तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

नयाँ प्रतिनिधिसभामा रास्वपाको स्पष्ट बहुमतको सङ्केत

प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २१ गते भएको मतदानपछि देशका विभिन्न निर्वाचन क्षेत्रमा जारी मतगणनामा रास्वपा अरू पार्टीभन्दा निकै अगाडि देखिएको छ।

सारांश

  • प्रतिनिधिसभा निर्वाचनपछि विभिन्न क्षेत्रमा प्रत्यक्ष प्रणालीतर्फको मतगणना जारी छ, प्रारम्भिक परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीले अधिकांश स्थानमा अग्रता लिएको छ
  • अहिलेसम्म छ क्षेत्रको अन्तिम परिणाम घोषणा भएको छ
  • रास्वपाका उम्मेदवार काठमाण्डू १, ३ र ८ बाट विजयी भएका छन्। काठमाण्डूका अरू क्षेत्रमा पनि रास्वपाकै अग्रता कायम छ
  • रुकुमपूर्वबाट नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जितेका छन् भने मनाङबाट नेपाली कांग्रेसका योगेश गौचन थकाली र मुस्ताङबाट सोही पार्टीका टेकप्रसाद गुरुङ विजयी भएका छन्
  • हिजो देशैभरि प्रत्यक्ष र समानुपातिक प्रणालीका लागि एकै चरणमा मतदान भएको थियो
  • प्रत्यक्षतर्फ ३,४०० भन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन्
  • यो निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद निर्वाचित हुने छन्
  • प्रत्यक्षतर्फको मतगणना सकिएपछि समानुपातिकतर्फको मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ
  • गत भदौ महिनामा जेन जी आन्दोलन भएपछि प्रतिनिधिसभा विघटन भएको थियो। त्यसैले निर्धारित समयभन्दा अगाडि नै अहिले निर्वाचन भएको हो

लाइभ कभरेज

  1. इलाममा सुहाङ नेम्वाङको सुरुआती अग्रता, सीता निरौला

    इलाम–२ मा नेकपा एमालेका सुहाङ नेम्वाङले सुरुआती अग्रता लिएका छन्। चुलाचुली–६ को मत गन्दा एमालेका नेम्वाङले अग्रता लिएका हुन्।

    सुहाङ नेम्बाङ, एमाले : ४९१

    सुदीप राई, श्रम संस्कृति पार्टी : ४४३

    भेषराज आचार्य, नेपाली कांग्रेस : २१०

    गोकुल राई, राष्ट्रिय स्वतन्त्र पार्टी : १७१

  2. भक्तपुरमा सबैभन्दा धेरै ७१% र अछाममा सबैभन्दा कम ३९% मतदान, अशोक दाहाल, बीबीसी न्यूज नेपाली

    निर्वाचन आयोगले सार्वजनिक गरेको परिष्कृत मतदानको तथ्याङ्कमा ५८.०७ प्रतिशत मात्रै मतदान भएको देखिएको छ।

    आयोगले १ करोड ८९ लाख मतदाता मध्ये १ करोड ९ लाख मात्रै मतदानमा सहभागी भएको विवरण सार्वजनिक गरेको छ।

    आयोगको तथ्याङ्कमा सबैभन्दा धेरै मतदान भक्तपुर जिल्लमा भएको छ।

    दुई वटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा ७१.४६ प्रतिशत मतदान भएको छ।

    त्यसपछि धेरै मतदान भएको जिल्ला पर्सा हो। चार वटा निर्वाचन क्षेत्र रहेको पर्सामा ६८.४३ प्रतिशत मतदान भएको छ।

    तेस्रो धेरै मतदान भएको जिल्ला ललितपुर हो। तीन वटा निर्वाचन क्षेत्र रहेको ललितपुरमा ६८.२२ प्रतिशत मतदान भएको छ।

    चौथो धेरै मतदान पश्चिम नवलपरासीमा भएको छ। दुई वटा निर्वाचन क्षेत्र रहेको बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ६७.८० प्रतिशत मतदान भएको छ।

    पाँचौँ धेरै मतदान १० वटा निर्वाचन क्षेत्र रहेको काठमाण्डूमा भएको छ। काठमाण्डूमा ६७.०१ प्रतिशत मतदान भएको छ।

    सबैभन्दा कम अछाममा ३९.१८ प्रतिशत मात्रै मतदान भएको छ।

    सुदूर पश्चिमकै डोटीमा पनि ४०.८८ प्रतिशत मतदान भएको छ।

    देशभरिको औसत मतदान प्रतिशत : ५८.०७

    सबैभन्दा धेरै मतदान भएका पाँच जिल्ला

    • भक्तपुर- ७१.४६%
    • पर्सा- ६८.४३%
    • ललितपुर- ६८.२२%
    • नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)- ६७.८०%
    • काठमाण्डू- ६७.०१%

