कांग्रेसका राजु केसीले ६,०७५ र रास्वपाका मानबहादुर शाहीले १,४९२ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    एउटै पार्टीमा हुँदा योजना बनाउने जनार्दन र जिल्लामा कार्यान्वयन गर्ने गोपालबीचको चुनावी प्रतिस्पर्धामा कसले बाजी मार्ला भनेर धेरैलाई कौतुहलता बढाएको छ।

    नयाँ दल खोलेर चुनावमा होमिएका जनार्दनलाई आफ्नो उम्मेदवारी फिर्ता गरेर नेकपा एमालेले समेत समर्थन गरे पनि कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारसँग उनको कडा प्रतिस्पर्धा भइरहेको छ।

    विसं २०६४ सालबाट लगातार चुनाव जित्दै आएका जनार्दन पटक पटक मन्त्री भएका व्यक्ति हुन् भने गोपालले २०७४ मा प्रदेश सभा सदस्य जितेर एक पटक प्रदेश मन्त्री भएका छन्।

  4. सुनसरी १ मा हर्क साम्पाङले अग्रता बढाए

    धरान उपमहानगरपालिकाका पूर्व मेअर हर्कराज साम्पाङ राईले सुनसरी १ मा अग्रता बढाएका छन्।

    नगर प्रमुखबाट राजीनामा दिएर उम्मेदवार बनेका श्रम संस्कृति पार्टीका अध्यक्ष राईले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई करिब २ हजार मतले पछि पारेका छन्।

    नेपाली कम्युनिस्ट पार्टीका सूर्यबहादुर भट्टराई तेस्रो स्थानमा छन्।

    हर्कराज राई, श्रम संस्कृति पार्टी : ७,८१३

    गोमा तामाङ, रास्वपा : ५,८७१

    सूर्यबहादुर भट्टराई, नेकपा : १,४७३

  5. सर्लाहीमा गगनभन्दा ५,९७२ मतले अमरेश अगाडि

    सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सभापति गगन थापा करिब छ हजार मतले पछाडि परेका छन्।

    बिहान ११ बजेसम्मको मतगणनामा उनलाई रास्वपाका अमरेशकुमार सिंहले ५,९७२ मतले पछाडि पारेका छन्।

    यो निर्वाचन क्षेत्रमा विसं २०७९ सालको अघिल्लो संसदीय निर्वाचनमा सिंह निर्वाचित भएका थिए। उक्त निर्वाचनमा स्वतन्त्र उम्मेदवार रहेका सिंह अहिले रास्वपाबाट उम्मेदवार छन्।

    चार पटक संसद् बनेका कांग्रेस सभापति थापा काठमाण्डूको पुरानो क्षेत्र छोडेर सर्लाही गएका हुन्।

    अमरेश कुमार सिंह (रास्वपा) :- १४,४३४

    गगन थापा (कांग्रेस) :- ८,४६२

    अमनिशकुमार यादव (नेकपा एमाले) :- २,२६१

    राकेश मिश्र (जनमत) :- ९९१

    डा. रजनिश राय (नेकपा) :- ६५६

  6. चितवनमा रेणु दाहाल ३० हजार मतले पछाडि

    चितवन क्षेत्र नम्बर ३ मा भरतपुर महानगरपालिकाकी पूर्वमेअर रेणु दाहाल फराकिलो मतान्तरले पछि परेकी छन्।

    मेअरबाट राजीनामा दिएर नेपाली कम्युनिस्ट पार्टीबाट प्रतिनिधिसभा उम्मेदवार बनेकी दाहाललाई रास्वपाकी सोविता गौतमले ३० हजार भन्दा धेरै मतान्तरले पछि पारेकी छन्। गौतम यसअघि काठमाण्डू २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी थिइन्।

    सोविता गौतम : ४७,३०५

    रेणु दाहाल : १७,४८९

  7. जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीकाे अग्रता कायमै, कृष्णमाया उपाध्याय, जुम्ला

    जुम्लामा २९,११५ मतगणना गर्दा राप्रपाका ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले अग्रता लिएका छन्। उनले आफ्ना प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारसँग ४ हजार १ ५६ मतान्तर कायम गरेका छन् । जसमा जुम्लाका पाँच वटा पालिका र चन्दननाथ नगरपालिकाको ८ वटा वडाको मतगणना गर्दा अहिले सम्मको मत परिणाम यस प्रकार छ:

    • राष्ट्रिय प्रजातन्त्र पार्टी- ११,४६१
    • नेपाली कम्युनिस्ट पार्टी- ७३०५
    • नेपाली कांग्रेस- ४६९९
    • नेकपा एमाले- ३५३०
    • राष्ट्रिय स्वतन्त्र पार्टी- ३२९
  8. बझाङमा एमालेका ऐन महर निर्वाचित, हिक्मतबहादुर रावल, धनगढी

    सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा नेपाल कम्युनिस्ट पार्टी एमालेका उम्मेदवार ऐन महर विजयी भएका छन्। उनी एमालेबाट हालसम्म निर्वाचित दोस्रो सांसद हुन्।

    निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार उनी १८ हजार ५४३ मत ल्याएर विजयी भएका हुन्।

    उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४मत पाए ।

    २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा महर भानुभक्त जोशीसँग ९९८ मतको झिनो अन्तरले पराजित भएका थिए।

  9. रास्वपाकी रुबिना आचार्यसँग कांग्रेस नेता शेखर कोइराला पराजित, विक्रम निरौला, विराटनगर

    मोरङ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुबिना आचार्य निर्वाचित भएकी छिन्।

    उनले नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई ४२ हजार बढी मत अन्तरले पराजित गरेकी हुन्।

    निर्वाचन आयोगका अनुसार आचार्य ५५ हजार ५१३ मतसहित विजयी भएकी हुन्। कांग्रेसका डा. शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका एमालेका विनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गरेका छन्।

  10. 'नेमकिपाको गढ'मा रास्वपाका रन्जित निर्वाचित

    लामो समयदेखि नेपाल मजदुर किसान पार्टीले निर्वाचन जित्दै आएको भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार निर्वाचित भएका छन्।

    रास्वपाका रुकेश रन्जितले पाँच हजार मत अन्तरले नेमकिपाका पूर्व सांसद प्रेम सुवाललाई पराजित गरेका छन्।

    भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका समेटिएको यो निर्वाचन क्षेत्रलाई 'नेमकिपाको गढ' भन्ने गरिएको थियो।

    यहाँ कांग्रेस उम्मेदवार किरण न्यौपाने तेस्रो र नेकपा एमालेका उम्मेदवार सोमप्रसाद मिश्र चौथो भएका छन्।

    • रुकेश रन्जित- ३३,४३६
    • प्रेम सुवाल- २८,१४७
    • किरण न्यौपाने- ४,२८२
    • सोमप्रसाद मिश्र- ३,७२१
  11. झापा ५ मा बालेन २९ हजार मतले अगाडि, विक्रम निरौला, विराटनगर

    यो चुनावमा धेरैको चासोको केन्द्रमा रहेको झापा निर्वाचन क्षेत्र नं ५ को मतगणनाको पछिल्लो विवरणका अनुसार रास्वपाका उम्मेदवार बालेन्द्र शाह बालेन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीभन्दा करिब ४ गुणा मतले अगाडि देखिएका छन्।

    शाहले ३९,२८४ मत ल्याएर मतान्तर बढाउँदै गएका छन्।

    एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो स्थानमा छन् । उनले १०,२८४ मत पाएका छन् ।

    एक लाख बढी मत खसेको उक्त क्षेत्रमा हालसम्म ६२,१०० मत गणना भएको बताइएको छ । शाह र ओली दुवै आआफ्नो पार्टीबाट भावी प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार हुन्।

    • बालेन्द्र शाह, रास्वपा : ३९,२८४
    • केपी शर्मा ओली, एमाले : १०,२९३
  12. स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित

    म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएका निवर्तमान शिक्षामन्त्री महावीर पुन प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्।

    उनले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई करिब १५ हजार मतले पछि पारे।

    पुनले २२,८५० मत ल्याएको निर्वाचन आयोगले जनाएको छ।

    उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समर्थन गरेको थियो।

    एमालेका श्रेष्ठले ७९१९ मत पाए। नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारी ६६७६ मत ल्याउँदै तेस्रो स्थानमा रहे।

  13. बाँके–२ मा एमालेका मोहम्मद इश्तियाक राई फराकिलो मतान्तरसहित विजयी, विमला चौधरी, नेपालगन्ज

    बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राई फराकिलो मतान्तरसहित विजयी भएका छन्।

    यसपटकको उनी हालसम्म निर्वाचित घोषणा हुने पहिलो एमाले उम्मेदवार हुन्।

    राईले २४ हजार ६ सय २६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विवेककुमार श्रेष्ठले १८ हजार ५ सय ८१ मत प्राप्त गरेका छन्। विजयी राई र श्रेष्ठबीच ६ हजार ४५ मतको फराकिलो अन्तर रहेको छ।

    यसै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार सुधांशु कोइराला १७ हजार ५ सय ९० मतसहित तेस्रो स्थानमा रहेका छन्। रास्वपाका श्रेष्ठ र कांग्रेसका कोइरालाबीचको मतान्तर भने निकै झिनो रहेको देखिएको छ। त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ऋषिराज देवकोटाले १ हजार २ सय ८६ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दीपेन्द्र विष्टले १ हजार १५ मतसहित पाँचौँ स्थान हासिल गरेका छन् ।

