काठमाण्डूका निश्चित स्थानमा उच्च क्लोरिनयुक्त पानी प्रवाह, प्रयोग नगर्न केयूकेएलको आग्रह

पानी

तस्बिर स्रोत, MELAMCHIWATER.GOV.NP

Published

मेलम्चीको पानी वितरण भइरहेको काठमाण्डूका विभिन्न स्थानमा क्लोरिनको मात्रा उच्च रहेको पानी प्रवाह भइरहेकाले त्यस्तो पानी प्रयोग नगर्न अधिकारीहरूले उपभोक्तालाई आग्रह गरेका छन्।

खास गरी नयाँ पाइप विस्तार गरेर पानी वितरण गरिएका क्षेत्रमा पाइपलाई निर्मलीकरण गर्नका लागि उच्च मात्रामा क्लोरिन राखेर पानी प्रवाह गरिएको काठमाण्डू उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)ले जनाएको छ।

त्यस्तो कार्य गरिएका स्थानका उपभोक्ताहरूलाई आफूहरूले घरदैलोमै पुगेर सूचना दिने गरेको उनीहरूको भनाइ छ।

एक पटकमा ५०० देखि १,००० उपभोक्ताको घरमा क्लोरिन उच्च मात्रामा रहेको पानी प्रवाह हुने गरेको र धारामा आउने त्यो पानी फ्याँकेर पछि आएको पानी भने प्रयोग गर्न सकिने अधिकारीहरू बताउँछन्।

कहाँ कहाँ परेको छ प्रभाव?

अधिकारीहरूका अनुसार मेलम्चीबाट ल्याइएको पानी दुईवटा सञ्जालबाट काठमाण्डूमा वितरण गर्ने गरिएको छ।

पुरानो सञ्जालबाट वितरण गरिएका स्थानमा हाल कुनै ‘समस्या छैन’।

तर नयाँ सञ्जालबाट पानी प्रवाह भइरहेका स्थानमा भने पाइप परीक्षण र सफा गर्नका लागि पिउने पानीमा राखिनेभन्दा धेरै बढी मात्रामा २४ घण्टासम्म क्लोरिन राख्ने गरिएको छ।

‘‘वर्षौँ पहिले जडान गरिएका पाइपहरू सरसफाइ गरिएको हो। सरसफाइ भइरहेका बेलाको पानी नपिउँदा राम्रो हुन्छ,’’ केयूकेएलका सहायक कार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीले भने।

उनका अनुसार उपत्यकामा झन्डै १,१०० किलोमिटर नयाँ पाइपलाइन नेटवर्क विस्तार गरिएको छ। त्यसमध्ये झन्डै ६५० किलोमिटर परीक्षण भइसकेको बताइएको छ।

हाल यो कार्य चरणबद्ध रूपमा सञ्चालन भइराखेको भनिएको छ।

फागुन महिनाको दोस्रो साता सुरु गरिएको उक्त कार्य चालु आर्थिक वर्षसम्ममा सम्पन्न गर्ने र त्यसपछि पुनः नयाँ क्षेत्रहरूमा काम सुरु गर्ने सरकारी लक्ष छ।

केयूकेएलको आयोजना कार्यान्वयन निर्देशनालयका सहायक आयोजना निर्देशक चन्द्र श्रेष्ठका अनुसार गौशाला, कोटेश्वर र कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय आसपासका क्षेत्रमा यो काम सम्पन्न भइसकेको छ।

त्यस्तै मण्डिखाटार, कपन र चाबहिलका केही क्षेत्रमा पनि काम सुरु गरिएको जनाइएको छ।

अबको चरणमा चमति अनि पुरानो बानेश्वरका पाइपहरू सफा गर्ने तयारी थालिएको छ।

red line
red line

पिउने पानीमा क्लोरिन किन मिसाइन्छ?

