तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कम खर्चमा वा बिनाखर्च तत्काल अपनाउन सकिने स्वास्थ्यवर्द्धक बानी
- Author, फ्लोरेन्स फ्रिमन
- Role, बीबीसी न्यूज
- Author, अशिथा नागेश
- Role, बीबीसी न्यूज
- Published
- पढ्ने समय: ५ मिनेट
'वेलनेश' अचेल निकै चर्चित शब्द बनेको छ र यो प्रायः ठूलो खर्चसँग जोडिएको हुन्छ।
महँगा 'स्पा', पाँचतारे होटलमा आयोजना हुने 'फ्लोटिङ साउन्ड ब्याथ' वा 'रिट्रिट'जस्ता महँगा गतिविधिको खर्च धान्न सकिन्छ भने ती निकै आनन्ददायी हुन सक्छन्।
तर त्यस्तो खर्च धान्न नसक्नेका लागि के त? स्वास्थ्य मामिलाका विशेषज्ञ, उद्यमी तथा इन्फ्लुअन्सरहरूले सुझाएका खल्तीलाई भार नपारी शरीर र मनमस्तिष्कलाई स्वस्थ राख्ने केही उपाय यहाँ प्रस्तुत छन्।
स्वस्थ जीवनशैलीसम्बन्धी कार्यक्रममा जानुहोस्
'फिटनेट' कक्षाहरूको सदस्यता शुल्क निकै महँगो हुन सक्छ। त्यसैले अचेल मानिसहरूले आफैआफै निःशुल्क वा सस्तो किसिमका त्यस्ता कार्यक्रमहरू आयोजना गर्न थालेका छन्। यस्ता कार्यक्रमहरू प्रायः सामाजिक सञ्जालका स्थानीय समूहहरू र 'मीटअप' जस्ता प्ल्याटफर्ममार्फत् भेट्न सकिन्छ।
उदाहरणका लागि, योग प्रशिक्षक अनास्तासिया मिराला भ्स्काले लन्डनमा 'सन्डे रिसेट' नामक 'मीटअप' कार्यक्रम आयोजना गर्छिन्। उक्त समूहले प्रत्येक महिना फरकफरक सहरका पार्कमा भेटेर सँगै योग-ध्यान गर्छ। उनीहरू 'जूम'मार्फत् पनि त्यस्त किसिमका ध्यान तथा योग सत्रमा सहभागी हुन्छन्। केही सत्रका लागि दुई हजार रुपैयाँजति शुल्क लाग्छ भने केही निःशुल्क छन्।
"म मानिसहरूले सरल र पहुँचयोग्य तरिकाले [योग र ध्यानको] अनुभव गर्न सक्ने स्थान सिर्जना गर्न चाहन्थेँ," उनले बीबीसीसँग भनिन्।
मोडल एरिका कोरिआले लिभरपुलमा त्यस्तै काम गर्ने प्रयास गरिरहेकी छन्। उनले 'सफ्टी सन्डे' नामक नियमित भेटघाट कार्यक्रम सुरु गरेकी छन्, जहाँ मानिसहरू विशेष रूपमा तयार पारिएका 'वेलनेश'का कार्यक्रमको अनुभव गर्छन्।
त्यसको पछिल्लो सत्रमा 'पिलाटेस' कक्षा र त्यसपछि सौन्दर्यसम्बन्धी कार्यक्रम समावेश थियो। 'पिलाटेस' कक्षामा शरीरको मुद्रा र श्वाससम्बन्धी हलुका क्रियाकलापहरू गरिन्छ।
"'सफ्टी सन्डे'मा खर्चभन्दा उद्देश्यलाई प्राथमिकता दिइन्छ," उनले बीबीसीसँग भनिन्, "स्वस्थ जीवनशैली भनेको तपाईँले जीवनमा गर्ने निर्णयहरू र आफ्नो समयको सुरक्षा कसरी गर्नुहुन्छ भन्ने कुरासँग अधिक सम्बन्धित छ।"
