चक्रवात दाना भारतको तटीय क्षेत्रमा बज्रिन थाल्यो, लाखौँ मानिसलाई सुरक्षित स्थानमा सारियो

तस्बिर स्रोत, PIYAL ADHIKARY/EPA-EFE/REX/Shutterstock
बङ्गालको खाडीमा विकसित चक्रवात दाना ओडिशाको तटीय क्षेत्रमा बज्रिन थालेको छ। भारतको मौसम विज्ञान विभाग (आईएमडी)का अधिकारीहरूले यो प्रक्रिया शुक्रवार बिहान जारी रहने बताएका छन्।
आईएमडीका एक वरिष्ठ अधिकारीका अनुसार उक्त समुद्री आँधी विगत छ घण्टा १५ किलोमिटर प्रतिघण्टाको गतिमा अघि बढेको र केन्द्रपाडा जिल्लाको भीतकर्णिका र भद्रक जिल्लाको धमराको बीचमा पुगेको जनाए। त्यो बेला वायुको गति झन्डै ११० किलोमिटर प्रतिघण्टा रहेको जनाइएको छ।
‘सिभिअर साइक्लोनिक स्टोर्म’ को वर्गमा राखिएको यो चक्रवात जमिनमा प्रवेश गर्ने प्रक्रिया दुई घण्टाजति चल्ने र त्यसपछि यो पश्चिम र पश्चिमोत्तर हुँदै उत्तर ओडिशातर्फ अघि बढ्ने अनुमान गरिएको छ।
अपराह्णतिर शक्ति क्षीण भई यो समुद्री आँधी साइक्लोनिक स्टोर्म’को वर्गमा घटुवा हुने भारतको मौसम विज्ञान विभागले जनाएको छ। भद्रकमा कतिपय ठाउँमा रूख ढलेका छन् भने सडक बन्द छ। त्यहाँ ‘रेड अलर्ट’ जारी गरिएको छ।
दाना चक्रवातको असर कस्तो देखिएको छ?
१. हावाहुरी र वर्षा

तस्बिर स्रोत, ANI
चक्रवात दानाका कारण पश्चिम बङ्गालको तटीय क्षेत्रमा तीव्र गतिमा हावाहुरी चलिरहेको छ।
दानाकै कारण ओडिशा र पश्चिम बङ्गालको तटीय क्षेत्रमा मध्यमदेखि भारी वर्षा पनि भइरहेको छ।
२. ओडिशामा सुरक्षाको बन्दोबस्त

तस्बिर स्रोत, Getty Images
दानाले भीषण रूप लिन सक्ने आशङ्कामा दुवै राज्यमा सरकारी संयन्त्रहरू उच्च सतर्कताको अवस्थामा छन्।
ओडिशाका मुख्यमन्त्री मोहन माझीले बिहीवार आफ्नो सरकार कुनै पनि परिस्थिति सामना गर्न तयार रहेको बताएका थिए। साथै उनले बाढीबाट निम्निन सक्ने प्रभाव कम गर्न पर्याप्त उपाय अपनाइएको जनाएका थिए।
ओडिशाको कुल जनसङ्ख्यामध्ये आधा यो समुद्री आँधीबाट प्रभावित हुन सक्ने ठानिएको छ।
३. ओडिशामा ६ लाख जनालाई सुरक्षित स्थानमा सारियो
ओडिशा सरकारले दाना प्रभावित क्षेत्रबाट सारिएका मानिसलाई राख्न ७,२०० वटा आश्रयस्थल निर्माण गरेको छ।
मुख्यमन्त्री माझीले प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहले यो चक्रवातसँग जुझ्न भएका तयारीबारे आफूसँग जानकारी दिए।
उनका अनुसार झन्डै ५.८४ लाख मानिसलाई सुरक्षित स्थानमा पुर्याइएको र शुक्रवार बिहानसम्म यो सङ्ख्या ६ लाखभन्दा बढी पुग्न सक्छ।

