तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
यू-१९ महिला एशिया कपमा नेपाल-भारत हारजितको छिनोफानोमा मौसम बाधक
- Author, निरञ्जन राजवंशी
- Role, काठमाण्डू
- Published
- पढ्ने समय: २ मिनेट
मलेशियाको वायुमास क्रिकेट ओभलमा ठूलो वर्षाले खेल अवरुद्ध भएपछि नेपाल र भारतबीचको एसीसी यू-१९ विमिन्स एशिया कपको खेल रद्द भएको छ।
वर्षाकै कारण निर्धारित समयभन्दा ढिलो सुरु भएको खेल रोकिएपछि दुवै टोलीले १/१ अङ्क बाँडेका छन्। तर नेट रनरेटमा अगाडि रहँदै भारत समूह विजेता तथा नेपाल समूह उपविजेता बन्दै 'सूपर फोर'मा पुगिसकेका छन्।
यसअघि नै अघिल्लो चरणमा पुगिसकेका दुई टोलीबीचको मङ्गलवारको खेल समूह विजेता छुट्ट्याउनका लागि महत्त्वपूर्ण थियो।
नेपाल र भारत दुवैले लीग चरणमा पाकिस्तानलाई पराजित गरेका थिए।
नेपालले अब 'सूपर फोर'मा बिहीवार श्रीलङ्का र शुक्रवार बाङ्ग्लादेशसँग खेल्ने छ।
नेपालको सङ्घर्ष
भारतलाई पहिलो पटक सामना गरेको १९ वर्षमुनिको नेपाली महिला टोलीले टस हारेर पहिलो ब्याटिङ गर्दै पूजा महतोको २५ रनको मद्दतमा ९ विकेट गुमाई ९४ रन मात्र बनाउन सकेको थियो।
जबाफमा भारतले ३.१ ओभरमा विकेट नगुमाईकन २८ रन बनाउँदा पानी परेको थियो।
ब्याटिङमा नेपालले सुरुमा निकै सङ्घर्ष गर्नुपर्यो।
सावित्री धामी दोस्रो ओभरमा तीन रन बनाएर आउट भएपछि अर्का ओपनर साना प्रविनले ११ ओभरसम्म क्रीजमा टिकेर खेलेकी थिइन्। उनी ३३ बल खेलेर नौ रन बनाएर आउट भइन्।
क्रीजमा रहेकी कप्तान पूजा महतोले त्यसपछि इनिङ्ग्स सम्हाल्दै नेपालको स्कोर बढाएकी थिइन्। उनले तीन चौकाको मद्दतले ४० बल खेलेर २५ रन बनाइन्।
तर १४.४ ओभरमा अनावश्यक रन लिने क्रममा रन आउटको सिकार भएपछि नेपालको मध्यक्रम पतन हुन पुगेको थियो।
त्यसपछि थप १२ बलमा नेपालले तीन विकेट गुमाउन पुगेको थियो।
यद्यपि सातौँ नम्बरमा आएकी विकेटकीपर ब्याटर अलिशाकुमारी यादवले नौ बलमा चार चौका प्रहार गर्दै २० रन बनाएपछि नेपालको स्कोर माथि उठेको थियो।
यसअघि सोनी पाख्रिनले आठ रन र ज्योत्स्निका मरासिनीले छ रन जोडेका थिए।
भारतका लागि पुरोनिका सिसोदीले चार विकेट लिएकी थिइन्।
प्रतियोगिताको समूह 'ए' मा श्रीलङ्का, बाङ्ग्लादेश र मलेशिया रहेका छन्।
यसअघि सोमवार पाकिस्तानलाई छ विकेटले पराजित गरेर नेपालले इतिहास रचेको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।