अयोध्यामा आखिर भाजपा कसरी पराजित भयो

अयोध्या
    • Author, दिलनवाज पाशा
    • Role, बीबीसी, अयोध्या
  • Published

गेरुवामय र राममय भएको अयोध्यामा फराकिला सडकहरूले तपाईँलाई स्वागत गर्छन्।

गेरुवा रङ्गले रङ्गिएका घरका भित्ताहरूमा रामायणका दृश्य एवं कैयौँ ठाउँमा भइरहेका विकासका दृश्य देख्न सकिन्छ।

अयोध्या प्रवेश गर्नासाथ मनमा प्रश्न आउँछ- राम मन्दिर आफूहरूले बनाएको बताउने भारतीय जनता पार्टी भाजपा कसरी चुनावमा पराजित भयो?

तर स्थानीय बासिन्दासँग कुरा गरेपछि यो प्रश्नको जबाफ भेटिन्छ।

'बेवास्ता गर्नुको नतिजा'

लता मङ्गेश्कर चोकमा वीणाको विशालकाय प्रतिमा छ। चारैतिर बत्ती छ।

ट्राफिक प्रहरीले सवारीसाधनको जाँच गरिरहेका छन्। छेउमा रहेको पार्कमा श्रद्धालु महिलाहरूले लुगा सुकाइरहेका छन्।

नजिकका जिल्लाबाट आउने भक्तजनले आर्थिक अभावका कारण बस्नका लागि होटलको कोठा लिन सक्दैनन्। भगवान्‌ रामको दर्शन गरिसकेकाले ती खुशी छन्।

वीणा

चोकदेखि फैजाबादतर्फ जाने नवनिर्मित सडक पनि सजिसजाउ छ। छेउमा रहेको एउटा चिया पसलमा बसेका ऋतिक सिंह अयोध्यामा भाजपाको हारबाट निराश छन्।

“अयोध्यामा भाजपाको हारको खबर सुनेर मर्नै मन लाग्यो। तर के गर्नु एक्लो छोरा छ,” ऋतिकले भने।

ऋतिकको छेउमा बसेका सत्यम्‌ त्रिपाठी उनको कुरा पूरा हुन नपाउँदै बीचमै बोलेः “कुन कुराको दुःख नि? मलाई त एकदश खुशी लाग्यो। अयोध्यावासीलाई वास्ता नगर्नुको परिणाम हो।”

“मानिसहरूको उठिबास भयो, पसलहरू तोडियो तर न मुआब्जा दिइयो न त उनीहरूलाई पुनःस्थापित नै गरियो।”

'आश्चर्यजनक पराजय'

सत्यम्‌ले अगाडि भनेः “भाजपाका नेताहरूलाई घमण्ड भइसकेको थियो कि उनीहरूले जे गर्दा पनि जनता चुप लागेर बस्नेछन्।”

समाजवादी पार्टीका अवधेश प्रसादसँग भाजपाका लल्लू सिंह करिब ४० हजार मतले पराजित भए। लल्लू सन् २०१४ देखि लगातार जित्दै आएका थिए।

त्यहाँ लोकसभाका पाँचवटै सीटमा भाजपाको पराजयको कारण स्थानीय बासिन्दासँग कुरा गर्दा थाहा हुन्छ।

अधिकांश मानिसका अनुसार चुनावअघि नै लल्लू सिंहले आफूलाई विजेता मानिसकेका थिए। धेरै आत्मविश्वास भएर उनी भोट माग्न बाहिर निस्केनन्।

भाजपाले ४०० भन्दा बढी सीट ल्याएमा संविधानमा परिवर्तन गर्न सक्ने उसका नेताहरूको बयानबाजीबाट पिछडिएका र दलित समुदाय सशङ्कित भए।

उनीहरूलाई लाग्यो संविधान खतरामा छन। त्यसका साथै स्थानीयस्तरमा एउटा ठूलो तप्काले आफूहरूका मुद्दालाई भाजपाले बेवास्ता गरेको महसुस गर्‍यो।

तर भाजपाको पराजयलाई कतिपयले आश्चर्यको रूपमा लिएका छन्। त्यस्तैमध्ये एक सन्दीप यादव पनि हुन्।

