ब्याङ्ककमा भएको आगलागीमा कम्तीमा २७ जनाको मृत्यु, कैयौँ मानिस अझै सम्पर्कविहीन

आगलागी भएको घटनास्थल

तस्बिर स्रोत, EPA/Shutterstock

    • Author, जोनाथन हेड
    • Role, दक्षिणपूर्वी एशिया संवाददाता
    • Author, ड्यान सेल्स
  • Published
  • पढ्ने समय: ४ मिनेट

आइतवार राति ब्याङ्ककस्थित एउटा बारमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने २२ जना गम्भीर घाइते भएका छन्।

प्रत्यक्षदर्शीहरूका अनुसार ज्याटुज्याक क्षेत्रस्थित निकै चल्तीको उक्त बारमा मञ्च नजिकैबाट सुरु भएको आगो चाँडै फैलिएको थियो। त्यसपछि त्यहाँ विद्युत् आपूर्ति अवरुद्ध भएको थियो र पूरै कक्षमा धुवाँ भरिएको थियो।

सामाजिक सञ्जालमा प्रेषित भिडिओमा बारमा आत्तिएका ग्राहकहरू चिच्च्याउँदै भागिरहेका थिए। तीमध्ये केहीको कपडामा पनि लागेको देखिन्थ्यो।

मध्यरातपछि घटनास्थल पुगेका अग्निनियन्त्रकहरूले आधा घण्टामै आगो निभाए। तर त्यतिन्जेलसम्म धेरै क्षति भइसकेको थियो।

उनीहरूले अधिकांश मृतकहरूको शव एउटा शौचालयमा फेला पारे। भागेका मानिसहरूले त्यहाँ आश्रय लिएको हुन सक्ने ठानिएको छ।

ज्याटुज्याक क्षेत्रमा रहेको रङ बिअर ना लाट फ्राओ नामक उक्त बार त्यहाँ निकै चर्चित रेस्टुराँ एवं मनोरञ्जन केन्द्र थियो।

ब्याङ्ककस्थित विपद् नियन्त्रण विभागले गरेको प्रारम्भिक अनुसन्धानमा एअर कन्डिशनरमा भएको विद्युतीय 'शर्ट सर्किट'का कारण आगो लागेको देखिएको छ। तर अधिकारीहरूले औपचारिक रूपमा आगलागीको कारण खुलाएका छैनन्।

थाईल्यान्डमा यस प्रकारको घटना भएको पहिलो पटक होइन। अधिकारीहरूले घटनाबारे विस्तृत अनुसन्धान गरिने वाचा गरेका छन्।

पहिलापहिला सरकारी निकायहरूले त्यस्ता घटना हुँदा आगलागी र विद्युतीय सुरक्षासम्बन्धी मापदण्ड सुधार गर्ने वाचा गर्ने गरेका भए पनि तिनको कार्यान्वयन निकै फितलो छ।

थाई प्रधानमन्त्री के भन्छन्

बारमा आगलागी भएपछि फैलिएको धुँवा

तस्बिर स्रोत, Fire & Rescue Thailand

तस्बिरको क्याप्शन, घटनास्थलमा खिचिएको भिडिओमा मूलद्वारबाट आगो बाहिर निस्किएको र मानिसहरू भागिरहेको देखिन्छ

प्रधानमन्त्री अनूतिन चान्वीरकूनले सोमवार बिहानै घटनास्थलको निरीक्षण गरे।

उनले आगो लाग्दा घटनास्थलमा उपस्थित एक सङ्गीतकारसँग आफूले के भएको थियो भनेर सोधेको पत्रकारहरूलाई बताए।

"उनका अनुसार कट-आउट स्विचमा आगो लाग्यो र एकदमै चाँडो फैलियो। विस्फोटहरू भए अनि सबै जना धुवाँ र आगोबाट जोगिन भाग्न थाले।"

"कतिपय मानिसहरू बाहिर निस्किन सकेनन् किनभने उनीहरू भवनको पछिल्तिर गएर धुवाँ र आगोबाट बच्न शौचालयमा पसे र त्यहीँ हामीले धेरैको शव भेट्यौँ।"

