'२४ घण्टामा ६०,००० आप्रवासीको प्रवेश': स्पेनी स्वामित्वको स्यूटामा आइपरेको सङ्कट

३१ जुलाई २०२६ मा मोरक्कोको फनिदेकस्थित सीमामा मोरक्कोको भूमिबाट स्यूटा जाने अवसरको पर्खाइमा आप्रवासीहरू एउटा जलाइएको गाडीवरिपरि जम्मा भएका छन्

तस्बिर स्रोत, Reuters

Published
पढ्ने समय: ३ मिनेट

विगत २४ घण्टामा झन्डै ६०,००० आप्रवासीहरू जल र स्थलमार्ग हुँदै मोरक्कोबाट उत्तर अफ्रिकास्थित स्पेनी भूभाग स्यूटामा प्रवेश गरेको अधिकारीहरूले बताएका छन्।

बिहीवार हजारौँ मानिसहरू समुद्रमा पौडी खेल्दै उक्त सहरतिर आइरहेका देखिने भिडिओ र तस्बिरहरू सार्वजनिक भएका थिए। राति पनि मानिसहरू स्यूटा छिरेको विवरण स्थानीय सञ्चारमाध्यमहरूले दिएका छन्।

केही दिनयता उक्त क्षेत्रमा पुग्ने प्रयास गर्दा कम्तीमा ३४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

स्पेनको सर्वोच्च अदालतले यसै महिना स्यूटा वा अर्को स्पेनी भूभाग मेलीया पुग्ने प्रयास गर्दा समुद्रमा रोकिएका आप्रवासीहरूलाई तत्कालै मोरक्को फिर्ता पठाउन नमिल्ने फैसला गरेको थियो।

विगतमा स्पेनी भूभागमा प्रवेश गर्ने प्रयास गर्नेहरूको सङ्ख्या बढेपछि स्थानीय अधिकारीहरूले सहयोगका लागि मड्रिडलाई गुहारेका थिए।

सीमा अस्तव्यस्त

अहिले स्पेनले सीमामा सुरक्षाव्यवस्था बढाएको छ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, अहिले स्पेनले सीमामा सेना खटाएर सुरक्षाव्यवस्था बढाएको छ

हजारौँ मानिस ओइरिन थालेपछि बिहीवार स्यूटाको सीमा नियन्त्रण गर्ने व्यवस्था अस्तव्यस्त बन्न पुगेको थियो।

स्पेनले पछि स्यूटा र मेलीयामा सुरक्षाव्यवस्था कडा पार्न सशस्त्र बल परिचालन गर्‍यो। मेलीयामा बिहीवार राति ३०० देखि ४०० मानिस प्रवेश गरेको विवरण आएको छ।

स्पेनी अधिकारीले गरेको आकलनअनुसार २४ घण्टाको अवधिमा स्यूटा प्रवेश गरेका आप्रवासीहरूको सङ्ख्या उक्त सहरको कुल जनसङ्ख्याको आधाभन्दा बढी हुन सक्छ।

आधिकारिक तथ्याङ्कअनुसार स्यूटामा ८३,६०० मानिसको बसोबास रहेको थियो।

आप्रवासीहरूको ओइरो लागेकाले स्यूटामा "राष्ट्रिय मानवीय सङ्कट" को अवस्था उत्पन्न भएको त्यहाँका स्थानीय प्रशासकले बताएका छन्।

शुक्रबार राति पनि मानिसहरू सीमा पार गर्ने क्रम जारी रहेको र सीमा क्षेत्रमा आप्रवासीहरू तथा प्रहरीबीच झडपहरू भएको विवरण स्थानीय सञ्चारमाध्यमहरूले प्रकाशित गरेका छन्।

हजारौँ नाबालिग पनि

स्यूटातिर छिरेका आप्रवासीहरू

तस्बिर स्रोत, EPA/Shutterstock

अहिले आएका आप्रवासीमध्थे अधिकांश युवा र विशेष गरी पुरुष छन्। यद्यपि भिडमा केही महिला, बालबालिका र साना शिशुहरू पनि देखिन्छन्।

