स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार, 'गम्भीर अवस्थामा' उपचार हुँदै

तस्बिर स्रोत, REUTERS/Radovan Stoklasa
युरोपेली मुलुक स्लोभाकियाका प्रधानमन्त्री रोबेर्टो फीट्सोमाथि गोली चलाइँदा उनी घाइते भएका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
'गम्भीर अवस्था'मा उनको उपचार भइरहेको विवरणहरूमा जनाइएको छ। हमलालाई कतिपयले हत्या प्रयास भनिरहेका छन्।
ह्यान्डलोभा शहरस्थित एउटा सामुदायिक सांस्कृतिक केन्द्रअगाडि उपस्थित मानिसहरूलाई अभिवादन गर्दै गर्दा फीट्सोमाथि गोली प्रहार गरिएको थियो।
विवरणहरूमा जनाइएअनुसार उक्त सांस्कृतिक केन्द्रमा एउटा सरकारी बैठक भएको थियो।
हमलाकारी पक्राउ
सुरक्षाकर्मीहरूले फीट्सोलाई नजिकै रहेको एउटा कारभित्र लग्नुअघि थुप्रै राउन्ड गोली चलेका आवाज सुनिएको थियो।
घटनामा घाइते भएका प्रधानमन्त्रीलाई अस्पताल पुर्याइएको छ भने आरोपित हमलाकारीलाई प्रहरीले पक्राउ गरेका छन्।
ह्यान्डलोभा स्लोभाक राजधानीदेखि करिब १८० किलोमिटर उत्तर-पूर्वमा पर्छ।
एकजना प्रत्यक्षदर्शीले आफूले तीन/चार राउन्ड गोलीको आवाज सुनेको र प्रधानमन्त्री फीट्सो ढलेको देखेको डेनिक एन वेबसाइटलाई बताइन्।
विवरणहरूमा जनाइएअनुसार फीट्सोको पाखुरा, पेट र खुट्टामा गोली लागेको छ।

तस्बिर स्रोत, Reuters
उनका अनुसार प्रधानमन्त्रीको टाउको र छातीमा गोली लागेको देखिएको थियो।
प्रधानमन्त्रीका सुरक्षाकर्मीमध्ये तीन जनाले उनको उद्धार गरी कारभित्र लगेका थिए।
घटनालगत्तै प्रधानमन्त्री फीट्सोलाई हेलिकप्टरमार्फत् उद्धार गरी नजिकैको अस्पतालमा पुर्याइएको थियो र पछि ह्यान्डलोभा शहरदेखि पूर्वमा पर्ने बान्स्का बिस्ट्रिस्टास्थित अर्को अस्पतालमा सारियो।
विश्व नेताहरूद्वारा निन्दा
प्रधानमन्त्रीमाथि गरिएको हमलाको विश्व नेताहरूले निन्दा गर्ने क्रम जारी छ।
युरोपेली आयोगली प्रमुखले फीट्सोमाथि गरिएको हमलालाई "घृणित कार्य" भनेकी छन्।
ब्रिटिश प्रधानमन्त्री ऋषि सुनकले हमलाको खबर सुनेर आफू "स्तब्ध" भएको बताएका छन्।
हङ्गेरीका प्रधानमन्त्रीले आफ्ना मित्र प्रधानमन्त्री फीट्सोमाथि हमला गरिएको खबरबाट "गम्भीर रूपमा स्तब्ध" भएको प्रतिक्रिया दिएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















