तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन, मुख्य बुँदा यस्ता छन्
प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले सुनसरीसहित केही जिल्लामा देखिएको साम्प्रदायिक तनाव अन्त्य गर्न सबै पक्षले आआफ्नो स्थानबाट पहल गर्न अपील गरेका छन्।
"हाम्रो इतिहास साक्षी छ- कठिनभन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै हाम्रा सबैभन्दा ठूला शक्ति बनेका छन्," उनले बिहीवार देशवासीका नाममा गरेको सम्बोधनमा भने, "हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनुपर्ने छ।"
उनले प्रत्येक नागरिकको जीवन सुरक्षाका लागि सरकारका सम्पूर्ण संयन्त्रहरू अहोरात्र खटिने र सद्भाव भड्काउन खोज्ने तत्त्व वा व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउने पनि बताए।
"शान्तिसुरक्षा भङ्ग गर्ने, अराजकता फैलाउने वा हाम्रो सदियौँ पुरानो सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रूपमा सचेत छ र यस्ता गतिविधिमाथि कडा कदम चालिने छ," उनको चेतावनी छ।
उनले बिहीवार भएको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा देशको समग्र शान्तिसुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा भएको जानकारी दिएका छन्।
उनले "परिषद्को बैठक बसी परिस्थिति अनुसारका आवश्यक निर्णयहरूसमेत गरिसकिएको" पनि बताएका छन्।
सम्बोधन लगत्तै प्रधानमन्त्री बालेन राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
"भेटवार्ताका क्रममा उहाँहरूबीच मुलुकको समसामयिक विषयवस्तुहरूमा छलफल भएको छ," सचिवालयले भनेको छ।
सुनसरीबाट सुरु भएको साम्प्रदायिक तनाव अन्य जिल्लासम्म फैलिँदै गएको देखिएपछि चौतर्फी रूपमा चिन्ता व्यक्त हुन थालेपछि उनले सम्बोधन गरेका हुन्।
सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगञ्जमा आइतवार राति दुई धार्मिक समुदायका युवाबीच देखिएको तनाव अन्यत्र पनि बढ्दै गएको हो।
त्यस रात एक जनाको मृत्यु भएको सुनसरीमा केही घाइते भएका थिए।
तीमध्ये एक जना घाइतेको बिहीवार मृत्यु भएको छ भने सिराहामा उत्पन्न तनावबीच गोली लागेर अर्का एक जनाको मृत्यु भएको छ।
सिराहा र धनुषामा कर्फ्यु आदेश र पर्सामा निषेधाज्ञा जारी गरिएको छ।
संवेदनशील घटनाहरू नरोकिँदा पनि प्रधानमन्त्री मौन बसेको भनेर भइरहेका आलोचनाबीच प्रधानमन्त्री बालेनले मानवीय क्षतिप्रति दुख प्रकट गरेका छन्।
प्रधानमन्त्रीको सम्बोधनका मुख्य बुँदा
प्रधानमन्त्रीको सम्बोधनका मुख्य बुँदाहरू यसप्रकार छन् :
- केही दिनअघि सुनसरीको देवानगन्ज, सिराहालगायत स्थानमा भएका दुःखद घटना र त्यसपछि केही जिल्लाहरूमा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ। यस दुःखद घटनामा निधन हुनु भएका हाम्रा नागरिकहरू जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, शोकसन्तप्त परिवारजनहरूमा नेपाल सरकारका तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु।
- घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकिएको छ।
- घटना भएलगत्तै सबै सुरक्षा निकायहरूले तत्काल घटनास्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने र शान्ति–सुरक्षा कायम गर्ने प्रयास निरन्तर गरिरहेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ। म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुने छ। घटनामा संलग्न दोषी जोकोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ।
- अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ। परिस्थिति सामान्यीकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ भने स्थानीय तहसम्मै जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरुहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको छ।
- स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न, पीडित पक्षसँग संवाद गर्न र शान्तिसुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयं, सुरक्षा निकायका उच्च अधिकारीहरूसहित घटनास्थलतर्फ प्रस्थान गरिसक्नुभएको छ। साथै, देशको समग्र शान्तिसुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसी परिस्थिति अनुसारका आवश्यक निर्णयहरूसमेत गरिसकिएको छ।
- यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामाग्री वा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्तिको प्रचारप्रसार नगर्न, नगराउन अनुरोध गर्दछु। साथै, सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गर्न विशेष आग्रह गर्दछु।
- प्रत्येक नागरिकको जीउधनको रक्षा गर्नु, सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च र प्राथमिक दायित्व हो। आगामी दिनमा पनि राज्य थप सतर्क र संवेदनशील रहनेछ। प्रत्येक नागरिकको जीवन सुरक्षाका लागि सरकारका सम्पूर्ण संयन्त्रहरू अहोरात्र खटिने छन्। शान्तिसुरक्षा भङ्ग गर्ने, अराजकता फैलाउने वा हाम्रो सदियौँ पुरानो सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रूपमा सचेत छ र यस्ता गतिविधिमाथि कडा कदम चालिने छ।
- नेपालको संविधानले प्रत्येक नागरिकलाई आआफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको छ। यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध छ।
- धर्म, समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो। संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन। सबै धर्मको मूल सार करुणा, दया, प्रेम र शान्ति नै हो।
- देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुःखद घटनालाई लिएर कुनै सिङ्गो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसङ्गत हुन सक्दैन।
- हाम्रो इतिहास साक्षी छ- कठिनभन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै हाम्रा सबैभन्दा ठूला शक्ति बनेका छन्।
- हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनुपर्ने छ।
उनले "धैर्य र संयम अपनाउँदै शान्ति, सद्भाव, भाइचारा र राष्ट्रिय एकता कायम राख्न" मैथिली भाषामा सबैलाई अपील गर्दै आफ्नो सम्बोधन टुङ्ग्याएका छन्।
प्रधानमन्त्री बालेनले देशमा संवेदनशील घटनाहरू बढ्दै जाँदा मौन रहेको भन्दै प्रतिनिधिसभाको बिहीवारको बैठकमा विपक्षी सांसदहरूले आलोचना गरेका थिए।
सरकार बनेपछि प्रधानमन्त्रीले पहिलो पटक बिहीवार राखेको सुरक्षा परिषद्को बैठकमा साम्प्रदायिक तनावबारे समीक्षा भएको परिषद् सचिवालयले जनाएको छ।
राष्ट्रपतिदेखि पूर्वराजासम्मको अपील, के भने?
तनाव विस्तार हुँदै गएपछि राजनीतिक पार्टी अनि सामाजिक क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थाबाट संयमका लागि आग्रह भइरहेको छ।
घटनालाई लिएर वर्तमान र पूर्वराष्ट्रप्रमुखहरूले चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले देशका केही भागमा विषम परिस्थिति देखिएकोभन्दै त्यसले आफूलाई अत्यन्तै चिन्तित तुल्याएको बताएका छन्।
परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन नागरिकको शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण कायम गर्न हर सम्भव प्रयासमा सरकार लाग्ने विश्वास लिएको उल्लेख गर्दै पौडेलले अपीलमा भनेका छन्, "स्थितिलाई थप जटिल बन्न नदिई समुदायमा एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम गर्न म सबैलाई हार्दिक अपील गर्छु।"
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि "राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र शान्तिपूर्ण सहअस्तित्वको संरक्षण तथा प्रवर्द्धन" को खाँचो औँल्याएकी छन्।
त्यसको निम्ति उनले सबैलाई "आआफ्नो स्थानबाट जिम्मेवार, संयमित र रचनात्मक भूमिका निर्वाह गर्न" अपिल गरेकी छन्।
पूर्वराजा ज्ञानेन्द्र शाहले पनि जनजीवन अशान्त बनेको सुन्दा आफूलाई चिन्ता लागेको जनाएका छन्।
"समाजका सबै समुदायमा सामञ्जस्य रहेको देशका रूपमा सुपरिचित नेपालमा यस प्रकारका अवाञ्छित घटना, दुर्घटना घट्नु चिन्ताको विषय हो," उनको सन्देशमा भनिएको छ, "त्यसैले जुनसुकै भूभागमा रहे बसेका जो कोही पनि हामी नेपाली मिलौँ, हाम्रो यही आग्रह छ र यही आजको आवश्यकता हो"
मधेशकेन्द्रित विभिन्न दलहरूले संयुक्त र अलगअलग रूपमा अपील जारी गर्दै शान्ति र सद्भाव कायम राख्न आग्रह गरेका छन्। घटनाको न्यायिक छानबिन हुनुपर्ने उनीहरूको माग छ।
नेपाल चेम्बर अफ कमर्शले पनि घटनाप्रति चिन्ता व्यक्त गर्दै वर्तमान परिस्थितिमा संयम, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई प्राथमिकता दिन सबै पक्षसँग आग्रह गरेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।