तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

नयाँ प्रतिनिधिसभामा रास्वपाको स्पष्ट बहुमतको सङ्केत

प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २१ गते भएको मतदानपछि देशका विभिन्न निर्वाचन क्षेत्रमा जारी मतगणनामा रास्वपा अरू पार्टीभन्दा निकै अगाडि देखिएको छ।

सारांश

  • प्रतिनिधिसभा निर्वाचनपछि विभिन्न क्षेत्रमा प्रत्यक्ष प्रणालीतर्फको मतगणना जारी छ, प्रारम्भिक परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीले अधिकांश स्थानमा अग्रता लिएको छ
  • अहिलेसम्म छ क्षेत्रको अन्तिम परिणाम घोषणा भएको छ
  • रास्वपाका उम्मेदवार काठमाण्डू १, ३ र ८ बाट विजयी भएका छन्। काठमाण्डूका अरू क्षेत्रमा पनि रास्वपाकै अग्रता कायम छ
  • रुकुमपूर्वबाट नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जितेका छन् भने मनाङबाट नेपाली कांग्रेसका योगेश गौचन थकाली र मुस्ताङबाट सोही पार्टीका टेकप्रसाद गुरुङ विजयी भएका छन्
  • हिजो देशैभरि प्रत्यक्ष र समानुपातिक प्रणालीका लागि एकै चरणमा मतदान भएको थियो
  • प्रत्यक्षतर्फ ३,४०० भन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन्
  • यो निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद निर्वाचित हुने छन्
  • प्रत्यक्षतर्फको मतगणना सकिएपछि समानुपातिकतर्फको मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ
  • गत भदौ महिनामा जेन जी आन्दोलन भएपछि प्रतिनिधिसभा विघटन भएको थियो। त्यसैले निर्धारित समयभन्दा अगाडि नै अहिले निर्वाचन भएको हो

लाइभ कभरेज

  1. सर्लाहीमा पनि मतगणना सुरु

    राष्ट्रिय रूपमा चासोको केन्द्रमा रहेकोमध्ये एक सर्लाही जिल्लामा पनि मतगणना सुरु भइसकेको छ।

    सर्लाही ४ मा नेपाली कांग्रेसका गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेश सिंहबीच प्रतिस्पर्धा छ।

    वीरगन्जस्थित संवाददाता माधुरी महतोका अनुसार सर्लाही ४ मा केही बेरअघि मतगणना सुरु भएको जानकारी मतदान अधिकृतहरूले दिएका छन्।

    मतगणनास्थलमा राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको उनले बताइन्।

  2. कर्णालीमा मतगणना सुरु

    कर्णालीका सुर्खेत,कालीकोट,दैलेख, रुकुम पश्चिम र जुम्लामा मतगणना सुरु भएको छ।

    जाजरकोट र सल्यानमा पनि तयारी थलिएको छ।

    मुगुमा भाेली मात्रै मतगणना गरिने छ। मुगुमकार्माराेङका मतपेटिका भाेली दिउँसाेसम्म सदरमुकाम गमगढी पुग्ने र साेरूका मतपेटिका लिएर टाेली हिँडेकाे जिल्ला प्रशासन कार्यालय, मुगुले जानकारी दिएकाे छ ।

    यस्तै डोल्पा र हुम्लाको मत पेटिकाहरू हेलिकप्टरबाट सदरमुकाममा ल्याउन थालिएको छ ।

    जुम्लाको विवरण -

    निर्वाचन आयोगका अनुसार जुम्ला जिल्लामा कनकासुन्दरी १ र २ मा १२४५ मत गणना हुँदा यस्तो देखिएको छ -

    • राप्रपाः ५४१
    • नेकपाः ४३५
    • नेपाली कांग्रेसः १५४
    • एमाले: ७२
    • नेमकिपा: ३
    • रास्वपा: ९
    • अन्य : ०
    • बदर मत: ३१
  3. मतगणना भएका अधिकांश स्थानमा रास्वपा अगाडि

    निर्वाचन आयोगले सार्वजनिक गरेको मतगणनासम्बन्धी प्रारम्भिक विवरणमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ मतगणना भइरहेका अधिकांश क्षेत्रमा अगाडि देखिएको छ।

    बिहान ९ः४० बजेसम्मको विवरण यस्तो छ -

    • रास्वपा: ४०
    • नेकपा एमालेः ५
    • नेपाली कांग्रेस: ४
    • नेकपाः १
  4. रास्वपाबारे कांग्रेस उपसभापति शर्माले के भने?

