'पानमा पेपर्स' सम्पत्ति शुद्धीकरण मुद्दामा सुनुवाइ सुरु

तस्बिर स्रोत, Getty Images
पानमाको एउटा अदालतमा 'पानमा पेपर्स' सम्पत्ति शुद्धीकरण प्रकरणमा परेको मुद्दाको सुनुवाइ सुरु भएको छ।
सन् २०१६ मा ठूलो सङ्ख्यामा गोप्य वित्तीय दस्ताबेजहरू चुहिएपछि विश्वका केही धनी र शक्तिशाली व्यक्तिहरूले 'अफशोर' कम्पनीहरूमा कसरी सम्पत्ति थुपारेका छन् भन्ने खुलेको थियो।
उक्त प्रकरणमा २७ जनाविरुद्ध अभियोग दर्ता भएको छ। तीमध्ये यूर्गन मोसाक र र्यामन फोन्सेका मोरा पनि छन्।
उनीहरूले 'मोसाक फोन्सेका' नामक कानुनी सेवा दिने संस्था स्थापना गरेका थिए।
उक्त फर्म अहिले बन्द भइसकेको छ।
उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोग छ।
तर दुवै जनाले आफू, आफ्नो फर्म र आफ्ना कर्मचारी कोही पनि गैरकानुनी गतिविधिमा संलग्न नभएको दाबी गरेका छन्।
सन् २०१७ मा उक्त कम्पनीले आफ्ना कम्प्युटर ह्याक गरिएको र चुहिएको सूचनाबाट गलत अर्थ लागेको दाबी गरेको थियो।
दोषी ठहर भए मोसाक र फोन्सेकालाई १२ वर्षको जेल सजाय हुन सक्छ।

तस्बिर स्रोत, Getty Images
चुहिएको दस्ताबेजमा के छ
एक करोड १० लाखवटा वित्तीय दस्ताबेजको सँगालो भएको 'पानमा पेपर्स लीक' ले विश्वभरिका १०० भन्दा बढी नेताहरूको नाम मुछेको थियो। तीमध्ये केही विभिन्न देशका पदासीन राष्ट्रप्रमुख र सरकार प्रमुख थिए भने केही अर्बपति र खेलकुदका चर्चित हस्तीहरू पनि थिए।
उक्त प्रकरणले पानमा र ब्रिटिश भर्जिन आइल्यान्ड्सजस्ता करमुक्त स्थानलाई कसरी धनाढ्य र शक्तिशाली व्यक्तिहरूले आफ्नो सम्पत्ति लुकाउन र कर छल्न प्रयोग गरेका थिए भन्ने उजागर गर्यो।
मुद्दाको सुनुवाइ सुरु हुँदा मोसाक अदालतमा उपस्थित भएका थिए।
वकिलहरूले फोन्सेका अस्पतालमा भएको बताए।
फोन्सेका पानमाका तात्कालिक राष्ट्रिपति हुवाँ कार्लोस भारेलाको सरकारमा मन्त्री थिए। तर उनले २०१६ मा पदत्याग गरे।
गोप्य दस्ताबेज चुहिएपछि मोसाक फोन्सेकाले आफूले ४० वर्षदेखि निरन्तर सेवा दिँदै आएको र आफूमाथि कहिल्यै कुनै प्रश्न नउठेको बताएको थियो।
तर सन् २०१८ मा उक्त फर्म बन्द भयो।
कसकसको नाम मुछिएको थियो
आइसल्यान्डका तात्कालिक प्रधानमन्त्री र उनकी पत्नीको स्वामित्वमा एउटा 'अफशोर' कम्पनी भएको खुलेपछि सिग्मुन्डर गुन्लौग्सनले पदत्याग गरेका थिए।
पानमा पेपर्समा आइसल्यान्डका अरू मन्त्रीहरूको नाम पनि देखा परेको थियो।
ती दस्ताबेजमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगीहरू, चीनका राष्ट्रपति सी जिन्पिङका एक नातेदार, युक्रेनका तात्कालिक राष्ट्रपति पेट्रो पोरोशेन्को, आर्जेन्टिनाका तात्कालिक राष्ट्रपति मौरिसिओ माक्री, यूकेका तात्कालिक प्रधानमन्त्री डेभिड क्यामरनका दिवङ्गत पिता र पाकिस्तानका तात्कालिक प्रधानमन्त्री नवाज शरिफका चार सन्तानको नाम पनि उल्लेख भएको छ।
यो प्रकरणमा फुटबलको नियामक निकाय फिफाको नाम पनि जोडिएको थियो। फिफाको नीति समितिका एक सदस्य तथा यूरुग्वेका वकिल हुवाँ पेड्रो डामियानी र उनको फर्मले भ्रष्टाचार प्रकरणमा पक्राउ परेका फिफाका एक वरिष्ठ पदाधिकारीको स्वामित्वमा रहेका कम्तीमा सातवटा 'अफशोर' कम्पनीलाई कानुनी परामर्श दिएको खुलेको थियो।
पानमा पेपर्सले ५०० वटा ब्याङ्कमा झन्डै १५,६०० वटा 'शेल' कम्पनीको नाम मोसाक फोन्सेका मार्फत् दर्ता भएको देखाएको थियो।

तस्बिर स्रोत, EPA
पानमा पेपर्स कसले चुहायो
ती दस्ताबेजहरू सबैभन्दा पहिला जर्मन पत्रिका 'जुड्डोइच त्साइटुङ'लाई उपलब्ध गराइएको थियो। त्यसपछि उसले 'इन्टरन्याश्नल कन्सर्टिअम अफ इन्भेस्टिगेटिभ जर्नलिस्ट्स' (आईसीआईजे)लाई पनि उपलब्ध गरायो।
आईसीआईजेले ७६ देशका १०० वटाभन्दा बढी सञ्चारमाध्यमसँग मिलेर लामो समयसम्म अनुसन्धान गर्यो। 'बीबीसी प्यानरामा'ले पनि चुहिएका दस्ताबेजहरूको विश्लेषण गरेको थियो।
बीबीसीलाई ती दस्ताबेज उपलब्ध गराउने स्रोतबारे थाहा छैन। तर मोसाक फोन्सेकाले आफ्ना कम्प्युटरहरू ह्याक गरेको दाबी गरेको थियो।
पानमा पेपर्समा कम्पनी, कोष र फाउन्डेशनसहित कुल २,१४,००० वटा संस्थासँग सम्बन्धित विवरण छ। तिनमा सन् १९७७ देखि डिसेम्बर २०१५ सम्मका सामग्री छन्। तीमध्ये अधिकांश इमेल छन् भने केही करारनामा र राहदानीका तस्बिरहरू पनि छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















