तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एशिया कपमा पाकिस्तानलाई हराउँदै नेपाल सेमिफाइनलमा
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
टेस्ट टोली पाकिस्तानसँग १९ वर्षमुनिको प्रतियोगितामा पहिलो भेटमै नेपालले जितको स्वाद चाखेको छ।
मलेशियामा सञ्चालन भइरहेको १९ वर्षमुनिको एसीसी विमिन्स यू-१९ एशिया कपमा नेपालले पाकिस्तानलाई छ विकेटले पराजित गरेर इतिहास रचेको हो।
उमेर समूहमा पहिलो पटक आमनेसामने भएको नेपालले टेस्ट प्रतिद्वन्द्वीलाई पाँच विकेटको क्षतिमा १०४ रनमा रोक्यो। जबाफमा नेपालले १९ ओभरमा ४ विकेट गुमाई लक्ष्य पूरा गर्यो।
जितसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। पाकिस्तान अघिल्लो खेलमा भारतसँग पराजित भइसकेकोले नेपाल एक खेलअगाडि नै सेमिफाइनलमा पुगेको हो।
शानदार बलिङ
नेपालको जितमा कप्तान पूजा महतोले महत्त्वपूर्ण भूमिका खेलिन्। उनले ४७ बलमा अविजित ४७ रन बनाइन्। उनलाई सिमना केसीले १२ रन बनाएर साथ दिएकी थिइन्।
पूजाले उपकप्तान सोनी पाख्रिनसँग तेस्रो विकेटका लागि ३१ रनको साझेदारी गरेकी थिइन् जसले जितको आधार तय गरेको थियो।
दुई रन लिने दाउमा पाख्रिन १३ रन बनाएर खेलिरहेको बेला रन आउटको शिकार बन्न पुगेकी थिइन्। त्यसपछि पूजाले खेल सम्हाल्दै टोलीलाई जिततिर दोहोर्याएकी हुन्।
उनीबाहेक नेपालका लागि साना प्रविनले १० तथा सावित्री धामिले ८ रन बनाएका थिए।
यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको पाकिस्तानविरुद्ध नेपालले शानदार बलिङ गरेको थियो।
पाकिस्तानका लागि कोमल खानले ४४ बलमा २ चौकासहित सर्वाधिक ३८ रन बनाएकी थिइन्। उनी पछि महम अनिसले २९ रन तथा रभेल फरहानले १३ रन जोडिन्।
नेपालबाट कप्तान पूजा महतोले २ तथा रिया शर्मा, रचना चौधरी र सिमना केसीले १/१ विकेट लिएका थिए।
उन्नाइस वर्षमुनिका नेपाली महिला क्रिकेट खेलाडीको राष्ट्रिय टोली अहिले स्वप्निल उडानमा छ।
पूजा महतोको कप्तानीमा उक्त टोलीले गत महिना आईसीसी यू-१९ विश्वकप एशिया छनोटको उपाधि जितेर कीर्तिमान बनायो।
टोलीले अन्तर्राष्ट्रिय खेलमा आफ्नो प्रतिभा र कौशल देखाउने अपेक्षा विश्लेषकहरूको छ।
नेपाली यू-१९ टोली यही साता मलेशियामा एसीसी यू-१९ विमिन्स् एशिया कपमा र अर्को महिना यू-१९ विश्वकपमा सहभागी हुने छ। युवा महिला टोलीले विश्वकप यू-१९ मा पाइला टेकेको यो पहिलो पटक हो।
विश्वकपमा छनोट भएकै कारण नेपाली टोली यू-१९ एशिया कपमा स्वत: छनोट भएको हो।
प्रशिक्षक महेशप्रसाद रिजाल भन्छन्, "विश्वकप छनोट जित्नु अभियान थियो। एशिया कपले अनुभव दिने छ। अनि त्यसले विश्वकपमा बल दिने छ।"
संयोगपूर्ण भेट
पछिल्लो एक वर्ष नेपाली क्रिकेटको भारत र पाकिस्तानसँग भेट हुनुको गजबको संयोग बन्यो।
