नेपाल निर्वाचनः प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा '६१ प्रतिशत मतदान'

निर्वाचन आयोगले ७० प्रतिशतसम्म मत खस्ने अपेक्षा गरेको बताए पनि ६१ प्रतिशत मात्र मतदान भएको जनाएको छ।

लाइभ कभरेज

  1. चुनावको खर्चः उम्मेदवारको खर्च बाहेक २० अर्ब रुपियाँको चुनाव

    नेपाल रकम

    प्रतिनिधिसभा र प्रदेश सभा चुनाव सम्पन्न गर्नका लागि २० अर्ब भन्दा बढी रुपियाँ निर्वाचन आयोग र सुरक्षा निकायका लागि सुनिश्चित गरिएको अर्थ मन्त्रालयको विवरणमा उल्लेख छ।

    निर्वाचन आयोगलाई १० अर्ब रुपियाँ खर्चको सीमा तोकिएको छ।

    गृह मन्त्रालय र मातहतका कार्यालय र नेपाल प्रहरी एवं सशस्त्र प्रहरी बल समेतका लागि ९ अर्ब १ करोड रुपियाँ छुट्टाइएको छ।

    नेपाली सेनालाई ९७ करोड ७३ लाख र राष्ट्रिय अनुसन्धान विभागलाई ५ करोड ७३ लाख स्रोत सुनिश्चित गरिएको छ।

    कति खर्च भयो भन्ने कुरा निर्वाचन आयोगले चुनावी कार्यक्रम सम्पन्न भएपछि सार्वजनिक गर्ने गरेको छ।

    निर्वाचन आयोगले उम्मेदवारको निर्वाचन खर्चको अधिकतम हद तोकेको छ।

    त्यसमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र अनुसार २५ देखि ३३ लाख रुपियाँ र समानुपातिकमा २ लाख रुपियाँ प्रति उम्मेदवारको सीमा तोकिएको छ।

    प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारहरूले १५ देखि २३ लाख रुपियाँसम्म र समानुपातिकतर्फ १ लाख ५० हजार रुपियाँ प्रति उम्मेदवार खर्च गर्न मिल्ने व्यवस्था छ।

    चुनावी प्रचारका लागि तोकिएको खर्च हदको तुलनामा कैयौँ गुणा बढी खर्च हुने गरेको भनि बेलाबेला चिन्ता व्यक्त हुने गरेको छ।

  2. मतदानमा थपियो चिन्ता, एउटा मतपत्र अर्कै मतपेटिकामा

    गृहमन्त्रालय नेपाल

    तस्बिर स्रोत, MOHA/FACEBOOK

    केही स्थानमा छिटपुट घटना भएपनि देशका अधिकांश स्थानमा सामान्य ढङ्गले मतदान सुचारु भइरहेको अधिकारीहरूले बताएका छन्।

    चार वटा मतपेटिकामा भोट खसाल्नुपर्ने भए पनि कतिपय ठाउँमा गलत मतपेटिकामा भोट खसालिएकोले केही समस्या देखिएको गृह मन्त्रालयले जनाएको छ।

    गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणी पोखरेलले बीबीसीसँग भने, ‘केही ठाउँमा मतदाता शिक्षाको अभावमा यस्तो भएको देखिएको छ। यसबारे निर्वाचन आयोगले केही निर्णय गर्दैछ।’

    उनका अनुसार मतदान स्थलमा अकस्मात् मानिस प्रवेश गर्न खोजेपछि सिराहामा सुरक्षाकर्मीले गोली चलाएका छन्।

    चितवनमा पनि गोली चलेको गृह मन्त्रालयले जनाएको छ।

  3. आज रातिबाटै मतगणना गरिने प्रमुख निर्वाचन आयुक्तको भनाइ

    निर्वाचन

    तस्बिर स्रोत, ECN

    प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राजधानी सहित यातायातको सहज पहुँच भएका कतिपय सुगम ठाउँहरूमा मत बाकसहरू एक ठाउँमा ल्याएर आज राति आठ बजेबाट मतगणना थालिने बताएका छन्।

    प्रतिनिधिसभा र प्रदेशसभाका लागि भोट खसालेपछि उनले भने, “काठमाण्डूको हकमा र अलिकति नजिक भएकाको हकमा आज बेलुकाको ८ बजेभित्र झन्डै झन्डै २० प्रतिशत स्थानीय तहको मतगणना प्रारम्भ भयो भन्ने गरी अनुभूति दिने हाम्रो तयारी छ।”

