जोखिम लिने मनोविज्ञान : तपाईँ हाताहाती ५० हजार डलर रोज्नुहुन्छ की 'टस' जितेर पाउन सक्ने १० लाख?

    • Author, लिजी म्याक्नील र टम कल्ज
    • Role, मोर अर लेस, बीबीसी पडकास्ट एन्ड सिरिज
  • Published
  • पढ्ने समय: ५ मिनेट

तपाईँलाई हाताहाती ५० हजार अमेरिकी डलर पाउने वा १० लाख डलर जित्ने आधा-आधा सम्भावनामध्ये एउटा विकल्प रोज्ने मौका दिइयो भने कुन रोज्नुहुन्छ?

यही प्रश्न अन्तर्राष्ट्रिय स्तरमा अनुसन्धान तथा तथ्याङ्क विश्लेषण गर्ने एउटा संस्थाले हालै ब्रिटेनका ४,६०० जना वयस्कहरूलाई सोध्यो।

नतिजा के आयो होला?

करिब तीन-चौथाइ अर्थात् ७३ प्रतिशत मानिसहरूले आफूले तत्काल ५०,००० डलर लिने विकल्प रोज्ने बताए।

पाँच जनामध्ये एकजना भन्दा केही बढी अर्थात् २१ प्रतिशतले १० लाख डलर जित्ने आधा सम्भावनाको विकल्प रोजे। बाँकी ६ प्रतिशतले के गर्ने भनेर निर्णय नै गर्न सकेनन्।

उक्त सर्वेक्षणमा लिङ्गका आधारमा स्पष्ट विभाजन देखियो। जोखिम नलिईकन ५० हजार पाउने विकल्प रोज्ने ८२ प्रतिशत महिला थिए भने ६३ प्रतिशत पुरुष देखिए।

सुरुमा यो सर्वेक्षण यूकेमा मात्र गरिएको थियो। यसको नतिजाले सामाजिक सञ्जालमा व्यापक बहस निम्त्यायो।

"ब्रिटेन सायद पृथ्वीकै सबैभन्दा जोखिम मोल्न नचाहने समाज हुनुपर्छ," एक टिप्पणीकर्ताको भनाई थियो। अर्का एकजनाले आफ्नो निर्णय सुनाए, "यूकेको समस्या नै यही त हो!"

तर के उनीहरूको बुझाई सही हो त? के ब्रिटिशहरू र पहिलो विकल्प रोज्ने जो कोही पनि जोखिमबाट डराउने मानिस हुन्?

हात लागेको कुरा….

यो धारणालाई चुनौती दिनेमध्येका एक बीबीसीका अर्थशास्त्र सम्पादक फैसल इस्लाम पनि छन्। यो प्रश्नलाई केवल सम्भाव्यताको दृष्टिकोणबाट मात्र हेर्नु अति साँघुरो बुझाई हुनसक्ने इस्लाम बताउँछन्।

"सिक्का टस गर्ने विकल्प रोज्नेहरू आफूलाई निकै चतुर ठान्छन् र उनीहरू ५०,००० डलर स्वीकार गर्नुलाई मूर्खता ठान्छन्। तर विडम्बना यो अर्थशास्त्रको आधारभूत कुरा हो। यसलाई हामी 'व्यवहारवादी अर्थशास्त्र' मा 'निर्णय सिद्धान्त' भन्छौँ।"

उनका अनुसार हाम्रो दिमागले सम्भाव्यतालाई नतिजाले गुणा गरेर निकालिने 'अपेक्षित मूल्य' मात्रै हिसाब गर्दैन वा हामीले त्यस आधारमा मात्रै निर्णय लिँदैनौँ।

इस्लाम १८औँ शताब्दीका स्वीस गणितज्ञ ड्यानियल बर्नूलीले तीन शताब्दीअघि विकास गरेको एउटा मौलिक अवधारणका आधारमा यसलाई हेर्न सकिने बताउँछन्।

जुन अवधारणा अनुसार मानिसहरूले पैसाको मूल्याङ्कन विशुद्ध गणितीय तरिकाले मात्रै गर्दैनन्।

छोटकरीमा कुनै कुराको मौद्रिक मूल्य र त्यो मुद्राको व्यक्तिगत मूल्य हरेक मानिसका हकमा एउटै हुँदैन।

बर्नूलीको कार्यले घट्दो 'मार्जिनल युटिलिटी'को अवधारणाको जग बसाल्न मद्दत गर्‍यो।

यस अवधारणा अनुसार मानिसले कुनै वस्तु जति धेरै प्राप्त गर्दै जान्छ मानिसले त्यसबाट पाउने फाइदा वा सन्तुष्टि हरेक थप एकाइसँगै घट्दै जान्छ।

यसलाई उदाहरणका रूपमा यसरी बुझौँ:

  • शून्य अवस्थाबाट ५०,००० डलरसम्म पाउँदा तपाईँको जीवन नाटकीय रूपमा बदलिन सक्छ।
  • अनि ५०,००० डलरबाट थपिएर १,००,००० डलरसम्म पाउँदा थप सहयोग भए पनि खास नलाग्न सक्छ।
  • तर ९,५०,००० डलर बाट थपिएर १० लाख डलर पुग्दा त्यसले तपाईँको स्थितिमा खासै ठूलो फरक नपर्न सक्छ।