तस्बिर स्रोत, Getty Images
४. हवाई र रेल यात्रा प्रभावित
कोलकातामा सुभाषचन्द्र बोस विमानस्थलमा सेवाहरू स्थगन भएका छन्। चक्रवात जमिनमा प्रवेश गर्ने चरणमा सहरमा वर्षा भएको छ भने हावाहुरी चलेको छ।
भुवनेश्वरस्थित बीजू पटनायक विमानस्थलमा पनि उडानहरू बन्द भएका छन्। त्यहाँको अम्बेडकर बस स्टेशनमा सवारीसाधनहरूलाई पनि रोकेर राखिएको छ।
भारतीय रेल सेवाले त्यस क्षेत्रमा चल्ने १५० रेल रद्द गरेको छ। दुवै राज्यका ठूला स्टेशनहरूमा यात्रीहरूको भिड छ।

५. पश्चिम बङ्गालमा उच्च सतर्कता

तस्बिर स्रोत, ANI
पश्चिम बङ्गाल पनि उच्च सतर्कता छ। राज्यका कैयौँ तटीय जिल्लाबाट हजारौँ मानिसलाई सुरक्षित स्थानमा लगिएको छ।
मुख्यमन्त्री ममता बनर्जीले चक्रवात दानाको सम्भावित प्रभाव निगरानी गर्ने जिम्मेवारी सचिवस्तरका अधिकारीहरूलाई सुम्पिएकी छन्।
विभिन्न स्थानमा 'कन्ट्रोल रुम' खोलिएको छ।
६. शिविरमा मानिसहरू

तस्बिर स्रोत, Indian Navy/ANI
पश्चिम बङ्गालमा झन्डै १,००० वटा राहत शिविर स्थापना भएका छन्। विभिन्न विद्यालय र सरकारी भवनहरूमा मानिसहरूलाई राख्ने व्यवस्था गरिएको छ। पश्चिम बङ्गाल सरकारले केन्द्र र राज्यका गरी विपद् प्रतिकार्य बलका २२ वटा टोलीलाई तम्तयार अवस्थामा राखेको छ।
ठूलो सङ्ख्यामा प्रहरीहरू पनि परिचालित छन्।
७. शैक्षिक संस्थाहरू बन्द

तस्बिर स्रोत, NDRF
ओडिशा र पश्चिम बङ्गालमा चक्रवातबाट प्रभाव पर्न सक्ने स्थानमा शनिबारसम्म विद्यालय र कलेजहरू बन्द गर्ने आदेश दिइएको छ।
८. नेपालको कोशी प्रदेशमा ‘आंशिक प्रभाव’
नेपालको जल तथा मौसम विज्ञान विभागले चक्रवात दानाको आंशिक प्रभाव कोशी प्रदेशमा रहेको जनाएको छ। काठमाण्डू उपत्यकामा पनि बिहानैदेखि बादल लागेको छ।
विभागले शुक्रवार कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान सार्वजनिक गरेको छ।
साथै कोशी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन वा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको पनि उल्लेख गरेको छ।
दाना नाम कसरी राखियो?

तस्बिर स्रोत, ANI
‘दाना’ शब्द अरबी भाषाबाट आएको हो। त्यसको अर्थ ‘उदारता’ भन्ने हुन्छ। यो चक्रवातको नाम कतारले छानेको हो।
चक्रवात दाना दुई महिनाको अवधिमा भारतीय तटीय क्षेत्रमा प्रवेश गर्ने दोस्रो समुद्री आँधी हो। यसअघि अगस्टको अन्तिममा चक्रवात असना समुद्रबाट जमिनमा प्रवेश गरेको थियो।
विश्व मौसमविज्ञान सङ्गठन (डब्ल्यूएमओ )ले पहिले नै तय गरेका नामहरूका सूचीबाट चक्रवातको नाम राखिन्छ। उक्त सूची प्रत्येक छ वर्षमा फेर्ने प्रचलन छ।
सन् २००० मा डब्ल्यूएमओ एशिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोगअन्तर्गत समुद्री आँधीहरूको नामकरण गर्न थालिएको थियो।
सुरुमा सो समूहमा बाङ्ग्लादेश, भारत, माल्दिभ्स,ओमान, पाकिस्तान, श्रीलङ्का र थाईल्यान्ड थिए। सन् २०१८ मा इरान, कतार, साउदी अरब, यूएई र यमन थपिए।
चक्रवातको नाम क्षेत्रीय शब्द या नामको आधारबाट गर्दा आँधीबाटप्रभावित देशहरूबीच जागरुकता र सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्न सहयोग मिल्ने ठानिन्छ। त्यसले सञ्चार र चेतावनी प्रणालीलाई पनि सुदृढ बनाउन सघाउने अपेक्षा गरिन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















