इन्डोनेशियामा ७.७ म्याग्निट्यूडको भूकम्प, अहिलेसम्म त्यसको असरबारे के-के थाहा छ?

    • Author, फरिदा सुसान्ती
    • Role, बीबीसी इन्डोनेशिया
    • Author, हेलेन सुलिभान
  • Published
  • पढ्ने समय: ३ मिनेट

इन्डोनेशियामा शनिवार बिहान गएको ७.७ म्याग्निट्यूडको भूकम्पमा परी कम्तीमा ३८ जनाको मृत्यु भएको त्यहाँको विपद् व्यवस्थापन निकायले जनाएको छ।

खोज तथा उद्धार कार्य जारी रहेकाले हाल प्राप्त विवरण प्रारम्भिक मात्र भएको बताउँदै विपद् व्यवस्थापन निकाय बीपीबीडीले अन्य व्यक्तिहरू पनि विभिन्न स्तरमा घाइते भएको जनाएको छ।

भूकम्प र त्यसपछि आएका दर्जनौँ परकम्पका कारण क्षतिग्रस्त भवनहरूमा फसेकाहरूको उद्धारमा टोलीहरू खटिएका छन्।

सुरुमा सुनामीको चेतावनी जारी गरिएको भए तापनि मुख्य धक्का महसुस भएको करिब तीन घण्टापछि त्यस्तो सूचना हटाइएको थियो।

इन्डोनेशियाको मौसम तथा जियोफिजिक्स सम्बन्धी निकायका अनुसार शनिवार स्थानीय समयअनुसार बिहान ५ बजेभन्दा केही अघि फ्लोरेस टापुमा उक्त भूकम्प गएको थियो।

केन्द्रविन्दू : १५ किलोमिटर तल

यसको केन्द्रबिन्दु १५ किलोमिटरको गहिराइमा रहेको थियो।

भूकम्पको केन्द्रबिन्दु जति कम गहिराइमा हुन्छ, सतहमा पर्ने असर त्यति नै विनाशकारी हुने गर्छ।

सोही क्षेत्रमा शक्तिशाली परकम्पहरू महसुस गरिएका छन्। तीमध्ये एउटा ६.१ म्याग्निट्यूडको थियो।

माउमेरेको बन्दरगाहमा खिचिएको भिडियोमा त्यहाँको एक टर्मिनल भवनबाट कङ्क्रिटको ठूलो हिस्सा खसेर टापुहरूबीच चल्ने फेरी चढ्न पर्खिरहेका यात्रुहरूमाथि परेको देखिन्छ।

उक्त पानीजहाजमा चढ्ने बाटो भत्किँदा केही मानिसहरू समुद्रमा खसेको देखिएको छ।

पूर्वी नुसा तेन्गारा प्रान्तका गभर्नर इमानुअल मेल्किआडेस लाका लेनाले एक पत्रकार सम्मेलनमा बताए अनुसार सुतिरहेको अवस्थामा भत्किएका संरचनामा परेर मानिसहरूको मृत्यु भएको छ।

सुनामीको चेतावनी जारी गरिँदा व्यापक रूपमा मानिसहरू मोटरसाइकलमा चढेर सुरक्षित स्थानतर्फ गइरहेको देखिन्थ्यो।

असर कहाँ, कस्तो?

विपद् व्यवस्थापन निकायका अनुसार करिब २,००० मानिसहरूले स्वयं सुरक्षित स्थानमा सरेका छन्।

तर प्रभावित क्षेत्र दुर्गम र पहाडी भएकाले यस भेगमा भएको क्षतिको पूर्ण विवरण थाहा पाउन केही समय लाग्नेछ।

बीएपीबीले मानिसहरूलाई संयमित रहन र तटीय क्षेत्रबाट टाढा बस्न सुझाएको छ।

"स्थानीय बासिन्दाहरू भवनभित्र प्रवेश गर्नु हुँदैन, खास गरी चर्किएका वा संरचनामा क्षति पुगेका भवनहरूमा," बीएनपिबीले भनेको छ।

"हताहत हुनेहरूको सङ्ख्या र क्षतिको तह थाहा पाउन अहिले द्रुत गतिमा मूल्याङ्कनको काम भइरहेको छ। तथ्याङ्कको पुष्टि भएपछि हामी त्यो जानकारी उपलब्ध गराउनेछौँ।"

नागेकेओमा करिब २,००० बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने धेरै भवनहरूमा क्षति पुगेको खबर छ।

निद्रामाझ 'निकै शक्तिशाली कम्पन'

पूर्वी नुसा तेन्गाराको सिक्कास्थित तालिबुरा गाउँमा बस्ने आर्नोल्ड वेलियान्टोले "निकै शक्तिशाली कम्पन" महसुस हुँदा आफू निदाइरहेको सुनाए।

"म झस्किएर ब्युँझिएँ र तुरुन्तै आफ्ना छोराछोरीको कोठातिर गएँ," उनले भने।

"हामी बाहिर निस्कँदा, समुद्री किनारनजिकै रहेको हाम्रो टोलका बासिन्दाहरू घर छोडेर पहाडतिर भागिसकेका वा सडकमा जम्मा भइसकेका थिए; समुद्रको पानी पछाडि हटेकाले कोही-कोही भने सडकछेउमा उभिएका थिए।"

उनले थपे: "पानी लामो समयसम्म कम सतहमा रह्यो, त्यसैले सबै जना आत्तिएर भागे, म सामुदायिक स्वास्थ्य केन्द्रतिर गएँ। तर त्यहाँका मानिसहरूलाई पहिल्यै सुरक्षित स्थानमा सारिसकिएको थियो।"

वेलियान्टोले बताएअनुसार लगातार परकम्पहरू आइरहँदा धेरै बासिन्दाहरू घर फर्कन डराएकाले बाहिरै बस्ने निर्णयमा छन्।

इन्डोनेशिया तीनवटा प्रमुख टेक्टोनिक प्लेटहरूको मिलनबिन्दुमा अवस्थित भएकाले यहाँ भूकम्प र ज्वालामुखीका गतिविधिहरूको उच्च जोखिम रहन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।