    यस जितसँगै मोहम्मद इश्तियाक राई बाँके क्षेत्र नम्बर २ बाट तेस्रो पटक प्रतिनिधिसभामा निर्वाचित हुन सफल भएका छन् । उनी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरमका तर्फबाट उम्मेदवार बनेर यही क्षेत्रबाट निर्वाचित भएका थिए । निर्वाचन जितेको दुई वर्षपछि २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा उनी श्रम तथा यातायात व्यवस्था मन्त्री बनेका थिए। तर २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने उनले पराजय बेहोर्नुपरेको थियो।

  14. कालिकोटबाट महेन्द्रबहादुर शाही निर्वाचित

    कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही कालिकोटबाट तेस्रो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

    निकटतम प्रतिद्वन्द्वी एमालेका नगिन्द्र शाहीलाई ९८६ मतान्तरले पछि पार्दै उनी निर्वाचित भएका हुन।

    नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शाहीले ११,३३८ मत र एमालेका नगिन्द्रले १०,३५२ मत ल्याएका छन्।

    यस्तै नेपाली कांग्रेसका हर्षबहादुर बमले ७,१३३ मत, नेकपा विप्लव समूहका खड्गबहादुर विश्वकर्माले ४,५९९ र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपानेले २,९३७ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    दैलेख १ र कालिकोट गरी २ क्षेत्रको मत परिणाम आइसक्दा मुगु बाहेक अरू ९ क्षेत्रमा भने मत गणना जारी रहेको छ।

    अहिले मत गणना भइरहेको ९ क्षेत्र मध्ये नेकपा ४, कांग्रेस २, नेकपा एमाले, रास्वपा र राप्रपा एक एक ठाउँमा अगाडि छन्।

    जुम्लामा राप्रपा, हुम्ला, डोल्पा, रुकुम पश्चिम र सल्यानमा नेकपा, सुर्खेत क्षेत्र नम्बर १ र जाजरकोटमा कांग्रेस, दैलेख क्षेत्र नम्बर २ मा एमाले र सुर्खेत क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार अग्रस्थानमा देखिएका छन्।

  15. कैलालीका पाँचै क्षेत्रमा रास्वपा अगाडि, हिक्मतबहादुर रावल, धनगढी

    कैलालीका पाँच वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन्।

    निर्वाचन कार्यालयले शनिवार बिहान साढे सात बजेसम्म सार्वजनिक गरेका मत परिणाम अनुसार निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आनन्दबहादुर चन्दले २१ हजार ७९४, नेपाली कांग्रेसका नरनारायण शाहले ७ हजार ७५४ र नेपाली कम्युनिस्ट पार्टीका प्रेमबहादुर आलेले ५ हजार ९५२ मत प्राप्त गरेका छन्।

    यसै गरी क्षेत्र नं ४ मा रास्वपाका खेमराज कोइरालाले ९ हजार ६४ मत प्राप्त गर्दा नेपाली कांग्रेसका गोरखबहादुर विष्टले ३ हजार ४०१ मत प्राप्त गरेका छन्। नेकपा एमालेका लेखराज भट्ट तेस्रो नम्बर छन्। भट्टले २ हजार ७८८ मत ल्याएका छन्।

    क्षेत्र नं ३ मा पनि रास्वपाका उम्मेदवारको फराकिलो मतान्तर छ। रास्वपाका जगतप्रसाद जोशीले ११ हजार ५५७ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका वीरमान चौधरीले ७ हजार ५४५ र नेपाली कांग्रेसका भीम बडुवालले ४ हजार ९८० मत प्राप्त गरेका छन्।

    क्षेत्र नं २ मा रास्वपाका केपी खनाल अन्य उम्मेदवार भन्दा थोरै मतले अगाडि छन्। रास्वपाका खनालले ३ हजार ३०७ मत ल्याउँदा नेकपा एमालेका सूर्यबहादुर थापाले २ हजार १२२ मत प्राप्त गरेका छन्।

    मत परिणाम अनुसार तेस्रो नम्बर रहेका नेपाली कांग्रेसका विजय स्वाँरले १ हजार ६६० मत प्राप्त गरेका छन्।

    क्षेत्र नं १ मा रास्वपाकी कोमल ज्ञवालीले अग्रता कायम राखेकी छिन्। उनले १५ हजार २१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका जनकराज चौधरीले ९ हजार ७१७ मत ल्याएका छन्।

  16. कर्णालीमा कांग्रेसबाट जित्ने पहिलो महिला सांसद बनिन् बासना, प्रकाश पन्त, सुर्खेत

    नेपाली कांग्रेसको संसदीय यात्रामा कर्णाली क्षेत्रमै पहिलो पटक प्रत्यक्षमा महिला उम्मेदवारले चुनावी जितेकी छन्।