    सबैभन्दा कम मतदान भएका दुई जिल्ला

    • अछाम- ३९.१८%
    • डोटी- ४०.८८%
  3. चितवनका तीनवटै क्षेत्रमा रास्वपा अगाडि

    चितवनका तीनवटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ। रास्वपाका सभापति रवि लामिछाने क्षेत्र नम्बर २ मा फराकिलो मतले अगाडि छन्।

    क्षेत्र नम्बर ३ मा रास्वपाकी सोबिता गौतमले अग्रता कायम गरेकी छन् भने क्षेत्र नम्बर १ रास्वपाकै हरि ढकाल अगाडि छन्।

    चितवन १

    • हरि ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टी: ३,५०३
    • दावा दोर्जे लामा, एमालेः २,१०९
    • राजेन्द्र प्रसाद बुर्लाकोटी, कांग्रेसः १,७५२

    चितवन २

    • रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी: १०,८२२
    • मीना खरेल, कांग्रेसः ३,२२७
    • अस्‍मिन घिमिरे, एमालेः २,८४६

    चितवन ३

    • सोविता गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीः ९,८७९
    • रेणु दाहाल, नेकपाः ५,२५६
    • शङ्करराज थपलिया, एमालेः १,४६५
    • टेकप्रसाद गुरुङ, कांग्रेसः १,०२२
  4. प्रारम्भिक मतगणनामा पूर्वमन्त्री बस्नेत तेस्रो, प्रकाश पन्त

    जाजरकोटमा हेभीवेट उम्मेदवारका रूपमा हेरिएका पूर्वमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता शक्तिबहादुर बस्नेत प्रारम्भिक मतगणनामा तेस्रो स्थानमा खुम्चिएका छन्।

    भर्खरै मतगणना सुरु भएको जाजरकोटमा शिवालय गाउँपालिका ८ को एउटा मतदानकेन्द्रमा खसेका २७७ मत गन्दा कांग्रेसका खड्कबहादुर बुढा अगाडि छन्।

    • खड्कबहादुर बुढा, कांग्रेस: १९८
    • शक्तिबहादुर बस्नेत, नेकपा: १७
    • डम्बरबहादुर सिंह, एमाले: ४७
    • राधवकुमार कार्की, राष्ट्रिय स्वतन्त्र पार्टी: २

    मतगणना कांग्रेस उम्मेदवार बुढाकै गृहपालिकाबाट सुरु भएकाले उनले ठूलो अग्रता कायम गरेको आकलन गरिएको छ।

  5. सर्लाही १ र ३ मा रास्वपाको अग्रता

    सर्लाही क्षेत्र नं १ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ।

    सर्लाही १ मा रास्वपाकी निमिता भण्डारी कार्की अगाडी छन्।

    • निमिता भण्डारी (रास्वपा): १,६६९
    • शम्भुलाल श्रेष्ठ (कांग्रेस): २४०
    • मनोज देवकोटा (एमाले): ३८५

    सर्लाही क्षेत्र नं ३ मा सास्वपाकै नरेन्द्र साह कलवार अगाडी छन्।

    • नरेन्द्र साह कलवार (रास्वपा): १,९३४
    • नारायणकाजी श्रेष्ठ (नेकपा): ३६६
    • हरिप्रसाद उप्रेती (एमाले): १६६
  6. जुम्लामा राप्रपाको अग्रता  कायमै

    जुम्लाकाे कनकासुन्दरी गाउँपालिकाको वडा नम्बर १ देखि ७ सम्मको ३,९६३ मतगणना गर्दा राप्रपाका ज्ञानबहादुर शाही ११३० मतान्तरसहित अगाडि छन्।

    • ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही (राप्रपा) : २,१०२
    • नरेश भण्डारी (नेकपा): ‍९७२
    • दीपबहादुर शाही (नेपाली काँग्रेस) ४९६
    • शान्तिलाल महत (एमाले): २१२
    • विनिता कठायत (रास्वपा) :२९
    • मनऋषि धिताल (प्रलाेपा) : ३
  7. मोरङ छवटा क्षेत्रमध्ये पाँच वटामा रास्वपाको अग्रता, विक्रम निरौला

    मोरङका छवटा निर्वाचन क्षेत्रमध्ये पाँचवटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन्। एउटा क्षेत्रमा चाहिँ श्रम संस्कृति पार्टीका उम्मेदवार अगाडि देखिएका छन्।

    निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नं १ मा रास्वपाका यज्ञमणि न्यौपाने ४,१२५ मत सहित अग्रस्थानमा छन्।

    क्षेत्र नं २ मा रास्वापाका कृष्णबहादुर कार्की १,१८१ मतसहित अगाडि छन्।

    मोरङ क्षेत्र नं ३ मा श्रम संस्कृति पार्टीका अनिल मगरले ५९० मतसहित अग्रता लिएका छन्।

    क्षेत्र नं ४ मा रास्वपाका सन्तोष राजवंशी १०,७७१ मतसहित फराकिलो मत अन्तरले अगाडि छन्।

    क्षेत्र नं ५ मा रास्वपाकी आशा झा ३,९८३ मतसहित अगाडि छन् भने क्षेत्र नं ६ मा रास्वपाकी रुबिना आचार्य ४,६७९ मतसहित अगाडि छन्।

  8. सर्लाही-४ मा गगनभन्दा अमरेश अगाडि

    सर्लाही क्षेत्र नं ४ को प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना कार्य जारी छ। भर्खरै प्राप्त 'बक्सा नम्बर ६' को विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरू बीच रोचक प्रतिस्पर्धा देखिएको छ।

    • अमरेशकुमार सिंह (राष्ट्रिय स्वतन्त्र पार्टी): १,२३९
    • गगन थापा ( नेपाली कांग्रेस ): ७६८
    • अमनिश कुमार यादव (नेकपा एमाले): १९९
    • रजनीस राय (नेकपा माओवादी केन्द्र): १८
  9. डडेल्धुरामा रास्वपाको सुरुवाती अग्रता

    डडेल्धुरमा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता कायम गरेको छ।

    हालसम्म गरिएको मतगणनाको परिणामअनुसार रास्वपाका ताराप्रसाद जोशीले १,१५२ मत पाएका छन्।

    नेपाली कम्युनिस्ट पार्टीका मानसिंह मालले ६५५ र नेपाली कांग्रेसका नैनसिंह महरले ६३९ मत हासिल गरेका छन्।

  10. तेह्रथुममा एमालेका भानुभक्त ढकाल निरन्तर अगाडि

    पूर्वी पहाडी जिल्ला तेह्रथुममा नेकपा एमाले र नेपाली काँग्रेसबीच कडा प्रतिस्पर्धा चलिरहेको छ। एक मात्र निर्वाचन क्षेत्र रहेको यो जिल्लामा पछिल्लो मत परिणाममा एमालेका भानुभक्त ढकाल झिनो मतान्तरले अघि छन्। यसअघि उनलाई कांग्रेसका सन्तोष सुब्बाले पछि पारेका थिए।

    • भानुभक्त ढकाल, एमालेः ४,२६३
    • सन्तोष सुब्बा, कांग्रेसः ३,९८७
    • सुरेन्द्र कार्की, रास्वपाः ३,६४६
  11. झापा-५ मा ओलीभन्दा बालेन ४ गुना मतले अगाडि

    झापा क्षेत्र न ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले चार गुना धेरै मतले अग्रता लिएका छन्। मतगणना सुरु भएदेखि नै बालेनले निरन्तर अग्रता कायम गरेका छन्।

    • बालेन : ५ ,२ ५४
    • केपी ओली : १,२४८
    • मन्धरा चिमरिया : १८५
    • रञ्जित तामाङ : १२९
  12. प्रारम्भिक मतगणनामा कर्णालीमा रास्वपाको कमजोर प्रदर्शन, प्रकाश पन्त, सुर्खेत

    देशका अरू क्षेत्रमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा ठूलो लहर देखिएको भए पनि कर्णाली प्रदेशमा भने उक्त पार्टीले प्रत्यक्षतर्फ उल्लेख्य मत पाएको देखिँदैन।

    मतगणना सुरु भएका कर्णालीका सबै क्षेत्रमा रास्वपाले कुनै पनि ठाउँमा अग्रता हासिल गरेको छैन।

    मतगणना चलिरहेका क्षेत्रमध्ये रास्वपाका उम्मेदवारहरू सुर्खेत १ र २ मा, दैलेख १ मा तेस्रो अनि रुकुम पश्चिममा चौथो तथा जुम्ला र कालीकोटमा पाँचौँ स्थानमा छन्।

    रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्मा र जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले सुरुवाती अग्रता लिएका छन्।

    मतगणना भइरहेका कर्णालीका अरू सबै ठाउँमा पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रतिस्पर्धा चलिरहेको छ।