    आमचुनावको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले अधिकांश स्थानमा अग्रता कायम गरिरहँदा नेपाली कांग्रेसका एक उपसभापति विश्वप्रकाश शर्माले स्वागत गरेका छन्।

    “बुलेटबाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्‍याउँदै ब्यालेटबाट आउँदै गरेको रास्वपालाई स्वागत,” सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्।

    अहिले देखिएको परिणाम अप्रत्याशित नभएको शर्माको तर्क छ। “विसं २०७९ मै प्रस्तुत सङ्केतका दृष्टिले यो अप्रत्याशित होइन।”

    कांग्रेसको सहयोग र खबरदारी रहने उनले बताएका छन्। “चर्को आशा अर्को निराशामा बदलिनु हुन्न, देशको मुल प्रश्नमा साथ र खबरदारी दुवै रहने छl”

  5. जुम्लामा मतगणना सुरु

    जुम्लामा केहीबेरअघि मतगणना शुरू भएको छ।

    निर्वाचन अधिकृतको कार्यालयका अनुसार जुम्लाको एउटा नगरपालिका र सातवटा गाउँपालिका गरी आठवटा पालिकाको मतगणना सुरु भएको हो।

    साठी वटा वडा रहेकोजुम्लामा कनकासुन्दरी गाउँपालिकाको वडा नं १ बाट मतगणना थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकोछ।

  6. हेलिकोप्टरबाट मतपेटिका ओसारिँदै

    दुर्गम पहाडी र हिमाली जिल्लाहरूमा हेलिकोप्टरबाट मतपेटिका ओसार्न थालिएको छ।

    मनाङको दुर्गम गाउँपालिका नार्पाभूमिबाट मतपेटिकाहरू हेलिकोप्टरमा सदरमुकाम चामे ल्याइएको छ।

    अन्य जिल्लाहरूबाट पनि हेलिकोप्टरबाट मतपेटिका ल्याउने क्रम सुरु भएको बताइएको छ।

  7. भक्तपुरका दुवै क्षेत्रमा रास्वपा अगाडि

    जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार भक्तपुर निर्वाचन क्षेत्र नं. १ र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।

    क्षेत्र नम्बर १ मा रुकेश रञ्जितले ३,४५२ नेमकिपाका प्रेम सुवालले १,९८२ मत र नेपाली कांग्रेसका किरण न्यौपानेले ५१९ मत प्राप्त गरेका छन्।

    क्षेत्र नं. २ मा सोही पार्टीका राजीव खत्रीले २ हजार, नेकपा एमालेका महेश बस्नेतले १,२८१ र नेपाली कांग्रेसका कबिर राणाले १७४ मत प्राप्त गरेका छन्।

  8. झापा ५ र २ मा रास्वपा अगाडि

    झापा निर्वाचन क्षेत्र ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले सुरुआती अग्रता लिएका छन्।

    जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार २,३०३ मत गणना हुँदा शाहले १,४७८ मत पाएका छन्।

    नेकपा एमालेका केपी शर्मा ओलीले ३८५ मत प्राप्त गरेका छन्।

    झापाकै क्षेत्र नं २ मा रास्वपाकी उम्मेदवार इन्दिरा राना मगर अग्रस्थानमा रहेको राससले जनाएको छ।

    उनले १,५९९ मत प्राप्त गर्दा एमालेका देवराज घिमिरेले २७५ मत पाएका छन्।

  9. देउवाको ७ पटक जितेको डडेल्धुरामा मतगणनाको तयारी

    नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा मतगणनाको तयारी भइरहेको छ।

    त्यसका निम्ति सर्वदलीय बैठक गर्न लागिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    डडेल्धुरामा ९३,४०३ मतदाता रहेकोमा ४५,९०९ जनाले मतदान गरेका छन्, जसअनुसार यहाँ ४९ दशमलव २ प्रतिशत मत खसेको छ। डडेल्धुरामा तीनजना स्वतन्त्रसहित १३ जना उम्मेदवार छन्।

    नेपाली कांग्रेसका नैनसिंह महर, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मानसिंह माल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. ताराप्रसाद जोशीबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको हाम्रा संवाददाता प्रकाश पार्कीले जनाएका छन्।

    देउवाले डडेल्धुराबाट सात पटक चुनाव जितेका थिए।

  10. पर्सामा गणना थाल्न सर्वदलीय छलफल

    पर्सामा मतगणना थाल्न सर्वदलीय छलफल हुन लागेको वीरगन्जस्थित हाम्री संवाददाता माधुरी महतोले बताएकी छन्।

    निर्वाचन अधिकृतहरूका अनुसार मतगणना प्रक्रिया अघि बढाउन केहीबेरमा सर्वदलीय बैठक बस्न लागेको हो।

  11. रसुवामा नेपाली कांग्रेसको अग्रता

    रसुवामा मतगणना प्रारम्भ भएको छ। पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिएका छन्।

    निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार आचार्यले ६८९ मत प्राप्त गरेका छन्।

    राष्ट्रिय स्वतन्त्र पार्टीका वसन्त भट्टले ५३८ र नेकपा एमालेका प्रेम तामाङले २३५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

  12. नुवाकोटमा मतगणना शुरू हुन बाँकी

    नुवाकोटका दुवै निर्वाचन क्षेत्रमा मतगणना शुरू हुन बाँकी रहेको हाम्री संवाददाता शक्तिमाया तामाङले बताएकी छन्।

    मतगणना शुरू गर्न अहिले सर्वदलीय बैठक हुन लागेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

  13. कास्कीका तीनवटै क्षेत्रमा रास्वपाको अग्रता

    कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा अहिलेसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि देखिएको छ।

