नागढुङ्गा सुरुङमार्गमा तपाईँको गाडी लैजाँदा यसरी तिर्नुपर्ने छ शुल्क

    • Author, अशोक दाहाल
    • Role, संवाददाता, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ५ मिनेट

विभिन्न जिल्लाबाट काठमाण्डू उपत्यका आवतजावतका लागि प्रयोग हुने मुख्य बाटो करिब आधा घण्टा छोट्याउने भनिएको नागढुङ्गा सुरुङमार्ग आगामी साउनभित्रै सञ्चालनमा ल्याउने अन्तिम तयारी भइरहेको अधिकारीहरूले बताएका छन्।

तर नागढुङ्गा सुरुङमार्ग आयोजनाका अनुसार नेपालकै पहिलो आधुनिक सुरुङमार्गको सञ्चालनका लागि अझै तीन क्षेत्रमा तयारी नपुगेका कारण व्यावसायिक सञ्चालनको मिति तय हुन सकेको छैन।

"सुरुङ सञ्चालन गर्ने सेवा प्रदायकले आफ्नो टोली परिचालन गरेर सामान्य तयारी गरिरहनुभएको छ," नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपाल भन्छन्। "पूर्ण रूपमा सञ्चालन हुनुअघि आपत्कालीन उद्धार कसरी गर्ने, त्यहाँ भएका प्रणाली कसरी सञ्चालन गर्ने, ट्राफिक आवागमन कसरी गर्नेलगायतका आन्तरिक तयारी भइरहेका छन्।"

काठमाण्डूको नागढुङ्गाबाट धादिङको सिस्नेखोलासम्म २,६८८ मिटर लामो उक्त सुरुङले नौबिसे-काठमाण्डू सडकखण्डको यात्रा करिब तीन किलोमिटर छोट्ट्याएर यात्रा अवधि औसत २० मिनेटमा झार्ने ठानिएको छ। तर यो छोटो बाटोबाट काठमाण्डू प्रवेश गर्न र बाहिरिन छुट्टै शुल्क तिर्नुपर्छ।

सुरुङमार्गको शुल्क उठाउने सरकारी निकाय सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेशबहादुर केसीका अनुसार यो सडकमा डिजिटल प्रणालीबाट शुल्क भुक्तानीका लागि 'आरएफआईडी कार्ड' जारी गर्न एउटा निजी वाणिज्य ब्याङ्कसँग सम्झौता भइसकेको छ।

"बोर्डले आरएफआईडी प्रणालीमा आधारित एन-ट्यागबाट र क्यूआरबाट भुक्तानी लिने प्रणाली त्यहाँ राख्छ। कसैले नगदमा भुक्तानी गरेको अवस्थामा भोलिपल्ट बिहान १० बजेभित्रै त्यो पनि ब्याङ्कमा राखिसक्नुपर्ने हुन्छ," सडक बोर्डका कार्यकारी निर्देशक केसी भन्छन्।

सडक बोर्ड नेपालले यो सुरुङ भएर वारपार गर्ने सवारीसाधनबाट डिजिटल माध्यमबाटै शुल्क उठाउने विषयलाई प्राथमिकता दिइने जनाएको छ।

यो सडक नियमित प्रयोग गर्ने सवारीसाधनलाई लक्षित गरेर बोर्डले रेडिओ फ्रिक्वेन्सीको माध्यमबाटै भुक्तानी गर्न 'आरएफआईडी' प्रविधिको 'एन-ट्याग' समेत प्रयोग गरिने बताएको छ।

यस्तो कार्डमा पैसा अग्रिम 'लोड' गरेर सुरुङमार्ग प्रयोग गर्दैपिच्छे स्वचालित रूपमा काटिँदै जाने व्यवस्था गरिएको केसीले बताए। नेपालमा यो प्रविधि पहिलो पटक प्रयोगमा आउन लागेको बोर्ड प्रमुखले बताएका छन्।

बोर्ड वा ब्याङ्कले दिएको कार्डमा पैसा लोड गरेर त्यो कार्डलाई सवारीसाधनको सिसामा टाँसेर स्वचालित रूपमा पैसा काटिने प्रणालीका लागि बोर्डले अहिले तयारी गरिरहेको हो।

तयारी नपुगेका विषय

व्यावसायिक प्रयोजनका लागि खुला गरिनुअघि सुरुङमार्गभित्र आपत्कालीन उद्धारको अभ्यास गर्न बाँकी नै रहेको आयोजनाले जनाएको छ।

"त्यहाँभित्र सवारीसाधन बिग्रिए वा आपसमा ठोक्किए भने साधन र यात्रुलाई सुरक्षित रूपमा कसरी बाहिर ल्याउने भनेर सशस्त्र प्रहरी, नगरपालिकाका अग्निनियन्त्रक तथा डाक्टरहरूसहितको एउटा टोली बनाएका छौँ। उहाँहरूसहित पूर्वाभ्यास गर्नुपर्ने छ। त्यो भएपछि मात्रै सर्वसाधारणका लागि खुला गर्ने तयारी पूरा हुन्छ," निर्देशक नेपालले भने।

