तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इरानमा अमेरिकी आक्रमणपछि तेहरानको निशानामा खाडीका अमेरिकी अखडा
अमेरिकाले पछिल्ला आक्रमणपछि इरानले पनि खाडी राष्ट्रहरूमा रहेका अमेरिकी अखडामा आक्रमण गरेको छ।
तेहरानले युद्ध अन्त्य गर्ने "सम्झौताका लागि लामो समय लगाएको" भन्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि "कडा आक्रमण" हुनसक्ने बताएलगत्तै अमेरिकाले इरानमा आक्रमण गरेको थियो।
अमेरिकी सेन्ट्रल कमान्ड 'सेन्टकम'ले दोस्रो दिन "आत्मरक्षाका"लागि गरिएका आक्रमण पूरा भएको जनाएको छ।
जबाफमा इरानले बाहरेन र कुवेतमा रहेका अमेरिकी सैन्य अखडामा आक्रमण गरेको छ। उसले आफ्नो देशमा आक्रमणका लागि प्रयोग भएका स्थानमा हमला गरिएको बताएको छ।
एकले गरेको आक्रमणको बदला अर्को पक्षले पनि आक्रमण गर्दा पछिल्ला दिनमा बढेको तनावले गएको एप्रिलयता सुरु भएको कमजोर युद्धविरामको परीक्षा लिइरहेको छ।
पछिल्लो अमेरिकी आक्रमणपछि होर्मुज जलमार्ग नजिकका दक्षिणी इरानका सहरहरूमा विस्फोटको आवाज सुनिएको छ। यस क्षेत्रका अमेरिकी सेनाले हवाई प्रतिरक्षा, राडार तथा अन्य संरचनाहरूमा मङ्गलवार आक्रमण गरेको थियो।
इरानको इस्लामिक रेभलूशनरी कार्ड कोर 'आईआरजीसी'ले होर्मुज जलमार्गमा जहाजहरूमाथि पनि आक्रमण गरिएको जनाएको छ।
इरानी सरकारी सञ्चारमाध्यमहरूले होर्मुज जलमार्ग "सबै प्रकारका जहाजका लागि पूर्ण रूपमा बन्द" गरिएको दाबी गरे लगत्तै त्यस क्षेत्रका जहाजहरूमा आक्रमण भएको हो। यद्यपि सेन्टकमले "व्यावसायिक जहाजहरू होर्मुज हुँदै वारपार गरिरहेको" दाबी गरेको छ।
इरानी सञ्चारमाध्यमले होर्मुज जलमार्गमा दुई वटा तेल ट्याङ्करमाथि इरानी जलसेनाले आक्रमण गरेको जनाएका छन्। तर यसको पुष्टि भएको छैन।
फेरि बढ्यो तेलको मूल्य
विश्वमा तेल ढुवानीका लागि प्रयोग हुने प्रमुख मार्ग बन्द गरिएको र जहाजमाथि आक्रमण भएको खबर सार्वजनिक भएपछि तेलको मूल्य पुन: बढेको छ। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यका लागि मानकका रूपमा लिइने ब्रेन्ट कच्चा तेलको मूल्य एशियाली बजारमा बिहीवार बिहान कारोबार हुँदा दुई प्रतिशतले बढेर प्रति ब्यारल ९५ अमेरिकी डलरभन्दा धेरै पुगेको छ।
ट्रूथ सोसलको पोस्टमा ट्रम्पले इरानलाई चेतावनी दिएलगत्तै अमेरिकी सेनाले आक्रमण सुरु गरेको थियो।
इरानको विदेश मन्त्रालयले भने "परस्पर विरोधी सन्देश पठाएर कूटनीतिक प्रक्रिया बिथोलेको" आरोप अमेरिकामाथि लगाएको छ।
ट्रम्पको टिप्पणीमा प्रतिक्रिया जनाउँदै इरानका राष्ट्रपति मसूद पेजेस्कियानले आफूहरू "कुनै पनि दबाव वा धम्कीविरुद्ध दृढतापूर्वक उभिने" बताएका छन्।
अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले इरानका प्रमुख केन्द्रहरूमा बम खसालिने बताएका थिए। इरानलाई मौका दिँदा पनि उ सम्झौताका लागि तयार नभएको ट्रम्प र हेग्सेथको भनाइ थियो।
अमेरिका र इरानबीच गत एप्रिलमा दुई हप्ताका लागि युद्धविराम सहमति भएको थियो। उक्त युद्धविरामलाई दुवै पक्षले निरन्तरता दिएको बताए पनि त्यसयता दुवै पक्षबीच छिटपुट आक्रमण भइरहेका छन्। तर दुवै देश पूर्ण युद्धमा पनि फर्किसकेका चाहिँ छैनन्।
पछिल्ला दिनहरूमा वाशिङ्टन र तेहरानबीच वार्ता रोकिएका छन् र आक्रमण नियमितजसो हुन थालेका छन्।
मङ्गलवार अमेरिकी हेलिकप्टरमा आक्रमणमा गरेर खसालिएको थियो। अमेरिकाले इरानले उक्त हेलिकप्टर खसालेको आरोप लगाएको छ। त्यसको बदलामा अमेरिकाले इरानमा आक्रमण गरेपछि इरानी सेनाले पनि मध्यपूर्वमा रहेका अमेरिकी अखडालक्षित आक्रमण गर्यो।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्ण गहिरो सङ्कटमा तानिएको भन्दै आक्रमणहरू रोक्न आह्वान गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।