नेपालभर वर्षा, हवाई उडानदेखि सडक मार्गसम्म अवरोध

तस्बिर स्रोत, RSS
केही दिनदेखि भइरहेको भारी वर्षा देशको मध्य भागमा कम हुँदै सुदूरपश्चिम र कर्णालीतर्फ अघि बढेको मौसमविद् र अधिकारीहरूले बताएका छन्।
खराब मौसमका कारण आन्तरिक र बाह्य उडानहरू प्रभावित हुनुका साथै केही राजमार्गहरू पनि अवरुद्ध भएको अधिकारीहरूले बताएका छन्।
प्रहरीका अनुसार आँपचौरमा खसेको पहिरोका कारण हेटौँडा हुँदै काठमाण्डू प्रवेश गर्ने कान्ति लोकपथ अवरुद्ध भएको छ।
अधिकारीहरूले बाढी र पहिरोको जोखिम भएका स्थानमा सडकमार्ग भएर यात्रा गर्ने व्यक्तिहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।
कस्तो छ अबको मौसम पूर्वानुमान

तस्बिर स्रोत, RSS
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गका अनुसार बाग्मती, गण्डकी र लुम्बिनी क्षेत्रमा केन्द्रित भएको वर्षा आइतवार रातीबाट सुदूरपश्चिमतर्फ सर्ने पूर्वानुमान छ। “आज (आइतवार) बेलुका पनि मौसमी वर्षा नेपालभर सक्रिय रहन्छ। तर धेरै वर्षा पश्चिमतिर र सुदूरपश्चिम तर्फ केन्द्रित हुने देखिन्छ,” प्रधानाङ्गले भने।
महाशाखाका अनुसार पछिल्लो २४ घण्टा सबैभन्दा धेरै बर्दियामा २१५ मिलिमिटर वर्षा भएको छ। काठमाण्डू उपत्यकामा औसत वर्षा ५० मिलिमिटर छ।
पछिल्लो समय बर्दिया सहित लमजुङ, मकवानपुर र सिन्धुलीका केही क्षेत्रमा अति भारी वर्षा भएको महाशाखाले जनाएको छ।

तस्बिर स्रोत, Krishnamani Baral
महाशाखाले आइतवार राति देशभर पूर्णतया बदली रहने भन्दै देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको उसको भनाइ छ।
साथै, सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले अनुमान गरेको छ।
महाशाखाले मनसुनको न्यून चापीय रेखा नेपालको पहाडी भू-भागको नजिक अवस्थित रहेको जनाउँदै बङ्गालको खाडीबाट आइरहेको जलवास्पयुक्त हावाका कारण अहिलेको मौसमी अवस्था देखा परेको जनाएको छ।
उसले प्रकाशित गरेको बुलेटिन अनुसार सोमबार हल्का, मध्यम र केही स्थानमा भारी वर्षाको सम्भावना छ।
मङ्गलवार पनि आंशिकदेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाले सोमवार कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा वर्षा हुने पूर्वानुमान गरेको छ। महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका “एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।”
“सोमवार अपराह्नबाट यो कम भएर जाने देखिन्छ,” मौसमविद् प्रधानाङ्गले भने।

तस्बिर स्रोत, RSS
महाशाखाले बाँकेको मानखोला तटीय क्षेत्र र दाङको बबई नदी तटीय क्षेत्र तथा दुवै स्थानका डुबान भइरहने होचा भू-भागहरूमा सोमवार बिहान सम्म उच्च सतर्कता अपनाउन सचेत गराएको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बबई नदीको चेपाङ र भदा केन्द्रमा पानीको सतह सतर्कताको तह नजिक रहेको जनाएको छ।
विभागले सुर्खेत, दैलेख, अछाम, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर आसपास भई बग्ने केही साना नदीहरूमा पनि आकस्मिक बाढीको जोखिम रहेको भन्दै नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल गरेको छ।
११ ठाउँमा पहिरो

तस्बिर स्रोत, RSS
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार उच्च वर्षाका कारण गयराती ११ स्थानमा पहिरो गएको छ। थप विवरणहरू सङ्कलन भइरहेको प्राधिकरणले जनाएको छ।
“विशेष गरी सिन्धुली, बर्दिया जस्ता अति भारी वर्षा भएका क्षेत्रमा नदी किनारमा बस्नेहरू सचेत रहेर सावधानी अपनाउनुपर्छ,” प्रवक्ता ध्रुव बहादुर खड्काले भने।
तराईमा केही समयको खडेरी पछि वर्षा भएका कारण विगतका वर्षहरूमा जस्तो डुबानको समस्या नहुने प्राधिकरणको अनुमान छ।
“खोज तथा उद्धारका लागि जनशक्ति तयारी अवस्थामा राख्ने र अवरुद्ध हुनसक्ने सडक र राजमार्गहरू खुलाउन डोजर र एक्स्काभेटर जस्ता उपकरणहरू तयारी अवस्थामा राख्ने कामहरू भएका छन्,” उनले भने।
आन्तरिक र बाह्य उडान प्रभावित

तस्बिर स्रोत, Krishnamani Baral
भारी वर्षाका कारण आइतवार बिहान आन्तरिक र बाह्य उडानहरू समेत प्रभावित भएका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष झाका अनुसार मौसम खराब भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसक्ने अवस्था भएपछि एअर चाइनाको विमान छेङ्दु गएको थियो। एअर इण्डियाको विमान बनारसतर्फ गएर मौसममा केही सुधार आएपछि काठमाण्डूमा अवतरण गरेको उनले बताए।
उनी भन्छन्, “हाम्रो विमानस्थल नै बन्द भएको होइन। तर भारी वर्षा भएका कारण केही समय कतिपय विमानहरूले अर्कोतर्फ जानुपर्यो।”
प्रवक्ता झाका अनुसार खराब मौसमका कारण काठमाण्डू पोखरा उडान शनिवारबाट नै प्रभावित भएको छ।। “आज अपरान्हसम्ममा बुद्ध एअरका पाँच वटा उडान रद्द भएका छन्। पोखराका लागि अन्य वायुसेवाका उडान भएका छैनन्।”
उनले सोलुखुम्बुको लुक्लाका लागि तय भएका उडानहरू पनि रद्द भएका बताए। खराब मौसमका काठमाण्डू-भरतपुर उडान पनि प्रभावित भएको थियो। अपराह्न भरतपुरबाट भएको एउटा उडानमा प्रधानमन्त्री प्रचण्ड राजधानी फर्किएको झाले सुनाए।
प्रवक्ता झाका अनुसार आइतवार सुर्खेत विमानस्थलबाट हुने सबै उडानहरू रद्द भएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