यसका लागि सरोकारवाला निकायसँग समन्वय भइरहेको आयोजनाले जनाएको छ।

यो सुरुङमार्गमा शुल्क उठाउन 'टोल प्लाजा' सहितका भौतिक पूर्वाधार जडान भइसकेको अनि ब्याङ्क पनि छनौट भइसकेको सडक बोर्ड नेपालले जनाएको छ।

"सडक बोर्डले हाम्रो प्रणालीसँग समायोजन गर्ने काम अन्तिम चरणमा पुर्‍याएको छ," सुरुङमार्ग आयोजना प्रमुख नेपाल भन्छन्।

अहिले नागढुङ्गा हुँदै काठमाण्डू भित्रिने र बाहिरिने सवारी साधनहरूलाई थानकोटस्थित चेकपोस्टमा प्रहरी जाँच हुने गरेको छ। तर यो सुरुङमार्ग प्रयोग गर्ने सवारी साधन र यात्रुहरूको चेकजाँचका लागि प्रहरीले पूर्वाधार बनाउन बाँकी नै रहेको आयोजनाले जनाएको छ।

सुरुङमार्गभित्र ट्राफिक प्रहरी वा प्रहरी हुँदैनन्। यो सुरुङमार्गका सबै क्षेत्र ओगट्ने गरी सीसीटीभी राखिएका कारण नियन्त्रणकक्षबाटै सुरुङभित्रको गतिविधि निगरानी गर्न सकिने अधिकारीहरूले बताएका छन्।

चरणबद्ध रूपमा खोल्ने तयारी

सुरुङमार्ग आयोजनाका निर्देशक नेपालका अनुसार पहिले कारलगायतका हलुका चारपाङ्ग्रे सवारीसाधनहरूलाई मात्रै यो सुरुङमार्ग प्रयोगका लागि अनुमति दिनेबारे छलफल भइरहेको छ।

"यो पहिलो सुरुङ भएका कारण अभ्यास नभएकाले सबैलाई एकै पटक गर्दा कस्तो जोखिम हुन्छ भन्ने थाहा नभएकोले चरणबद्ध रूपमा खोल्दै जाने कि भन्ने छलफल चलिरहेको छ," नेपाल भन्छन्।

यो सुरुङमार्ग सञ्चालनको जिम्मा लिएको चिनियाँ कम्पनीले पाँच जना विदेशीसहित १५० जना कर्मचारी भर्ती गरेको छ। हरेक दिन तीन सत्रमा गरेर ३० देखि ४० जना कर्मचारी शुल्क उठाउनेदेखि निगरानी र मर्मतलगायतका काममा संलग्न हुने सहमति भएको आयोजनाले जनाएको छ।

सञ्चालन गर्ने कम्पनीले नेपाली नागरिकहरूलाई यसको सञ्चालन गर्न सीप सिकाउनुपर्ने गरी सम्झौता गरिएको सुरुङमार्ग आयोजनाले जनाएको छ।

सुरुङमार्गको सञ्चालन र मर्मतसम्भारका निम्ति वार्षिक करिब २२ करोड रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको छ।

सडक बोर्ड नेपालका प्रमुख केसीका अनुसार अहिले थानकोट भएर दैनिक १० हजार हाराहारी सवारीसाधन आवतजावत गर्ने आकलन छ।

"यो बाटो गुड्ने सवारी साधनहरू सुरुमा ८० प्रतिशतसम्म र बिस्तारै ६० प्रतिशतले सुरुङमार्ग प्रयोग गर्ने हाम्रो आकलन छ," बोर्ड प्रमुख केसीले भने।

कति लाग्छ दस्तुर

यो सुरुङमार्ग प्रयोग गर्न सवारीसाधनका प्रकृतिअनुसार ६० रुपैयाँदेखि ६०० रुपैयाँसम्म दस्तुर तोकिएको छ।

यो रकम सडक बोर्ड नेपालको खातामा जम्मा हुने व्यवस्था गरिएको छ। सुरुङमार्ग सञ्चालन गर्ने कम्पनीका कर्मचारीको तलब र अन्य खर्च बोर्डले नै उपलब्ध गराउने सम्झौता भएको सुरुङमार्ग आयोजना प्रमुख नेपालले जानकारी दिए।

सुरुङमार्ग भएर सङ्घीय राजधानी काठमाण्डू प्रवेश गर्ने प्रत्येक कार र भ्यानले ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ दस्तुर तिर्नुपर्ने हुन्छ।

सुरुङमार्गमार्फत् काठमाण्डू आउँदा प्रत्येक मिनिबस र मिनिट्रकलाई ११५ रुपैयाँ र फर्कँदा ८० रुपैयाँ तोकिएको छ।

प्रत्येक बस तथा ट्रकले भने काठमाण्डू छिर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ दस्तुर तिर्नुपर्ने सरकारले जनाएको छ।

भारी उपकरणका सवारीसाधनको हकमा अलि महँगो दस्तुर तोकिएको छ। त्यस्ता सवारीसाधनले काठमाण्डू आउँदा ६०० रुपैयाँ र फर्कँदा २५० रुपैयाँ दस्तुर तिर्नुपर्ने हुन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।