अन्योलपछि भिसा तर अमेरिकामा बस्न नपाउने : विश्वकप खेल्न इरानको कठिन बाटो

२९ मे २०२६ मा टर्कीको अन्टाल्यास्थित टाइटानिक मार्डन प्यालेस स्पोर्ट्स कम्प्लेक्समा गाम्बियाविरुद्ध भएको मैत्रीपूर्ण फुटबल खेलमा मेहदी तारेमी (९) ले गोल गरेपछि इरानी राष्ट्रिय फुटबल टोलीका खेलाडीहरू हर्षोल्लास गर्दै

तस्बिर स्रोत, Orhan Cicek/Anadolu via Getty Images

तस्बिरको क्याप्शन, मेमा गाम्बियासँग खेलिएको मैत्रीपूर्ण खेलमा इरानी राष्ट्रिय टोलीका खेलाडीहरू
    • Author, पूरीया जाफ्रे
  • Published
  • पढ्ने समय: ५ मिनेट

इरान मार्च २०२५ मा विश्वकप फुटबलका लागि छनोट हुँदा कसैले पछि कस्ता चुनौतीहरू उत्पन्न हुन सक्छन् भनेर कल्पना नै गरेका थिएनन्।

एक वर्षपछि विश्वकप आरम्भ हुने केही दिन बाँकी हुँदा इरान सहभागी हुन पाउला कि नपाउला भन्ने विषय यो प्रतियोगिताकै अतिजटिल विषयमध्ये एक बनेको थियो। किनभने देशका सर्वोच्च नेताको हत्या हुने गरी इजरेलसँग मिलेर इरानविरुद्ध सैन्य आक्रमण थालेको देश अमेरिकामा गएर इरानी राष्ट्रिय टोलीले खेल्नुपर्ने अवस्था थियो।

युद्ध टुङ्गिसकेको छैन। इरानी फुटबल टोलीका सदस्यहरूले अमेरिकाको भिसा पाउने नपाउने अनिश्चित थियो र खेलाडीहरू प्रतियोगिताका लागि कहाँ बसेर नियमित अभ्यास गर्छन् र कहाँबाट कसरी खेल्न जान्छन् भन्ने चुनौती पनि थियो।

बल्लबल्ल अमेरिकी भिसा तर कठिन सर्त

इरान विश्वकप २०२६ का लागि छानिने प्रथम टोलीहरूमध्ये एक हो। तर टोलीका सदस्यहरूले बल्ल शुक्रवार भिसा प्राप्त गरे। तर इरानी फुटबल महासङ्घका प्रमुख मेहदी ताज र टोलीका केही कर्मचारीहरूको भिसा आवेदन अस्वीकृत भयो।

अमेरिकी विदेश मन्त्रालयले बीबीसीलाई बताएअनुसार विश्वकपमा सहभागी हुन आवश्यक खेलाडी र सहयोगी कर्मचारीहरूलाई भिसा प्रदान गरिएको छ। तर "झुटो बहानामा आतङ्ककारीहरूलाई संयुक्त राज्य अमेरिकाभित्र छिराउन इरानी टोलीलाई यो प्रणालीको दुरुपयोग गर्न नदिने" नदिइने उसको भनाइ छ।

मेक्सिकोका लागि इरानी राजदूत अबोल्फजल पसन्दिदेहका अनुसार इरानी राष्ट्रिय टोलीलाई खेल हुने दिन मात्र अमेरिका प्रवेश गर्ने र सोही दिन नै अमेरिका छोड्ने सर्तमा भिसा दिइएको छ।

युद्ध सुरु हुनुअघि इरानी टोली विश्वकपका लागि आफ्नो शिविर अरिजोनाको टुसानमा बनाउने योजनामा थियो। तर अब टोली मेक्सिकोको टीख्वानामा बस्ने भएको छ। फिफाले पनि यो परिवर्तनलाई स्वीकृति दिएको छ।