यी कार्यक्रमहरूमा अहिलेलाई निम्तो पाएका मानिसहरूले मात्रै भाग लिन पाउँछन्। तर कोरिआ चाँडै नै थप मानिसहरूका लागि पनि खुला हुने आशा राख्छिन्।
'गार्डेनिङ' थाल्नुहोस् (बगैँचा नभए पनि)
बगैँचामा काम गर्नु शारीरिक र मानसिक स्वास्थ्यका लागि लाभदायक मानिन्छ। तर त्यसको अर्थ बोटबिरुवा तथा उपकरणमा हजारौँ रुपैयाँ खर्च गर्नुपर्छ भन्ने छैन।
'रोयल हर्टिकल्चरल सोसाइटी (आरएचएस) को अनुसन्धानले दिनहुँ बगैँचामा काम गर्ने मानिसहरूले उच्च स्तरको मानसिक सुख र कम तनाव अनुभव गर्ने गरेको देखाएको छ।
आफ्नै छैन भने सामुदायिक बगैँचा विकल्प हुन सक्छ। तपाईँ आफ्नो वरपरका सामुदायिक बगैँचाहरू खोज्न सक्नुहुन्छ। धेरैजसो बगैँचा व्यवस्थापकहरूले नि:शुल्क सेवा दिने स्वयंसेवकहरूलाई स्वागत गर्छन् र आवश्यक औजार तथा उपकरण पनि उपलब्ध गराउँछन्। यसले बाहिर निस्कन, नयाँ मानिसहरू भेट्न र नयाँ सीप सिक्न सजिलो बनाउँछ।
बगैँचासम्बन्धी गतिविधिमार्फत् मानिसहरूलाई सघाउँदै आएको परोपकारी संस्था 'थ्राइभ'का अनुसार सामुदायिक बगैँचा भनेको बोटबिरुवा हुर्काउने ठाउँ मात्रै होइन।
यसले "बगैँचाको काममा सामेल हुने र एउटा मिजासिलो सामाजिक समूहसँग जोडिने अवसर" प्रदान गर्ने उक्त संस्थाका 'प्रशिक्षण, शिक्षा तथा परामर्श' व्यवस्थापक डेमिन न्यूमन बताउँछन्।
"यसले शारीरिक, संज्ञानात्मक, सामाजिक, मनोवैज्ञानिक र भावनात्मक जस्ता हाम्रो समग्र स्वास्थ्यको सबै पाटोमा राम्रो प्रभाव पार्छ," उनले भने।
'पुरानो शैली'को कुनै सोख अपनाउनुहोस्
मानिसहरू शारीरिक र मानसिक स्वास्थ्य सुधार्ने किफायती उपायहरूको खोजीमा रहेकाले चराचुरुङ्गी अवलोकनदेखि बुनाइसम्मका कुनै समय पुराना मानिएका सोखहरू अचेल फेरि लोकप्रिय बन्दै गएका छन्।
उदाहरणका लागि, चराचुरुङ्गी अवलोकन गर्न स्थानीय पार्कसम्म पुग्न लाग्ने खर्चबाहेक खासै धेरै पैसाको खाँचो पर्दैन। यस्तो रुचि भएका मानिसका समूहहरू वेबसाइटमार्फत् सजिलै खोज्न सकिन्छ।
यसका फाइदा बाहिर समय बिताउनमा मात्र सीमित छैनन्। अनुसन्धानका अनुसार केवल ३० मिनेट चराचुरुङ्गी अवलोकन गर्दा पनि खुसी बढ्नुका साथै समग्र मानसिक तथा भावनात्मक पक्षमा सुधार ल्याउन र प्रकृतिसँग अझ गहिरो सम्बन्ध महसुस गर्न मद्दत पुग्न सक्छ।
बुनाइको काम पनि पुन: लोकप्रिय हुँदैछ र यो केही रुपियाँमै सुरु गर्न सकिन्छ। यो काम थाल्न बुनाई गर्ने सुई र र ऊनको डल्लो भए पुग्छ।
