साफ महिला च्याम्पियनशिपमा श्रीलङ्कालाई हराउँदै नेपाल सेमिफाइनलमा

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: २ मिनेट

आक्रामक खेल पस्केको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले प्रतिद्वन्द्वी श्रीलङ्कालाई ६-० गोलले पराजित गर्दै साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

काठमान्डूको दशरथ रङ्शालामा लीग चरणको अन्तिम खेल खेलिरहेको नेपालले पहिलो हाफमा चार गोल तथा दोस्रो हाफमा दुई गोल गरेको हो। जितसँगै समूह विजेता बनेको नेपालले अब सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ।

बिहीवार साँझको खेल नेपालका लागि सेमिफाइनल प्रतिद्वन्द्वी छान्ने अवसर जस्तै बनेको थियो। सेमिफाइनल पुग्न नेपाललाई श्रीलङ्काविरुद्ध बराबरी नै पर्याप्त थियो भने समूह विजेता बन्न श्रीलङ्कालाई कम्तीमा छ गोल अन्तरले पराजित गर्नुपर्थ्यो।

समूह विजेता बने भारतसँग र उपविजेता बने सेमिफाइनलमा नेपाल बाङ्ग्लादेशसँग खेल्थ्यो। यस्तोमा नेपालले समूह विजेता बन्ने रणनीतिका साथ मैदानमा ओर्लिएको देखियो र सेमिफाइनलमा भारतलाई रोज्न खोजेको देखियो।

गोलको वर्षा

दशरथ रङ्गशालामा उपस्थित सात हजारको हाराहारीमा रहेका दर्शकमाझ नेपालले शुरूदेखि नै स्तरीय खेल प्रदर्शन गर्‍यो।

फ्रान्सबाट फर्किएकी स्ट्राइकर सावित्रा भण्डारी पहिलो पटक खेलेको खेलमा नेपालले १३ मिनेटभित्र ३ गोल गर्न भ्याएको थियो।

पहिलो गोल सविता रानामगर ८ मिनेटमा डी बक्सभित्र बाँया खुट्टाको ‘टच’ बाट गरेकी थिइन्। त्यसका लागि सावित्राले दायाँ कुनाबाट गरेको मेहनती क्रस महत्त्वपूर्ण बन्यो।

एघारौँ मिनेटमा सावित्राले डी बक्स बाहिरबाट उत्कृष्ट ढङ्गले गोल गरिन्।

त्यसको दुई मिनेटपछि रेखा पौडेलले विमला रानामगरको शानदार पासमा डी बक्स भित्रबाट गोल गरिन्।

रेखाले नै ३६औँ मिनेटमा दोस्रो गोल गरिन्। योसँगै उनको जारी प्रतियोगितामा गोल सङ्ख्या ७ पुगेको छ।

दोस्रो हाफ शुरू भएको दुई मिनेटमै अमिषा कार्कीले नेपालको लागि पाँचौँ गोल गरिन्। तर त्यसपछि गोल थप्न भने नेपालले अन्तिम मिनेटसम्म कुर्नु परेको थियो।

रश्मीकुमारी घिसिङले इन्ज्युरी समयको दोस्रो मिनेटमा हेडबाट गोल गरेकी हुन्।

विपक्षी श्रीलङ्काका खेलाडीहरूले खेलभरि नै रक्षापङ्क्तिमा व्यस्त हुनुपर्‍यो। उनीहरूले खेल अवधिभरि नेपाली पोस्टमा एउटा पनि आक्रमण बुन्न सकेन।

चार परिवर्तन

नेपाली प्रशिक्षक राजेन्द्र तामाङले माल्दिभ्सविरुद्धको खेलमा खेलेका टोलीमा चार परिवर्तन गरेका थिए।

उनले कप्तान गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बा, स्ट्राइकर सावित्रा भण्डारी र अमिषा कार्की तथा डिफेन्स अमृता जैसीलाई पहिलो रोजाइमा राखेका थिए।

माल्दिभ्सविरुद्ध पहिलो रोजाइमा रहेका खेलाडीहरू गोलकिपर अञ्जना राना मगर, डिफेण्डर निशा थोकर, मिडफिल्डर विमला चौधरी र फरवार्ड रश्मीकुमारी घिसिङलाई बेञ्चमा राखिएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।