गत वर्ष मङ्सिरमा सिनिअर पुरुष टोली पहिलो पटक एशिया कपमा छनोट हुँदा लीग चरणमा भारत र पाकिस्तानसँग भेट भएको थियो।
छिमेकी टेस्ट राष्ट्रसँग नेपाली पुरुष टोली पहिलो पटक आमनेसामने भएको उक्त खेललाई कतिपय नेपाली समर्थकहरूले सम्झिरहने गर्छन्।
त्यसलगत्तै सिनिअर महिला टोली पनि महिला एशिया कपमा छानियो।
पाँच महिनाअघिको उक्त प्रतियोगिता पनि नेपालको प्रतिद्वन्द्वी उही भारत र पाकिस्तान नै थियो। महिला टोलीको भेट भने दोस्रो पटक थियो।
अब पालो यू-१९ महिला टोलीको हो। प्रतियोगितामा भारत र पाकिस्तानसँगै नेपाल समूह 'बी' मा छ। नेपालले अब पुस ३ गते भारतसँग खेल्ने छ।
तयारी कस्तो
यूएईमा छनोट भएर फर्किएपछि क्यानले खेलाडीहरूको प्रशिक्षण सुरु गरिसकेको थियो।
विगत दुई हप्ता खेलाडीहरूलाई बन्द प्रशिक्षणमा राखियो। त्यस क्रममा उनीहरूले सिनिअर राष्ट्रिय टोलीसँग तीनवटा अभ्यास खेल खेले।
प्रशिक्षक रिजालका अनुसार मूलपानीमा बन्द प्रशिक्षण भएपछि खेलाडीहरूमा ऊर्जा बढेको र टोली एशिया कपका लागि उत्साहित देखिएको छ।
"छनोट खेलमा जस्तो जुझारु प्रदर्शन गरेका थिए, त्यसैलाई निरन्तरता होस् भन्ने हाम्रो प्रयास हुने छ।"
प्रशिक्षणका क्रममा राष्ट्रिय टोलीका प्रशिक्षक मोन्टी देसाईले पनि खेलाडीहरूको कमजोरी नियाल्दै त्यसमा सुधारका लागि सुझावहरू दिएका थिए।
कमजोर पक्ष
मुख्य समस्या खेलाडीहरूको तन्दुरुस्तीमा देखिएको थियो। छनोट प्रतियोगिताका क्रममा खेलाडीहरूले थुप्रै क्याचका अवसर मात्रै गुमाएका थिए भने फील्डिङका क्रममा दौडिन नसक्दा विपक्षी टोलीहरूले बढी रन बनाएका थिए।
तर तीन महिनाको अवधिमा 'फिटनेस'मा धेरै सुधार आइसकेको प्रशिक्षक रिजाल बताउँछन्। त्यसका लागि छुट्टै प्रशिक्षकको व्यवस्था गरिएको थियो।
त्यस्तै 'रनिङ बिट्वीन द विकेट', डट बल फ्याल्ने तरिका, रन बनाउने कलाजस्ता विषयमा विशेष ध्यान दिइएको प्रशिक्षक रिजाल बताउँछन्।
खेलाडीहरूको मनोवैज्ञानिक पक्षमा पनि विशेष प्रशिक्षण दिइएको उनको भनाइ छ।
पहिलो पटक एशिया कपमा पुगेकाले टोलीमा छुट्टै ऊर्जा थपिएको कप्तान पूजा महतो बताउँछिन्।
"आत्मविश्वास बढेको छ। २० ओभरको खेल हो, हामी केही अप्रत्याशित नतिजा दिने प्रयासमा छौँ," उनले भनिन्।
यही मङ्सिर ३० गतेदेखि पुस ७ गतेसम्म आयोजना हुने खेलको लागि टोली बिहीवार मलेशियामा पुगिसकेको छ।
त्यसअघि बुधवार नेपाल प्रिमिअरको खेल सकिएपछि कीर्तिपुर क्रिकेट मैदानमा टोलीको बिदाइ गरिएको थियो।
क्यानले पूजा महतोको कप्तानीमा १५-सदस्यीय टोली घोषणा गर्दा एशिया छनोट जितेको टोलीकी एक सदस्य मनिषा उपाध्यायबाहेक अरू सबै खेलाडी समेटिएका छन्।
त्यसमा किरणकुमारी कुँवर र अनु कडायत थपिएका छन्। बाँकी सबै सदस्यहरूले निरन्तरता पाएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।