आफ्ना कूटनीतिज्ञको सुरक्षा भए भारतले क्यानडाका नागरिकलाई पुनः भिसा दिने

तस्बिर स्रोत, Getty Images
भारतीय विदेशमन्त्री एस जयशङ्करले क्यानडास्थित भारतीय कूटनीतिज्ञहरूको सुरक्षामा कुनै "प्रगति देखिए" क्यानडाका नागरिकलाई भारत प्रवेश गर्ने भिसा पुनः जारी गर्ने बताएका छन्।
क्यानडास्थित आफ्ना नियोगहरूमा "सुरक्षा चुनौती"का कारण काममा अवरोध भएको भन्दै भारतले गत सेप्टेम्बर महिनामा भिसा सेवा बन्द गरेको थियो।
क्यानडाको सरकारले आफूले "कूटनीतिज्ञको सुरक्षालाई एकदमै गम्भीरतापूर्वक लिएको" बताएको छ। यद्यपि आफ्ना कूटनीतिज्ञको सुरक्षाबारे भारतले लगाएको आरोपको भने ओटवाले कुनै उत्तर दिएको छैन।
क्यानडामा एक सिख पृथक्तावादी नेताको हत्याका विषयमा दुई देशबीच केही महिनायता आरोप-प्रत्यारोप चल्दै आएको छ।
असमझदारीको सुरुवात

गत महिना क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले "विश्वसनीय आरोपहरूले सम्भवतः" उक्त सिख नेताको हत्यासँग भारतीय राज्यको सम्बन्ध देखाएको र त्यसबारे आफ्नो सरकारले छानबिन गरिरहेको बताएपछि दुई देशबीचको सम्बन्ध चिसिएको छ।
भारतले उक्त आरोपलाई "निरर्थक" भन्दै अस्वीकार गरेको छ।
गत जुनमा ब्रिटिश कोलम्बियाको एक सिख मन्दिरअगाडि क्यानडाका नागरिक हरदीप सिंह निज्जरलाई उनकै गाडीभित्र दुई नकाबधारीहरूले गोली हानी हत्या गरेका थिए। उनी सिखहरूका लागि छुट्टै खालिस्तान राज्यको माग गर्ने एक सक्रिय पैरवीकर्ता थिए।
खालिस्तानको माग भारतमा संवेदनशील विषय हो र यसका कारण सन् १९८० को दशकमा हिंसात्मक आन्तरिक द्वन्द्व भएको थियो।
असुरक्षाको प्रश्न

तस्बिर स्रोत, Getty Images
तर पछिल्लो असमझदारीभन्दा अघि पनि भारतले खालिस्तान समर्थकहरूको धम्कीलाई देखाउँदै क्यानडामा रहेका आफ्ना अधिकारीहरूको सुरक्षाबारे चासो व्यक्त गर्दै आएको थियो।
खालिस्तानपक्षीय एक र्यालीमा प्रयोग भएको एक पोस्टरमा दुई भारतीय कूटनीतिज्ञलाई निज्जरको हत्या गरेको आरोप लगाइएपछि गत जुलाईमा क्यानडाकी विदेशमन्त्री मेलनी जोलीले पहिला ट्विटर भनिने सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै कूटनीतिज्ञको सुरक्षाको दायित्वलाई आफ्नो देशले "एकदमै गम्भीरतापूर्वक" लिएको बताएकी थिइन्।
सेप्टेम्बरमा क्यानडाका नागरिकहरूका लागि भिसा सेवा निलम्बन गर्नुअघि भारतीय विदेश मन्त्रालयका प्रवक्ताले क्यानडामा रहेको आफ्नो उच्चायुक्तको कार्यालय (राजदूतावास) तथा महावाणिज्य दूतावासले "आफ्नो सामान्य कार्यसञ्चालनमा अवरोध पुग्ने गरी" धम्कीहरू प्राप्त गरेको बताएका थिए।
क्यानडाको दूतावासले पनि आफ्ना केही कूटनीतिज्ञले "सामाजिक सञ्जालका विभिन्न माध्यममा धम्की प्राप्त गरेको" बताएको थियो।
पछिल्लो घटनाक्रम

तस्बिर स्रोत, Reuters
गत हप्ता क्यानडाकी विदेशमन्त्रीले आफ्ना ४१ कूटनीतिज्ञले भारत छाडेको बताएकी थिइन्। यसअघि भारतले क्यानडालाई आफ्ना दर्जनौँ कर्मचारीहरू फिर्ता बोलाउन र फिर्ता नबोलाए उनीहरूले प्राप्त गरेको कानुनी संरक्षण खोसिदिने चेतावनी दिएको थियो।
क्यानडाका अधिकारीहरूले यसलाई "अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन" भनेका छन्। संयुक्त राज्य अमेरिका र यूकेले समेत यस विषयमा आफ्नो चासो व्यक्त गरेका छन्।
तर आइतवार जयशङ्करले "दोहोरो कूटनीतिक समानता कायम गर्ने" आफ्नो अडान कूटनीतिक सम्बन्धबारेको भिअना महासन्धिअनुरूप नै रहेको बताएका छन्।
"हाम्रो हकमा हामीले समानतालाई सक्रिय बनायौँ किनकि क्यानडाका कर्मचारीहरूले हाम्रा मामिलामा निरन्तर हस्तक्षेप गरेकोप्रति हाम्रो चासो थियो," एक कार्यक्रममा बोल्दै उनले भने। साथै उनले दुई देशबीचको सम्बन्ध "कठिन चरण"बाट गुज्रिरहेको बताए।
"तर म बताउन चाहन्छु कि क्यानडाको राजनीतिको निश्चित अंश र त्यसबाट उत्पन्न नीतिसँग हामीलाई समस्या छ," उनले थपे।
भारतमा क्यानडाको भिसा सेवा अझै पनि सञ्चालनमै छ। तर गत साता क्यानडाले आफ्ना कूटनीतिज्ञहरूको प्रस्थानपछि "घटेको कर्मचारी सङ्ख्या"ले भिसा प्रक्रियामा लाग्ने समयमा असर पर्ने बताएको थियो।
भारत र क्यानडा दुवैको हाल एकअर्काका देशमा २१-२१ जना कूटनीतिज्ञ छन्।
क्यानडाका प्रधानमन्त्री ट्रुडोले कूटनीतिज्ञहरूमाथिको भारतीय नियन्त्रणले दुवै देशका लाखौँ मानिसहरूको जीवन कष्टकर भएको बताएका थिए।
क्यानडामा भारतीय मूलका करिब १४ लाख मानिसहरू बसोबास गर्छन् र त्यसमध्ये आधाभन्दा बढी सिखहरू हुन्। सन् २०२१को जनगणनाअनुसार भारतीय मूलका मानिसहरूले क्यानडाको जनसङ्ख्याको ३.७ प्रतिशत हिस्सा ओगट्छन्।
भारत क्यानडाका लागि सबैभन्दा उच्च सङ्ख्यामा अन्तर्राष्ट्रिय विद्यार्थीहरू पठाउने मुलुक पनि हो। सन् २०२२ मा क्यानडामा रहेका तीन लाख २० हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरूमध्ये करिब ४० प्रतिशत भारतीय थिए।
भारतीय सरकारको तथ्याङ्कअनुसार सन् २०२१ मा करिब ८० हजार क्यानडेली पर्यटकले भारत भ्रमण गरे, जुन संयुक्त राज्य अमेरिका, बाङ्ग्लादेश र यूकेपछिको सबैभन्दा ठूलो सङ्ख्या हो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
