पानी

तस्बिर स्रोत, SPL

क्लोरिन एक प्रकारको रासायनिक पदार्थ हो। यो मुख्यत: निर्मलीकरणका लागि प्रयोग गरिन्छ।

केयूकेएलले सोझै वितरण गर्ने पानीमा पनि क्लोरिन मिसाइएको हुन्छ। तर त्यसको मात्रा भने पिउन योग्य तहमा राखिएको हुन्छ।

कार्कीका अनुसार एक लिटर पानीमा ०.५ देखि ०.६ मिलिग्राम क्लोरिन मिसाएर सर्वसाधारणको घरघरमा पानी प्रवाह गरिन्छ।

‘‘उपभोक्ताको घरसम्म पुग्दा एक लिटरमा ०.१ देखि ०.२ मिलिग्राम क्लोरिन पानीमार्फत् पुग्यो भने त्यसलाई सुरक्षित मानिन्छ र त्यसलाई सोझै पिउँदा पानी जीवाणुरहित हुन्छ। यो डिस्इन्फेक्टेन्ट हो। विश्वमा जहाँसुकै प्रयोग गरिने डिस्इन्फेक्टेन्टमा क्लोरिन पर्छ,’’ उनले भने।

तर क्लोरिनको मात्रा उच्च भए त्यसले क्यान्सरसमेत हुनसक्ने माइक्रोबायोलजिस्टसमेत रहेका कार्कीले भने।

अमेरिकाको सेन्टर्स फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी) अनुसार एक लिटर पिउने पानीमा चार मिलिग्राम क्लोरिनको मात्रालाई सुरक्षित मानिन्छ। त्यति मात्रामा हानिकारक स्वास्थ्य प्रभाव उत्पन्न हुने सम्भावना कम रहने उसले जनाएको छ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले पाँच मिलिग्रामसम्म क्लोरिनको मात्रालाई सुरक्षित मानेको छ। त्यसैगरी डब्ल्यूएचओले घर घरमा धारामा आउने पानीमा प्रतिलिटर ०.२ मिलिग्राम भएमा त्यस्तो पानी पिउन योग्य हुने बताएको छ।

सर्वसाधारणहरूले यस्तो पानी प्रयोग नगरून् भनेर घरघरमै पुगेर उक्त कार्यबारे जानकारी गराइने र लिखित सन्देश पनि दिने गरिएको श्रेष्ठ बताउँछन्।

जुन क्षेत्रमा परीक्षण गर्न लागिएको हो त्यस क्षेत्रमा सानो ड्रम प्रयोग गरी बाइपास गरेर पाइपबाट क्लोरिनको मात्रा उच्च रहेको पानी पठाइन्छ।

ती क्षेत्रमा उपभोक्तालाई ४८ घण्टासम्म धारा नखोल्न आग्रह गर्ने गरिएको छ।

red line
red line

क्लोरिन बढी रहेको कसरी थाहा पाउने?

अधिकारीहरूका अनुसार पानीमा क्लोरिनको मात्रा कति छ भन्ने कुरा थाहा पाउने सबैभन्दा सरल तरिका भनेको यसको गन्ध हो।

‘‘पानी ह्वास्स गन्ध आयो भने त्यो पानीमा क्लोरिनको मात्रा बढी छ भन्ने हुन्छ,’’ कार्कीले भने।

उपभोक्तालाई आफूले सेवन गर्ने पानीमा क्लोरिनको मात्रा उच्च रहेको जस्तो लागेर सम्पर्क गरे केयूकेएलले आफ्ना कर्मचारी पठाएर वा नमुना उपलब्ध गराइदिएको अवस्थामा आफ्नै प्रयोगशालामार्फत् तत्काल परीक्षण गर्न सकिने उनले जानकारी दिए।

जीआई पाइप र पुरानो पाइपलाइनबाट आएको पानी पिउन मिल्ने भए पनि पछिल्लो समय प्रयोग गरिएको एलटीपी (पोलिथिन) पाइपबाट आएको पानी अथवा पानीमा गन्ध आएको छ भने नपिउन अधिकारीहरूले आग्रह गरेका छन्।

‘‘नयाँ पाइपमा मिटर पनि जडान गरिएको छैन। आम सर्वसाधारणलाई थाहा छ। नयाँ धाराबाट आएको पानी हामीलाई ह्यान्डओभर (हस्तान्तरण) पनि भएको छैन। त्यहाँबाट हामीले पानी वितरण पनि गरेका छैनौँ। त्यसले गर्दा त्यो पानी नपिउन हाम्रो अनुरोध छ,’’ कार्कीले थपे।