    कास्की क्षेत्र नं १ मा रास्वपाले १,९७८ मत ल्याएको छ भने एमालेले १,१३४ र कांग्रेसले ८३९मत पाएको छ।

    कास्की क्षेत्र नं मा रास्वपाले १,११७, एमालेले ७३३ र कांग्रेसले रुख ३२२ मत ल्याएको छ।

    कास्कीकै क्षेत्र नं ३ मा रास्वपाले २,०७४ मत पाएको छ भने कांग्रेसले ८९३ र एमालेले ५०६ मत प्राप्त गरेको हाम्रा संवाददाता कृष्णमणि बरालले जनाएका छन्।

  14. दाङ–१ मा रास्वपा अगाडि

    दाङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।

    उक्त पार्टीका उम्मेदवार देवराज पाठकले १,५१५ मत प्राप्त गरेका छन्।

    प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार नेपाली कांग्रेसका योगेन्द्र चौधरीले २९२ र नेकपा एमालेका रेवतीरमण घिमिरेले २२० मत प्राप्त गरेको राससले जनाएको छ।

  15. परिवर्तनको आकाङ्क्षाले जन्माएको मध्यावधि चुनावले बोकेको अर्थ

    बिहीवार काठमाण्डूमा मतदान गरिसकेपछि सङ्क्षिप्त प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले ठूलै भारी बिसाएको जस्तो अनुभव साटेकी छन्।

    छ महिनाअगाडि भयङ्कर अप्ठेरो अवस्थामा अन्तरिम सरकारको बागडोर सम्हालेकी प्रधानमन्त्री कार्कीले सन्तोषको सास फेर्दै भनिन्, "कर्तव्य पूरा गर्‍यौँ। म आज खुसी छु।"

    निर्वाचन गराउने मुख्य कार्यादेशसहित गठित उनको सरकारले त्यसको एउटा प्रमुख काम सम्पन्न गरेको छ।

    अब गठन हुने निर्वाचित सरकारलाई कार्यभार हस्तान्तरण गरेपश्चात् अन्तरिम सरकारको बिदाइ हुने छ। पूरा समाचार पढ्न यो लिङ्कमा क्लिक गर्नुहोस्

  16. कञ्चनपुर–२ मा कांग्रेसका साउदलाई पछि पार्दै रास्वपाका बोहरा अगाडि

    कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार बोहराले २,४२७ मत पाएका छन्।

    नेपाली कांग्रेसका नारायणप्रकाश (एनपी) साउदले ९३६ र नेकपा (एमाले) का वचनबहादुर सिंहले ६२५ मत प्राप्त गरेका छन्।

  17. काठमाडौँ–३ मा कुलमान घिसिङ र राजु पाण्डेबीच प्रतिस्पर्धा

    काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।

    उक्त पार्टीका उम्मेदवार राजुनाथ पाण्डेले दुई हजार ९६० मत प्राप्त गरी अग्रता लिएको निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिएको राससले उल्लेख गरेको छ।

    उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले दुई हजार ७०६ मतका साथ पाण्डेसँग प्रतिस्पर्धा गरिरहेका छन्।

    नेपाली कांग्रेसका रमेश अर्यालले एक हजार ११ मत पाएको बताइएको छ।

  18. तनहुँ क्षेत्र–१ मा रास्वपाका वाग्लेको अग्रता

    उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लिएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायलाई उद्धृत गर्दै राससले जनाएको छ।

    नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५९० र नेकपा (एमाले) की भगवती न्यौपानेले ४१६ मत प्राप्त गरेको बताइएको छ।

  19. चितवनमा मतगणनाको ताजा अवस्था के छ?

    चितवन-२ मा भइरहेको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्। उनलाई नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसले पछ्याइरहेका छन्।

    चितवन-३ र चितवन-१ मा पनि रास्वपाका उम्मेदवारले अग्रता लिइरहेका छन्। ती निर्वाचन क्षेत्रमा पनि नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसले पछ्याइरहेको हाम्रा संवाददाता ईश्वर जोशीले जनाएका छन्।

  20. प्रारम्भिक चरणमा रास्वपाको अग्रता

    आमचुनावअन्तर्गत देशभरि मतदान सकिएपछि बिहीवार रातिबाटै विभिन्न क्षेत्रमा मतगणना हुन थालेको निर्वाचन आयोगले जनाएको छ।

    अधिकारीहरूका अनुसार प्रारम्भिक गणनामा बिहान साढे ७ बजेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा अगाडि देखिएको छ।

    अहिलेसम्म मतगणनामा नेकपा एमाले दोस्रो स्थानमा देखिएको छ भने तेस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ।

    निर्वाचन आयोगले सोमवारसम्म सबै मतपरिणाम सार्वजनिक गर्ने लक्ष्य रहेको जनाएको छ।

    विवाद नहोओस् र मतपत्रसम्म दल एवं उम्मेदवारका प्रतिनिधि नपुगून् भनेर गणनास्थलमा तारजाली लगाइएको स्थानीय अधिकारीहरूले बताएका छन्।