    सुर्खेत १ मा नेपाली कांग्रेसका विष्णुबहादुर खड्का, सुर्खेत२ मा नेकपा एमालेका कुलमणि देवकोटा, दैलेख १ मा कांग्रेसकी वासना थापा, कालीकोटमा नेपाली कम्युनिस्ट पार्टीका महेन्द्रबहादुर शाहीले प्रारम्भिक अग्रता लिएका छन्।

    दैलेख २ मा र सल्यानमा भर्खरै मतगणना सुरु भएको ती जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन्। यस्तै जाजरकोटमा मतगणनाको तयारी भएको छ।

    हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीका अनुसार सबै मतपेटिकाहरू सङ्कलन भइसकेको हुनाले आजबाट गणना सुरु गर्ने तयारी भइरहेको छ।

    दिउँसो २ बजे सर्वदलीय बैठक राखिएको र त्यसपछि गणना सुरु गर्ने उनले बताए। माथिल्लो डोल्पाका २० वटा मतदानकेन्द्रका मतपेटिकाहरू ल्याउन बाँकी छ।

    हेलिकप्टरबाट मतपेटिका ल्याउने काम भइरहेको हुनाले डोल्पामा आज साँझबाट मात्र गणना सुरु हुने सञ्चारकर्मी रामचन्द्र न्यौपानेले बताए।

  13. ५२ स्थानमा रास्वपा अगाडि, १-१ स्थानमा रास्वपा र कांग्रेस विजयी

    निर्वाचन आयोगले प्रकाशित गरेको विवरणअनुसार दिउसो १:३० बजेसम्म दुईवटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम घोषणा भएको छ।

    ६९ स्थानबाट प्रारम्भिक मतपरिणाम आउने क्रम जारी छ।

    अहिलेसम्म रास्वपा र कांग्रेस एक-एक स्थानमा विजयी भएको घोषणा भएको छ। अधिकांश क्षेत्रमा रास्वपाले अग्रता कायम गरेको छ।

    कुन पार्टी कति स्थानमा अग्रता?

    • राष्ट्रिय स्वतन्त्र पार्टी: ५२
    • नेपाली कांग्रेसः ६
    • नेकपा एमालेः ४
    • नेकपाः ३
    • राप्रपाः १
    • श्रम संस्कृति पार्टीः १
  14. मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी

    प्रतिनिधिसभाका लागि हिजो भएको निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन्।

    उनले ३,३०७ मत पाएका छन्।

  15. बाँकेको प्रारम्भिक मतपरिणाम यस्तो

    बाँके १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले फराकिलो अग्रता कायम गरेको छ।

    • सुरेश कुमार चौधरी, रास्वपाः ६,८९९
    • नारायणप्रसाद गौडेल, नेपाली कांग्रेस: २,४९६
    • सूर्य ढकाल, नेकपा एमाले: १,६९७

    बाँके २ मा एमालेका उम्मेदवार अगाडि छन्।

    • मोहमद इस्तियाक राई, नेकपा एमाले: ५,२४४
    • सुधांशु कोइराला, नेपाली कांग्रेस: ४,१००
    • विवेककुमार श्रेष्ठ, रास्वपा: २,५८०

    बाँके ३ मा रास्वपा नै अगाडि छ।

    • खगेन्द्र सुनार, रास्वपा: ५,२९५
    • सुमन मल्ल, नेकपा एमाले: २,३०९
    • अमरसिंह पुन, नेपाली कांग्रेसः १,७१४

    स्रोतः निर्वाचन अधिकृतको कार्यालय

  16. रुकुम पश्चिममा जनार्दन शर्माको अग्रता

    रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले प्रारम्भिक अग्रता लिएका छन्।

    नेकपा माओवादी केन्द्रले अरू दलसँग एकता गरेपछि असन्तुष्ट भएर नयाँ दल खोलेका शर्माले आठबीसकोट नगरपालिका वडा नम्बर १ र २ को मत गणना गर्दा ४१२ मत ल्याएका छन्।

    उनलाई नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्माले २८७ मतका साथ पच्छ्याइरहेका छन्।

    नेपाली कांग्रेसका राजु केसीले ८८ र राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाहीले ४२ मत हासिल गरेका छन्। ती वडाहरूमा खसेका ९०२ मतगणना भएको छ।

  17. ४९ स्थानमा रास्वपा अगाडि, १ स्थानमा विजयी

    निर्वाचन आयोगले प्रकाशित गरेको विवरणअनुसार अहिलेसम्म एउटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम घोषणा भएको छ भने ६४ स्थानबाट प्रारम्भिक मतपरिणाम आउने क्रम जारी छ।

    अहिलेसम्म रास्वपा एक स्थानमा विजयी भएको घोषणा भएको छ भने अधिकांश क्षेत्रमा सो दलले अग्रता कायम गरेको छ।

    कुन पार्टी कति स्थानमा अग्रता?