अनुसन्धानले यसलाई उत्तम मानसिक र भावनात्मक पक्षसँग जोडेको छ। मानिसहरूले बुनाइको कामले तनाव, शोक, दीर्घरोग र जीवनका अन्य चुनौतीको सामना गर्न मद्दत गरेको बताएका छन्।
बाहिर निस्केर शारीरिक गतिविधि गर्नुहोस्
व्यायाम गर्न जिम नै जानुपर्छ भन्ने छैन। तौल उठाउने व्यायामदेखि बाहिरी वातावरणमा योग, दौड वा हिँडडुल गर्नेसम्मका कम खर्चमै शारीरिक रूपमा सक्रिय रहने थुप्रै विकल्प छन्।
'क्यालिस्थेनिक्स' भनेर पनि चिनिने 'बडीवेट ट्रेनिङ'मा आफ्नै शरीरको तौल प्रयोग गरेर 'पुस-अप', 'स्क्वाट' र 'पुल-अप'जस्ता व्यायाम गरिन्छ। यसका लागि धेरै वा कुनै विशेष उपकरण आवश्यक नपर्ने भएकाले घर वा नजिकैको पार्कमै अभ्यास गर्न सकिन्छ। नियमित अभ्यासले शक्ति, लचकता र शरीरको तालमेल सुधार्न मद्दत गर्छ।
दौड पनि पछिल्लो समय निकै लोकप्रिय बन्दै गएको छ।
'अनलाइन साउन्ड ब्याथ'मार्फत् मनलाई शान्त बनाउनुहोस्
'साउन्ड ब्याथ' पछिल्ला दिनहरूमा निकै लोकप्रिय छ।
यसमा प्रशिक्षकले क्रिस्टल वा तिब्बती साउन्ड बाउल, गङ र घण्टीजस्ता कम्पनयुक्त वाद्ययन्त्रहरू मधुर तरिकाले बजाउँछन्। यसले मनलाई शान्त पार्न, शरीरलाई आराम दिन र कम्पनमार्फत् ध्यानको अवस्थामा पुग्न मद्दत गर्न सक्छ।
यद्यपि यसका प्रत्यक्ष सत्रहरू महँगा हुन सक्छन् र सबै ठाउँमा सहजै उपलब्ध नहुन पनि सक्छन्।
त्यसैले सस्तो विकल्पका रूपमा यूट्यूब र स्पटिफाईजस्ता प्ल्याटफर्ममा 'साउन्ड ब्याथ'का रेकर्डिङ खोजेर घरमै पनि त्यस्तै अनुभव लिन सकिन्छ। केही ध्यानसम्बन्धी एपमा पनि यस्ता विभिन्न ध्वनि उपलब्ध हुन्छन्, यद्यपि केही एपका लागि सदस्यता शुल्क तिर्नुपर्ने हुन सक्छ।
'ब्रिटिश एकेडेमी अफ साउन्ड थेरपी'की संस्थापक लीज कूपरले बीबीसीसँगको कुराकानीमा अनलाइनमा उपलब्ध रेकर्डिङको गुणस्तरमा भिन्नता हुन सक्ने तर राम्रा रेकर्डिङ पनि प्रशस्त पाइने बताइन्। उनका अनुसार अनुभवी प्रशिक्षक वा प्रतिष्ठित संस्थाहरूले तयार गरेका रेकर्डिङ रोज्नु उपयुक्त हुन्छ।
"यदि तपाईँ कान छोपिने हेडफोन लगाएर, आँखा बन्द गरी आरामसँग पल्टिएर र कसैले बाधा नपुर्याउने शान्त ठाउँमा बसेर सुन्नुहुन्छ भने यसबाट प्राप्त हुने उपचारात्मक लाभ सम्भावित रूपमा निकै प्रभावकारी हुन सक्छ," उनले भनिन्।
"अन्ततः सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आफूले सहज रूपमा अपनाउन र नियमित रूपमा अभ्यास गर्न सक्ने विधि पत्ता लगाउनु हो।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।