इजरेलले गाजा जाने सहायता रोके सैन्य सहयोग कटौती गर्ने अमेरिकी चेतावनी

गाजामा विस्थापितहरू

तस्बिर स्रोत, Reuters

Published
पढ्ने समय: ४ मिनेट

संयुक्त राज्य अमेरिकाले ३० दिनभित्र गाजामा मानवीय सहायता थप सहज नपारे इजरेललाई दिइँदै आएको सैन्य सहयोग कटौती गर्ने लिखित चेतावनी दिएको छ।

उक्त पत्रलाई अमेरिकाले आफ्नो साझेदार राष्ट्रलाई दिएको सबै कडा लिखित चेतावनी मानिएको छ। इजरेली सैन्य कारबाहीमा परी उत्तर गाजामा धेरै सर्वसाधारण मानिसको मृत्यु भएको विवरण आएपछि आइतवार वाशिङ्टनले त्यस्तो पत्र पठाएको सार्वजनिक भएको हो।

उक्त क्षेत्रका मानिसहरूको अवस्था खराब बन्दै गएकोमा गहिरो चिन्ता व्यक्त गर्दै अमेरिकाले गत महिना उत्तरी र दक्षिणी गाजामा मानवीय सहायताका लागि गरिएको झन्डै ९० प्रतिशत गतिविधिमा इजरेली पक्षबाट अवरोध भएको जनाएको छ।

इजरेलले अमेरिकाले पठाएको पत्रको समीक्षा गरिरहेको बताएको छ। एक इजरेली अधिकारीले “यो विषयलाई गम्भीर रूपमा लिइने” र “त्यसमा उठाइएको चासो सम्बोधन गरिने” प्रतिक्रिया अमेरिकी समकक्षीलाई दिएको विवरण आएको छ।

इजरेलले यसअघि हमासका कार्यकर्तालाई लक्ष्य गरिएको र मानवीय सहायताका सामान नरोकेको दाबी गर्दै आएको थियो।

सोमवार गाजा प्रवेशको व्यवस्थापन गर्दै आएको इजरेली सेना निकाय ‘कोगट’ले विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) का ३० वटा लरीहरू इरेज नाकाबाट उत्तरी गाजामा प्रवेश गरेको जनाएको छ।

त्यससँगै उत्तरी गाजामा चार लाख प्यालेस्टिनीहरूका लागि अत्यावश्यक खाद्य सहायतामा दुई सातादेखि हुँदै आएको अवरोध खुलेको ठानिएको थियो।

इजरेललाई अमेरिकाले कस्तो सैन्य सहयोग गर्दै आएको छ?

अहिलेसम्म इजरेललाई अमेरिकाले सबैभन्दा धेरै अस्त्र आपूर्ति गर्दै आएको छ। इजरेली सेना एक वर्षदेखि गाजामा हमासविरुद्ध जारी युद्धमा अमेरिकाले आपूर्ति गरेका विमान, गाइडेड बम, क्षेप्यास्त्र र गोलीगट्ठामा निर्भर छ।

अमेरिकी विदेश मन्त्रालयले इजरेललाई पठाएको पत्रको विवरण एक्सिअस वेबसाइटले खुलासा गरेको थियो। उक्त पत्रमा विदेशमन्त्री एन्टोनी ब्लिङ्कन र रक्षममन्त्री लोएड अस्टिनले हस्ताक्षर गरेका छन्।

“हामी गाजामा बढ्दो मानवीय सङ्कटप्रति अमेरिकी सरकारको गहिरो चिन्ता प्रकट गर्न यो पत्र लेख्दै छौँ। साथै त्यहाँको सरकारबाट यही महिनाभित्र यो बाटो त्याग्न तत्कालै र दिगो कदम चाल्नका लागि पनि आग्रह गर्छौँ,” पत्रमा भनिएको छ।

अमेरिकाले देखाएको कारण

गाजा युद्धमा क्षतिग्रस्त भवन

तस्बिर स्रोत, AFP

उक्त पत्रका अनुसार इजरेलले ठाउँ खाली गर्न दिएका आदेशहरूका कारण १७ लाख मानिसहरू तटीय भेगमा अवस्थित मवासीमा एउटा सानो क्षेत्रमा बस्न बाध्य भएका र उनीहरू “घातक सङ्क्रमणको उच्च जोखिममा” परेका छन्।

सहायता सामग्रीको आपूर्तिमा ३० दिनभित्रै तत्कालै चरणबद्ध ठोस कदम चाल्न र त्यसो नभएको अवस्थामा अमेरिकी नीतिमा नकारात्मक प्रभाव पर्ने अमेरिकाले औँल्याएको छ। पत्रमा अमेरिकी सहायता सामग्रीमा अवरोध पुर्‍याउने देशलाई अमेरिकी कानुनले सैन्य सहयोग गर्न रोक लगाएकोबारे जानकारी गराइएको छ।

इजरेललाई जाडो याम सुरु हुनुअघि नै गाजामा सबै प्रकारका मानवीय सहायतामा वृद्धि गर्नका लागि प्रमुख चार वटासहित नयाँ पाँचौँ नाकाबाट समेत गरी दैनिक ३५० वटा लरी गाजामा प्रवेश गर्ने सुविधा दिन भनिएको छ।

अमेरिको पत्रमा उत्तरी गाजालाई बाँकी गाजा क्षेत्रको सम्पर्कबाट नअलग्याउन र मानिसहरूलाई बलपूर्वक अन्यत्र नसार्न इजरेल सरकारलाई भनेको छ।

मङ्गलवार वाशिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले पत्रकारहरूलाई “गोप्य कूटनीतिक पत्राचार भएको र त्यसलाई सार्वजनिक गर्ने आफूहरूको उद्देश्य नभएको" भने।

मानवीय सहायताको पहुँच नबढाएको अवस्थामा इजरेलले कस्तो अवस्थाको सामना गर्न सक्छ भन्ने जिज्ञासामा मिलरले त्यसबारे अहिले अनुमान गर्न नसकिने बताए।

निर्वाचनसँग कुनै सम्बन्ध छ?

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आगामी नोभेम्बर ५ मा निर्वाचन हुँदै छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मिलरले ३० दिनको समयसीमा अमेरिकी राष्ट्रपतीय निर्वाचनसँग सम्बन्धित नभएको बताए।

इजरेली पक्षलाई पर्याप्त समय आवश्यक पर्ने भएका कारण उक्त समय दिइएको उनको दाबी थियो।

इजरेलले भने गाजामा वितरण गरिने सहायतामा कुनै सीमा नतोकिएको दाबी गर्दै राष्ट्रसङ्घीय निकायहरूमाथि सहायता वितरण गर्न असफल भएको आरोप लगाउने गरेको छ।

इजरेलले हमासले सहायता लैजाने गरेको आरोप लगाए पनि उक्त लडाकु समूहले त्यसको खण्डन गर्दै आएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।