    • राष्ट्रिय स्वतन्त्र पार्टी: ४९
    • नेपाली कांग्रेसः ७
    • नेकपा एमालेः ४
    • नेकपाः २
    • राप्रपाः १
    • श्रम संस्कृति पार्टीः १
  18. रुकुम पूर्वमा पुष्पकमल दाहाल फराकिलो मतान्तरले अगाडि

    मतगणना चलिरहेको रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले फराकिलो मतान्तरले अग्रता लिइरहेका सुर्खेतस्थित हाम्रा संवाददता प्रकाश पन्तले जनाएका छन्।

    भुमे गाउँपालिकाका नौवटै वडा र सिस्ने गाउँपालिकाका १ र २ वडाको मत गनेर सकिँदा उनलाई पछ्याइरहेकी कांग्रेसकी कुसुमकुमारी थापा भन्दा ३,१३७ मतले अगाडि रहेका छन्।

    कुल ७,३८३ गणना हुँदा दाहालले ४,३ ९८ मत ल्याएका छन् भने उनलाई पछ्याइरहेकी नेपाली कांग्रेसकी कुसुमदेवी थापाले १,२६१ मत प्राप्त गरेकी छन्।

    यस्तै एमालेका लीलामणि गौतमले ९०७, राष्ट्रिय स्वतन्त्र पार्टीका लखन थापाले ३५४ र प्रगतिशील लोकतान्त्रिक पार्टीका सन्दीप पुन ९४ मत ल्याएका छन्।

    त्यहाँ ३४,५०० मतदाता भएकोमा १९,१८८ मत खसेको थियो।

    आज बिहान पौने ६ बाट मतगणना सुरु भएको रुकुम पूर्वमा अब पुथा उत्तरगङ्गा १४ वटा र सिस्ने ६ वडाको मतगणना गर्न बाँकी रहेको मतगणनास्थलमा रहेकी सञ्चारकर्मी सिर्जना कार्कीले बताइन्।

    यस्तै रुकुम पश्चिममा पनि मतगणना सुरु भएको छ। आठबीसकोट नगरपालिकाबाट मत गन्न थालिएको हो।

  19. रास्वपाको उम्मेदवारी खारेज भएको धनुषा १ मा अझै सुरु भएन मतगणना

    रास्वपाका उम्मेदवारको उम्मेदवारी खारेज भएको धनुषा क्षेत्र नं १ मा अझै मतगणना सुरु हुन सकेको छैन।

    कालोसूचीमा रहेको उजुरीका आधारमा किशोरी साह कमलको उम्मेदवारी खारेज भए पनि मतपत्रमा उनको निर्वाचन चिह्न कायम थियो।

    “त्यो चिह्नमा परेका मतको हकमा के गर्ने, गणना हुने कि नहुने भनी स्पष्ट कानुनी व्यवस्था छैन। त्यो भएर गणना सुरु नगरेका हौँ,” निर्वाचन अधिकृत मनोज बरारलले बीबीसी न्यूज नेपालीसँग भने।

    निर्वाचन आयोगलाई सो विषयमा पत्र लेखिसकिएको र निर्णयको प्रतीक्षामा भएको बताए।

    “उहाँहरूले आवश्यक निर्देशन दिनासाथ हामी मतगणना सुरु गर्छौँ। सबै तयारी भइसकेको छ,” बरालले भने।

  20. काठमाण्डू १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शना विजयी

    राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु न्यौपाने (रञ्जु दर्शना) काठमाण्डू १ बाट प्रतिनिधिसभामा निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।

    त्यहाँ उनले नेपाली कांग्रेसका प्रबल थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रसहितका उम्मेदवारहरूलाई फराकिलो मतान्तरले पराजित गरेकी हुन्।

    उनले १५,४५५ मत प्राप्त गरेकी हुन्। उनका निकट प्रतिद्वन्द्वी थापाले ६,३६४ मत प्राप्त गरे।

    पहिलो पटक उनी २०७२ सालमा भएको स्थानीय निर्वाचनमा काठमाण्डू महानगरमा प्रमुख पदमा उम्मेदवार बन्दा सम्मानजनक मत ल्याई तेस्रो भएकी थिइन्।

    काठमाण्डू जिल्लाका अरू नौ निर्वाचन क्षेत्रमा पनि रास्वपा अगाडि छ।