    प्रत्यक्षतर्फ दैलेख क्षेत्र नम्बर १ मा बासना थापा विजयी भएकी हुन्।

    चुनावी गठबन्धन गरेका कारण कांग्रेसले विसं २०७४ को चुनावमा यो जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी र २०७९ मा तत्कालीन नेकपा समाजवादीका उम्मेदवारलाई समर्थन गरेको थियो।

    निर्वाचन अधिकृतको कार्यालयका अनुसार थापाले १२,३७२ मत र नेकपा एमालेका रविन्द्रराज शर्माले ११,७९६ मत ल्याएका छन्।

    यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका नन्दकिशोर बस्नेतले ८,१५१ र नेपाली कम्युनिस्ट पार्टीका अमरबहादुर थापाले ३,९८९ मत ल्याएका छन्।

  17. कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उत्तमप्रसाद पौडेल विजयी

    कास्की निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उत्तमप्रसाद पौडेल विजयी भएका छन्। पौडेलले ३१ हजार ९ सय ११ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ।

    निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रश्मि आचार्यले ७ हजार ४ सय ९३ मत पाए। यसै गरी नेपाली कांग्रेसका माधव प्रसाद बास्तोलाले ६ हजार ५ सय मत पाए।

    विजयी पौडेलले रास्वपा सभापति रवि लामिछानेसँगै टेलिभिजनमा काम गरेका थिए। विगतमा यो निर्वाचन क्षेत्रमा ३ पटक एमालेका रवीन्द्र अधिकारी र २ पटक विद्या भट्टराईले जितेकी थिइन्।

    कास्की २ मा ८४ हजार १ सय ३४ मतदाता सङ्ख्या रहेकोमा ५२ हजार ५ सय १९ मत खसेको थियो । कूल सदर मत ५० हजार ६ सय ७५ रहेको थियो। बदर मत १ हजार ८ सय ४४ रहेको छ।

  18. रास्वपा सभापति लामिछाने फराकिलो अन्तरले विजयी

    चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने फराकिलो मतान्तरले विजयी भएका निर्वाचन आयोगले जनाएको छ।

    लामिछानेले ५४,४०२ मत ल्याएर विजयी भएका छन् ।

    उनीसँग प्रतिस्पर्धामा रहेकी नेपाली कांग्रेसकी मिना कुमारी खरेलले १४,५६४ मत प्राप्त गरेकी छिन्।

    रवि लामिछानेले २०७९को निर्वाचनमा ५४,१७६ मत ल्याएका थिए भने नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११,२१४ मत ल्याएका थिए।

    चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका अस्वीन घिमिरेले ६,९९३ मत प्राप्त गरेका छन्।

    नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरुङले ४,९६९ मत प्राप्त गरेका छन्।

  19. कास्की ३ मा रास्वपाकी बिना गुरुङ विजयी

    कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी बिना गुरुङ विजयी भएकी छन्। बिना गुरुङले ३७ हजार ७ सय ५० मत प्राप्त गरी विजयी भएकी हुन्।

    निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई फराकिलो मतान्तरले हराउँदै उनी निर्वाचित भएकी हुन्। नेपाली कांग्रेसका मनोज गुरुङले १२ हजार ७ सय ८० मत प्राप्त गरे।

    विसं २०७९ मा भएको अघिल्लो निर्वाचनमा निर्वाचित नेकपा एमालेका दामोदर पौडेल वैरागीले ७ हजार ९ सय ६ मत प्राप्त गर्दै तेस्रो भए।निर्वाचित गुरुङ रास्वपा गण्डकी प्रदेशकी कोषाध्यक्ष हुन्। यस क्षेत्रमा १६ दलका उम्मेदवार प्रतिस्पर्धामा थिए।

    कास्की ३ मा १ लाख ७ हजार ५ सय ६० मतदाता रहेकोमा ६५ हजार ४ सय ७ मत खसेको थियो। कूल सदर मत ६२ हजार ६ सय ४९ रहेको थियो।

  20. अहिलेसम्म हामीलाई के थाहा छ

    • बिहीवार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ २६ स्थानको हालसम्म आधिकारिक नतिजा घोषणा भइसकेको छ। प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा देखिएको छ
    • राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ हालसम्म २० स्थानमा जित र ९६ स्थानमा अग्रता लिएको छ।
    • नेपाली कांग्रेसले चार, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले एक-एक स्थानमा जित हासिल गरेका छन्।
    • प्रत्यक्षतर्फको गणना सकिएका स्थानमा समानुपातिक तर्फको पनि मतगणना सुरु भएर हालसम्म ४५ हजार मतगणना सकिएको छ।
    • समानुपातिकतर्फको प्रारम्भिक मतगणनामा रास्वपा पहिलो स्थानमा छ भने कांग्रेस दोस्रो, राप्रपा तेस्रो र एमाले चौथो स्थानमा छन्।