  4. निर्वाचनपछि गठबन्धनकै सरकार: दाहाल

    पुष्पकमल दाहाल

    तस्बिर स्रोत, RSS

    नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनपछि गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन्।

    चितवनको भरतपुर महानगरपालिका- १४ स्थित नेपाल प्रहरी स्कूल शान्तिपुर मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले उक्त कुरा बताएको सरकारी समाचार संस्था राससले जनाएको छ।

    “मलाई विश्वास छ- गठबन्धनले सजिलै बहुमत ल्याउँछ। गठबन्धनकै सरकार बन्छ,”उनले भने।

    निर्वाचनपछि बन्ने सरकारको नेतृत्वको विषयलाई लिएर वर्तमान गठबन्धन नटुट्ने दाहालले बताए।

    उनले भने, “गठबन्धनभित्र प्रधानमन्त्रीको टुङ्गो त लगाएका छैनौँ। गठबन्धनमा सल्लाह गरेर टुङ्गो लगाउँछौँ। प्रधानमन्त्री पदका कारण वर्तमान गठबन्धन टुट्दैन।”

  5. प्रधानमन्त्री देउवाद्वारा मतदान

    प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो गृह जिल्ला डडेलधुरामा मतदान गरेका छन्।

    उनले आफूले मतदान गरेको जानकारी सामाजिक सञ्जाल ट्विटरमार्फत दिएका हुन्।

    उनले अरूलाई पनि भोट खसाल्न अुनरोध गरेका छन्।

    यो X पोस्ट छोड्नुहोस्
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त

  6. मतदान केन्द्रमा के गर्न पाइन्छ के पाइँदैन?

    नयाँ संविधान जारी भएपछिको दोस्रो आम निर्वाचन अन्तर्गत आइतवार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि देशैभरि मतदान जारी छ।

    बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ।

    मतदान केन्द्रमा क्यामेरा, मोबाइल, सलाई र लाइटर जस्ता वस्तुलाई निषेधित गरिएको निर्वाचन आयोगले बताएको छ।

    आयोगले जनाए अनुसार कसैले फोटो खिच्ने क्यामरा वा मोबाइल आफ्नो साथमा लगी मत सङ्केत गर्ने स्थान मतदान कक्षमा गएमा तत्काल त्यस्तो क्यामरा वा मोबाइल जफत गरिनेछ।

    मतदान केन्द्र
  7. भोट हाल्दा ध्यान दिनुपर्ने कुरा के-के हुन्?

    आइतवार बिहान ७ बजेबाट सुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा भाग लिन योग्य मतदाताको सङ्ख्या एक करोड ७९ लाख ८८ हजार ५७० छ।

    तपाईँ पनि भोट हाल्नजाँदै हुनुहुन्छ भने तपाईँले थाहा पाइराख्नुपर्ने कुराहरू हामीले यहाँ समेटेका छौँ।

  8. नेपाल निर्वाचनः मतदान विहान सात बजेबाट जारी

    निर्वाचनसँग सम्बन्धित ताजा विवरणहरू हामी प्रस्तुत गर्दै जानेछौँ।

    नयाँ संविधान जारी भएपछिको दोस्रो सङ्घीय र प्रादेशिक चुनाव अन्तर्गत देशैभरिआइतवार मतदान भइरहेको छ।

    बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचनआयोगले जनाएको छ।

    प्रतिनिधिसभा र सातवटै प्रदेशका प्रदेशसभा सदस्य लागि ५,६०० भन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन्।

    देशभरि २२ हजार २ सय भन्दा बढी मतदान केन्द्र कायम गरिएको छ।

    देशभरि कुल मतदाताको सङ्ख्या १,७९,८८,५७० रहेको छ।

    यो निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभाका प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूलाई भोट हाल्न छुट्टाछुट्टै चारवटा मतपत्रको व्यवस्था गरिएकोछ।

    मतदान सकिएपछि आइतवार साँझबाटै मतगणना सुरु हुने निर्वाचन आयोगलेजनाएको छ।

    यो चुनावबाट प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधिसभामा १६५ र सातवटाप्रदेशसभामा ३३० जना उम्मेदवारहरू निर्वाचित हुने छन्।

    यहीँ निर्वाचनमा दलहरूले पाएको समानुपातिक भोटका आधारमा प्रतिनिधिसभामा११० जना र प्रदेशसभामा २२० जना निर्वाचित हुनेछन्।

    मतदान केन्द्र
    तस्बिरको क्याप्शन, मतदान केन्द्र