इरानले आफ्नो समूह चरणका तीनवटै खेल अमेरिकामा खेल्ने छ। इरानका खेलहरू न्यूजील्यान्ड र बेल्जमसँग लस एन्जलिस र इजिप्टसँग सियाटलमा हुने छन्।

४० वर्षभन्दा अघिदेखिको तनाव

फिफा २०२६ विश्वकप फुटबल प्रतियोगिताको पूर्वसन्ध्यामा ७ जुन २०२६ मा मेक्सिकोको टीख्वानास्थित टीख्वाना अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी फुटबल टोली बोकेको विमान अवतरण गर्दै गर्दा हेर्दै मेक्सिकोका एक अधिकारी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, इरानी टोली आइतवार, ७ जुनमा मेक्सिको पुगेको छ

अमेरिका र इरानबीच चार दशकभन्दा लामो समयदेखि शत्रुवत् सम्बन्ध छ। सन् १९७९ मा इरानस्थित अमेरिकी दूतावास कब्जामा लिएर मानिसहरूलाई बन्धक बनाइएको घटनापछि दुई देशबीच औपचारिक कूटनीतिक सम्बन्ध कायम छैन।

फुटबलले दुई देशलाई केही पटक सोझै भेट्ने अवसर जुराइदिएको छ।

सबैभन्दा चर्चित भेट चाहिँ फ्रान्समा १९९८ मा आयोजित विश्वकपमा भएको थियो। राजनीतिक दृष्टिकोणबाट पनि निकै उत्सुकतापूर्वक हेरिएको सो खेलमा इरानले अमेरिकालाई २-१ ले पराजित गर्‍यो।

दुई देशबीच तिक्ततापूर्ण सम्बन्ध भएको हुनाले केहीले उक्त खेललाई "महाभिडन्त" को सङ्ज्ञा दिएका थिए। ती दुई बीचको भिडन्त विश्वकपको इतिहासमा अतिस्मरणीय खेलमध्ये एक बन्न पुग्यो।

खेल आरम्भ हुनुअघि इरानी खेलाडीहरूले अमेरिकी टोलीका सदस्यहरूलाई सेतो गुलाफ दिएका थिए।

पछि २०२२ मा कतारमा आयोजित विश्वकपमा पनि इरान र अमेरिकाको भेट भयो। समूह चरणको खेलमा इरानलाई १-०ले हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश गर्न सफल भयो।

आसन्न प्रतियोगितामा पनि इरान र अमेरिकाबीच भेट हुन सक्ने सम्भावना छ।

समूह चरणबाट अगाडि बढे यी टोलीबीच नकआउट चरणमा भेट हुन सक्छ।

दुई देशबीच युद्ध चलिरहेको परिप्रेक्ष्यमा अमेरिका र इरानबीचको उक्त खेल फुटबलमा मात्र सीमित रहने छैन।

फुटबलले कुनै बेला इरानलाई एकजुट बनाएको थियो, अहिले अवस्था अस्पष्ट छ

बायाँबाट दायाँ: फ्रान्सको लियोनस्थित स्टेड डी गेर्ल्यान्डमा २१ जुन १९९८ मा भएको विश्वकपको पहिलो चरणको खेलअघि इरानी टोलीसँग फूल साटासाट गर्दै अमेरिकाका फ्रयाङ्की हेज्डुक, ट्याब रामोस, जो म्याक्स मूर, डेभिड रेगिस, केसी केलर र टामस डूली। खेलमा अमेरिकाले १ र इरानले २ गोल गरेका थिए

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् १९९८ मा फ्रान्समा आयोजित विश्वकपको खेलमा इरानी खेलाडीहरूले अमेरिकीलाई फूल दिएका थिए

इरानमा फुटबलका लागि व्यवस्थापकीय समस्या त छँदै छ। त्यसबाहेक राष्ट्रिय फुटबल टोली र सर्वसाधारण इरानीहरूका केही समूहहरूबीचको सम्बन्ध अहिले पहिलाको भन्दा बढी जटिल देखिन्छ।