अयोध्या

लता मङ्गेश्कर चोकमा श्रद्धालुहरूको तस्वीर खिच्ने सन्दीप भन्छन्, “पूरै माहोल गेरुवामय थियो। भाजपाकै चर्चा थियो। तर कसरी चुनावमा हार्‍यो त्यो मैले बुझ्न सकेको छैन।”

अहिले अयोध्यामा व्यापक विकास भएको र त्यसैका कारण आफूले राम्रो आम्दानी गर्न सकिरहेको उनले दाबी पनि गरे।

हुन त सरकारका काम देखिन्छ। तर यहाँका विस्थापितहरू भाजपासँग रुष्ट छन्।

एकजना हिन्दूवादी महन्त भन्छन्, “सञ्चारमाध्यमले स्थानीय जनताका मुद्दालाई उठाएका भए शायद त्यसबारे चर्चा हुन्थ्यो र गम्भीरताका साथ लिइन्थ्यो होला।”

तर टेलिभिजनमा त मात्र यो देखाइयो कि भाजपाले भगवान्‌ रामलाई ल्यायो। यहाँका जनताको मुद्दाबारे चर्चा नै हुन सकेन।

सरकारको मनोमानी

मन्दिर निर्माणबाट सबै मानिसहरू खुशी भएका स्मरण गर्दै भाजपाका एक समर्थक एमके मिश्रा पछि उक्त दलले मनोमानी गर्न थालेको बताउँछन्।

“विस्तारको काम शुरू हुँदा पनि आमजनता खुशी भएका थिए। तर बिस्तारै सरकारले मनपरी गर्न थाल्यो। कसैको कुरा सुनिएन। मान्छेका पसल हटाइए, मुआब्जा दिइन,” उनले भने।

भाजपाको पराजयलाई हिन्दुत्वको राजनीतिको पराजयको रूपमा पनि व्याख्या गरिँदै छ।

तर हनुमानगढी मन्दिरसँग आबद्ध हिन्दुत्ववादी सन्त वरुण महाराज भन्छन्, “यो हिन्दुत्वको राजनीतिको पराजय होइन। चुनावमा स्थानीय मुद्दा पनि हुन्छ।”

हाम्रा सांसदका केही बयानबाजीका कारण दलित र पिछडा वर्गका मानिस अलग्गिए। अयोध्यावासी भीआईपी संस्कृति र बेलगाम अधिकारीहरूबाट पीडित थिए। त्यसैको आक्रोश व्यक्त भएको हो।

हनुमानगढी मन्दिरसँग आबद्ध देवेशाचार्यलाई भाजपाको पराजयबाट तनाव छैनन्।

“हाम्रा सांसदले न जनताका कुरा सुने न भोट माग्न निस्के। हिन्दुत्व र मोदीको नाममा कहिलेसम्म जित्न सकिन्छ?,” उनले भने।

अयोध्या

विगत दुई दशकदेखि फैजाबादमा पत्रकारिता गरिरहेका वरिष्ठ पत्रकार अफजल खान पनि त्यसमा सहमत देखिन्छन्।

“बाहिरका मानिसहरूलाई राम मन्दिरकै कारण भाजपा जित्ला भन्ने लागिरहेको थियो होला। तर चुनावमा स्थानीय मुद्दा हावी थियो,” उनले भने।

अयोध्यासँग जोडिएको पासी बहुल एउटा गाउँका युवक चुनाव नतिजाबाट निकै खुशी देखिए। पासी अनुसूचित जातिमा पर्छ।

नाम उल्लेख नगर्ने शर्तमा ती युवकले भनेः “यो हाम्रो सम्मान गर्ने चुनाव थियो। अखिलेश यादवले हाम्रो जातिका अवधेश प्रसादलाई टिकट दिए। उहाँको जितसँग हाम्रो सम्मान जोडिएको थियो।”

“हामी खुशी छौँ कि संविधान फेर्ने कुरा गर्नेहरूलाई हामीले पाठ सिकायौँ। संविधानसँग खेलवाड गर्ने हिम्मत अब कसैले नगर्ला।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।