इरान युद्धमा 'साथ नदिएका'ले दक्षिण कोरियासँग सैन्य अभ्यासको स्तर कटौती गर्ने ट्रम्पको घोषणा

    • Author, ब्रान्डन ड्रेनन
    • Role, वासिङटन डीसी
  • Published
  • पढ्ने समय: ४ मिनेट

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जङ अनसँग आफ्नो "एकदमै राम्रो सम्बन्ध" रहेको भन्दै दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास "उल्लेख्य रूपमा घटाउने" बताएका छन्।

ट्रूथ सोशलमा राखिएको पोस्टमा उनले हालै इरानलाई "परमाणुअस्त्रमुक्त" बनाउने अमेरिकी प्रयासमा सहभागी हुन दक्षिण कोरियाले अस्वीकार गरेको बताए।

"यी अभ्यासहरू महँगा मात्र होइनन्, यसको ठूलो हिस्सा सधैँझैँ संयुक्त राज्य अमेरिकाले बेहोर्ने गर्छ तर यसले पूर्ण रूपमा अनुपयुक्त र शत्रुतापूर्ण सन्देश पनि दिन्छ।"

सोलले अमेरिकासँगका यी अभ्यासहरू "पूर्वनिर्धारित तालिका"अनुसार सञ्चालन हुने बताएको छ। प्योङ्याङले कुनै प्रतिक्रिया जनाएको छैन।

अघिल्लो महिना उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घले प्रतिबन्ध लगाएको बलिस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको थियो।

ट्रम्पले अरू के भने

आइतवार सामाजिक सञ्जालमा ट्रम्पले अमेरिका र दक्षिण कोरियाबीच सोमवारदेखि सुरु हुने वार्षिक संयुक्त सैन्य अभ्यास "स्थगित गर्न अब धेरै ढिला भइसकेको" उल्लेख गरे।

"सायद यससँग प्रत्यक्ष सम्बन्ध नहुन सक्छ (?) तर मैले हालै दक्षिण कोरियाका राष्ट्रपतिलाई इस्लामिक गणतन्त्र इरानको परमाणु निरस्त्रीकरणमा हामीसँग सहभागी चाहनुहुन्छ भनेर सोधेको थिएँ र उहाँहरूले 'धन्यवाद, आवश्यक छैन' भन्नुभयो।"

ट्रम्पको पछिल्लो अभिव्यक्ति उनले सन् २०१८ मा किम जङ अनसँग खिचिएको एउटा पुरानो तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको २४ घण्टाभन्दा कम समयपछि आएको हो।

उनले "उक्त तस्बिरमा त्यत्ति मैत्रीपूर्ण भाव नदेखिए पनि" आफूहरू असल साथी रहेको उल्लेख गरेका थिए।

गत साता अमेरिका र दक्षिण कोरियाका वरिष्ठ सैन्य अधिकारीहरूले संयुक्त पत्रकार सम्मेलन गरी 'उल्ची फ्रीडम शील्ड' अभ्यासबारे घोषणा गरेका थिए।

उनीहरूका अनुसार ११ दिनसम्म चल्ने उक्त अभ्यासको स्तर अघिल्लो वर्षहरूसरहकै रहने र त्यसमा करिब १८,००० दक्षिण कोरियाली सैनिक सहभागी हुने योजना छ।

पत्रकार सम्मेलनका क्रममा सैन्य नेताहरूले रुसको युक्रेनविरुद्धको युद्धमा सहयोग गर्न उत्तर कोरियाले फौज पठाएको विषय पनि उल्लेख गरेका थिए।

युद्धभूमिबाट फर्किएका उत्तर कोरियाली सैनिकलाई सङ्केत गर्दै अमेरिकी सेनाका प्रवक्ता रायन डोनल्डले भने, "हाम्रो तालिमले त्यो खतरालाई पनि सम्बोधन गर्छ।" दक्षिण कोरियामा २८,५०० अमेरिकी सैनिक तैनाथ छन्।

शुक्रवार उत्तर कोरियाको विदेश मन्त्रालयले संयुक्त सैन्य अभ्यासलाई एउटा "आक्रामक युद्धको पूर्वतयारी' भन्दै निन्दा गरेको थियो।

ट्रम्पको अभिव्यक्तिले के सङ्केत गर्छ

दक्षिण कोरिया, अमेरिका र जापानले केही दिनको अन्तरालमा नै उत्तर कोरियाले गरेको दोस्रो क्षेप्यास्त्र परीक्षण पत्ता लगाएपछि यो अभ्यास हुन लागेको हो।

उत्तर कोरियाली नेताले राष्ट्रपति ट्रम्पसँग उनको पहिलो कार्यकालमा गरेको उच्चस्तरीय कूटनीति विफल भएपछि प्योङ्याङले आफ्नो परमाणुअस्त्र र क्षेप्यास्त्र कार्यक्रमहरूलाई विस्तार गरिरहेको छ।

सात वर्षअघि ट्रम्प उत्तर कोरियाली भूमिमा पाइला टेक्ने पहिलो पदासीन अमेरिकी राष्ट्रपति बनेका थिए।

दक्षिण कोरियाविरुद्ध सामाजिक सञ्जालमार्फत् ट्रम्पको तिखो अभिव्यक्तिलाई इरानविरुद्धको अमेरिकी लडाइँमा सोलले प्रत्यक्ष सैन्य वा बन्दोबस्तीसम्बन्धी योगदान गर्न अस्वीकार गरेकोप्रति उनमा देखिएको हुन सक्ने निराशाको सङ्केतका रूपमा हेरिएको छ।

उनले जापान, फ्रान्स र यूकेजस्ता साझेदारविरुद्ध पनि उक्त द्वन्द्वमा सहभागी हुन सङ्कोच व्यक्त गरेको भन्दै असन्तुष्टि जनाएका थिए।

सैन्य अभ्यासको स्तर कटौती गर्ने ट्रम्पको कदम नयाँ भने होइन।

सन् २०१८ मा उत्तर कोरियाली नेता किमसँग परमाणुअस्त्र परित्यागसम्बन्धी वार्ता चलिरहँदा उनले संयुक्त अभ्यासलाई निलम्बन गरिदिएका थिए।

सन् २०२० मा कोभिड महामारीको समयमा पनि त्यसको स्तर घटाइएको थियो।

अघिल्लो साता दक्षिण कोरियाली नेताले सन् १९५३ मा युद्धविराममा हस्ताक्षर भए पनि प्राविधिक रूपमा अझै पनि कायम रहेको युद्ध औपचारिक रूपमा अन्त्य गर्न वार्ताका लागि आफ्नो उत्तरी छिमेकीलाई औपचारिक प्रस्ताव राखेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।