देशमा राजनीतिक र सामाजिक विभाजन हुँदाहुँदै पनि राष्ट्रिय टोलीले सबैको समर्थन पाउने गरेको थियो। सन् २०१४ र २०१८ का विश्वकपमा राष्ट्रिय टोलीले राजीतिक वृत्तबाट पनि व्यापक समर्थन पायो।

तर कतार विश्वकपको पूर्वसन्ध्यामा परिस्थिति फेरियो। सन् २०२२ मा प्रहरी हिरासतमा महसा अमिनीको मृत्यु र प्रदर्शनकारीहरूमाथि गरिएको व्यापक दमनका कारण देशभरि विरोधप्रदर्शन चर्किएको थियो।

राष्ट्रिय फुटबल टोली पनि राजनीतिक बहसमा तानिन पुग्यो। केही इरानीहरू फुटबल खेलाडीहरूले प्रदर्शनकारीहरूप्रति एकबद्धता प्रदर्शन गरिदेऊन् भन्ने चाहन्थे भने अरूहरू फुटबललाई राजनीतिबाट टाढा राख्नुपर्ने मान्यता राख्थे।

विश्वकप २०२६ इरानमा सरकारविरोधी प्रदर्शन दमन गरिएको छ महिना पनि हुन लागेको छ। उक्त दमनमा हजारौँ मानिस मारिएको मानवाधिकारवादी समूहहरूको भनाइ छ।

राजनीति जे जस्तो भए पनि केही समर्थकहरू अझै पनि इरानी टोलीलाई राष्ट्रिय गौरवको सङ्केत मान्छन्। अरू भने आलोचनात्मक दृष्टिकोण राख्छन्।

उनीहरू फुटबल टोली राज्य संयन्त्रसँग जोडिएको र त्यसलाई देशको राजनीतिक संस्थापनबाट छुट्ट्याएर हेर्न नसकिने ठान्छन्।

तर त्यसको अर्थ 'टीम मेली' का पक्षमा समर्थन छैन भन्ने होइन।

इरानमा फुटबल सबैभन्दा लोकप्रिय खेलकुद हो। दशौँ लाख इरानीहरूले यो प्रतियोगितामा आफ्नो टोलीका खेलहरू हेर्ने अपेक्षा गरिएको छ।

मार्डन स्पोर्ट्स कम्प्लेक्स, अन्टाल्या, टर्कीमा १९ मे २०२६मा प्रशिक्षण गर्दै इरानी खेलाडीहरू

तस्बिर स्रोत, REUTERS/Dilara Senkaya

तस्बिरको क्याप्शन, इरानी टोलीले विश्वकपम सहभागी हुन जानुअघि टर्कीमा प्रशिक्षण गरेको थियो

इरानले आसन्न विश्वकपका लागि तयारी गर्दै गर्दा राष्ट्रिय टोलीले पहिलाको जस्तो व्यापक समर्थन पाउँछ कि पाउँदैन भन्ने निश्चित छैन।

इरानले खेलमैदानमा पहिलाको भन्दा राम्रो उपलब्धि हात पार्ने प्रयास गर्ने छ।

सात पटक विश्वकपमा छनोट भएको भए पनि इरान समूह चरणभन्दा माथि उक्लिन सकेको छैन। अहिले विश्वकपमा ४८ वटा टोलीहरू सहभागी हुन पाएकाले इरानले अगाडि बढ्न सक्ने अवसर पाउन सक्छ। इरानले नकआउट चरणमा प्रवेश गर्न सकिन्छ भन्ने ठानेको हुनुपर्छ।

फुटबल नै चर्चाको मूल विषय रहला कि नरहला भन्ने अर्को प्रश्न पनि छ।

विश्वकप प्रायजसो तात्कालिक राजनीतिक विषयवस्तुको प्रतिविम्ब हुँदै आएको छ। तर इरानबाहेक अरू कुनै टोली कूटनीतिक र सैन्य तनाव, भिसाको अन्योल र देशभित्रको राजनीतिक विभाजनका बीच कुनै विश्वकपमा सहभागी भएको सम्झना छैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।