अधिकारीहरूका अनुसार विगत २४ घण्टामा अवैध रूपमा स्यूटा प्रवेश गर्नेहरूमध्ये कम्तीमा ७,००० जना नाबालिग छन्।

सामान्यतया स्यूटा प्रवेश गर्ने प्रयासमा आप्रवासीहरू तटीय क्षेत्रभन्दा निकै टाढाबाट पौडी खेल्दै आउँछन्। तर यस पटक भने उनीहरू सीमा क्षेत्रको तारबारनजिकै सजिलैसँग पुग्न सकेको देखिएको छ।

सुरुमा केही मानिसहरू तटबन्धमा हिँड्दै स्यूटाको सीमाभित्र छिरेका थिए। तर अधिकांश मानिसहरू भने समुद्रमा पौडी खेल्दै अर्कोतर्फ रहेको तटमा पुगेका थिए।

त्यतिबेला त्यहाँ मोरक्कोका सीमा सुरक्षाकर्मीहरू भए नभएको अनि ठूलो हुलमा आएका आप्रवासीहरूलाई किन तितरबितर पारिएन वा रोकिएन भन्ने कुरा स्पष्ट हुन सकेको छैन।

बिहीवार आप्रवासीहरू अकस्मात् ठूलो सङ्ख्यामा आउनुभन्दा केही दिनअघिदेखि नै पौडिएर स्यूटा पुग्नेहरूको सङ्ख्या बढेको देखिएको थियो। उनीहरू स्यूटा प्रवेश गर्न सफल भएको खबर द्रुत गतिमा फैलिएको देखिन्छ।

कहाँ छ स्यूटा

भिडिओ क्याप्शन सुरु हुँदैछ,

स्यूटा मोरक्कोको उत्तरी तटमा अवस्थित छ। स्यूटा र स्पेनलाई जिब्रल्टर जलमार्गले छुट्ट्याउँछ।

स्यूटा र मेलीयामा युरोप पुग्न चाहने आप्रवासीहरूको ओइरो विगतमा पनि बेलाबेलामा लाग्ने गरेको थियो।

अधिकारीहरूको आकलन सही ठहरिएमा अहिले स्यूटामा आप्रवासीहरूको प्रवेश सङ्ख्या सन् २०२१ को मे महिनापछि सबैभन्दा ठूलो हो।

त्यतिबेला पश्चिमी सहाराको सार्वभौमसत्ताको विषयमा मड्रिडसँग विवाद उत्पन्न भएपछि मोरक्कोका अधिकारीहरूले झन्डै ८,००० मानिसलाई सीमा पार गर्ने अनुमति दिएका थिए।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पश्चिम सहारा क्षेत्रको स्वतन्त्रतालाई समर्थन गर्ने एल्जिरियाको भ्रमण गरेपछि मोरक्को र स्पेनबीच फेरि कूटनीतिक विवाद उत्कर्षमा पुगेको छ।

यद्यपि स्पेनको गृह मन्त्रालयले आफ्नो भूभागमा गैरकानुनी रूपमा प्रवेश गरेका सबै मानिसहरूलाई "यथाशीघ्र" फिर्ता पठाउन मोरक्कोसँग सहकार्य गरिरहेको जनाएको छ।

स्पेनका प्रधानमन्त्री शुक्रवार स्यूटाको भ्रमण गर्ने योजनामा छन्।

कूटनीतिक विवाद

मोरक्कोले पनि स्यूटा र मेलीयामाथि आफ्नो स्वामित्व रहेको दाबी गर्दै आएकाले यी दुई सहर मोरक्को र स्पेनबीचको कूटनीतिक सम्बन्धमा लामो समयदेखि विवादको विषय रहँदै आएका छन्।

मड्रिडले ती दुवै क्षेत्रहरू स्पेनका अभिन्न अङ्ग भएको बताउने गरेको छ।

ती दुई सहरले स्पेनको मुख्य भूभागमा रहेका अर्धस्वायत्त क्षेत्रहरूसरह मान्यता पाएका छन्।

ईयू र अफ्रिकाको स्थलसीमा स्यूटा र मेलीयाबाहेक अरू भूभाग पर्दैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।