यो पृष्ठभूमिमा धेरै ब्रिटिशहरूले भोगिरहेको अहिलेको आर्थिक दबावको अवस्थामा ५०,००० डलर पक्का गरी पाउनु निकै आकर्षक कुरा हो।

खासमा यो यूकेमा पूरा समय काम गर्ने मानिसहरूको औसत वार्षिक तलबभन्दा १०,००० डलर बढी हो।

तर मानिसहरूलाई जोखिम नलिईकन ५०,००० डलर नै रोज्न प्रेरित गरिरहेको तत्त्व यो मात्र होइन। अर्को महत्त्वपूर्ण कुरा 'प्रोस्पेक्ट थ्योरी' पनि हो।

गुम्ने डर

ड्यानियल कानेमन र आमोस ट्वर्स्कीको सन् १९७९ को एक ऐतिहासिक अनुसन्धानबाट 'प्रोस्पेक्ट थ्योरी' अगाडी आएको हो। यसलाई व्यवहारवादी अर्थशास्त्रको जग मानिन्छ।

मानिसहरूले विभिन्न आर्थिक नतिजाहरूबीच कसरी छनोट गर्छन् भन्ने विषयमा गरिएका विस्तृत नियन्त्रित सर्वेक्षणहरूमा आधारित भएर यी दुई जना खोजकर्ताले मानिसहरूले जोखिम र पुरस्कारको मूल्याङ्कन कसरी गर्छन् भन्नेबारे धेरै प्रभावशाली निष्कर्षहरू निकाले।

एउटा निष्कर्ष अनुसार मानिसहरू साना सम्भाव्यताहरूलाई धेरै महत्त्व दिन्छन् र मध्यम तथा ठूला सम्भाव्यताहरूलाई कम महत्त्व दिन्छन्।

मानिसहरूले पैसा र जोखिमबारे निर्णयहरू एउटा बिन्दुलाई आधार बनाएर लिन्छन्।

उदाहरणका लागि तपाईँले साथीसँगको बाजीमा १० डलर हार्नुभयो भने गुमेको १० डलर फिर्ता ल्याउने लोभमा अर्को १० डलर बाजी राख्न तयार हुनुहुन्छ। तर तपाईँ सुरुमै २० डलर बाजी राख्न तयार हुनुहुन्न।

अर्को शब्दमा, तपाईँ कुनै वस्तुगत रूपमा सोचिरहनुभएको हुँदैन। तपाईँ आफ्नो सन्दर्भको आधार बिन्दुबाट सोचिरहनु भएको हुन्छ।

उक्त अध्ययनको चर्चित निष्कर्ष छ: "नाफाभन्दा घाटाको आकार ठूलो देखिन्छ।"

हामीले निश्चित रकम गुमाउँदा महसुस गर्ने असन्तुष्टि सोही रकम कमाउँदा हुने खुसीभन्दा बढी हुन्छ। मानिसहरू आफूसँग पहिले नै रहेका कुराहरू गुमाउनबाट जोगिन उच्च मूल्य चुकाउन पनि तयार हुन्छन्।

यदि तपाईँले १० लाख डलर जित्ने मौका रोज्नुभयो र जित्नुभएन भने तपाईँलाई हातैमा आएको ५०,००० डलर पनि गुमाएजस्तो महसुस हुन्छ।

धेरै मानिसहरूका लागि त्यो धेरै ठूलो रकम हो। यूकेमा घर र पेन्सनको रकमलाई अलग राखेर हेर्दा २५ प्रतिशत ब्रिटिशहरूसँग मात्रै ५०,००० डलर वा त्यसभन्दा बढी नगद सम्पत्ति छ। अरू २५ प्रतिशत मानिसहरूसँग ३०० डलर भन्दा कम सम्पत्ति छ।

औसतमा कमाइ कम भए पनि १८ देखि २४ वर्ष उमेर समूहका युवाहरू सर्वेक्षणका क्रममा अन्य उमेर समूहको तुलनामा १० लाख डलरका लागि बाजी लगाउन बढी तयार थिए।

यस्तो जोखिम लिन तयार हुने ६५ वर्षभन्दा माथिको उमेरका मानिसहरू मात्र ११ प्रतिशत थिए भने १८ देखि २४ वर्षका २८ प्रतिशत थिए।

अनलाइनमा जारी बहसमा लिङ्ग र उमेरसँगै सांस्कृतिक पृष्ठभूमिले पनि यस्तो निर्णय लिने कुरामा भूमिका खेल्न सक्ने धारणाहरू आइरहेका छन्।

अनलाइन बहसमा सामेल भएका केही अमेरिकीहरूले अन्य राष्ट्रियताका मानिसहरू बढी जोखिम मोल्न तयार हुने बताए थिए।

यूकेमा सर्वेक्षण गरेको त्यही संस्थाले अमेरिकामा पनि यही प्रश्न सोध्नु उपयुक्त ठान्यो र त्यहाँ पनि सर्वेक्षण गर्‍यो। तर अमेरिकाको नतिजा पनि करिब यूकेकै जस्तो आयो।

यो लेख बीबीसीको 'मोर अर लेस' शृङ्खलामा आधारित छ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।