स्थानीय सञ्चारमाध्यममा आएका विवरणहरूमा नौ पुरुष तथा १८ महिलाको ज्यान गएको छ। साठी जनाभन्दा धेरैलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ। तीमध्ये २२ जनाको अवस्था गम्भीर भएको अधिकारीहरूले बताएका छन्।

कतिपय मानिसहरू हराइरहेको पनि थाइरथले विवरण दिएको छ।

ब्याङ्ककको विपद् नियन्त्रण विभागका सूरियाचाइ रवीवानका अनुसार अधिकांश मानिसको मृत्यु धुवाँमा सास फेरेकाले भएको देखिएको छ।

आगलागी भएको ठाउँमा फर्निचर

तस्बिर स्रोत, APTN

घटनास्थलबाहिर छरिएका चप्पल र जुत्ता

तस्बिर स्रोत, BBC/Lulu Luo

घटनास्थलमा जे देखियो

घटनास्थलमा अग्निनियन्त्रक तथा सुरक्षाकर्मीहरू

तस्बिर स्रोत, Reuters

आगो नियन्त्रणमा आएपछि लिइएका तस्बिरहरूमा बारको अगाडि थुप्रै शव राख्ने ब्याग देखिन्छ। खोजी तथा उद्धारका क्रममा सुरक्षाकर्मीहरूले घेराबन्दी पनि गरेका थिए।

बारभित्र फर्निचर, भित्ता तथा सिलिङ सबै कालो भएका छन्।

ब्याङ्ककका गभर्नरले घटनास्थलको निरीक्षणपछि त्यहाँ आन्तरिक सजावटका लागि राखिएका सामग्री निकै ज्वलनशील भएकाले आगो चाँडै फैलिएको बताए।

चकलेट क्यान्डी तथा अन्य सामग्री बेच्नका निम्ति राखिएका टेबलहरूले आगो लाग्दा भाग्ने ढोकाहरूलाई अवरोध गरेका विवरण पाइएको पनि उनले बताए। तथापि त्यसबारे फरेन्सिक अधिकारीहरूबाट आधिकारिक अनुसन्धान हुनु पर्ने उनले बताएका छन्।

एक मोटरसाइकल चालकले समाचारसंस्था एएफपीलाई आफूले पाँच व्यक्तिलाई आगलागी भएको ठाउँबाट बाहिर निस्किन सहयोग गरेको र त्यस क्रममा उनीहरूको शरीरमा लागेको आगो निभाएको बताए।

"मेरो मन खिन्न भएको छ। मैले धेरै जनाको मृत्यु भएको देखेँ। मैले सघाएका मानिसहरूलाई के भयो भन्ने कुरा मलाई थाहा छैन।"

राति ११ः३० बजे सोही बाटो हुँदै यात्रा गरिरहेका एक ड्राइभरले आगलागी भएको देखेपश्चात् अग्निनियन्त्रकहरू घटनास्थलमा पुगेका थिए।

ती ड्राइभरले झ्याल फुटाएर आफूले दुई जनालाई भाग्न मद्दत गरेको डेली न्यूजलाई बताएका छन्।

ज्याटुज्याकको स्थानीय प्रशासननले उक्त बार भएको भवन ३० दिनसम्म बन्द रहने जनाएको छ।

अधिकारीहरूले प्रत्येकका मृतकका परिवारलाई २९,३०० थाई बाट (स्थानीय मुद्रा) आर्थिक सहयोग दिने घोषणा गरेको छ। अस्पतालमा उपचार गराइरहेका घाइतेहरूले पनि ४,००० बाट सहयोग पाने छन्।

दक्षिण ब्याङ्ककस्थित एउटा बारमा सन् २०२२ मा आगो लाग्दा २२ जनाको मृत्यु भएको थियो।

त्यसअघि २००९ मा नयाँवर्षमा ब्याङ्ककमै एउटा नाइटक्लबमा भएको आगलागीमा ६६ जनाको ज्यान गएको थियो भने २०० जनाभन्दा बढी मानिस घाइते भएका दिए।

ज्याटुज्याकमै सन् २०२४ मा एउटा खुल्ला बजारमा विद्युतीय शर्ट सर्किटका कारण आगो फैलिँदा १,००० वटा जनावरको मृत्यु भएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।