असन्तुष्ट कांग्रेसहरूको भेलाबाट 'अघि सरे' देउवा, अदालतको आशामा 'एकता टरेको' सङ्केत

इतर समूहको भेलामा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा

तस्बिर स्रोत, RSS

    • Author, शरद केसी
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ४ मिनेट

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले महिनौँको विदेश बसाइपछि काठमाण्डू फर्किएकै दिन बिहीवार जारी गरेको वक्तव्यमा भनेका थिए, "म नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु- विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर।"

उनले शुक्रवार पार्टीभित्रको असन्तुष्ट पक्षको भेलालाई सम्बोधन गर्दै जुनसुकै भूमिका निर्वाह गर्न तयार रहेको बताएका छन्।

"मुलुकको यो विषय परिस्थितिमा राष्ट्रियता, लोकतन्त्र र जनताको हितका लागि जुनसुकै भूमिका निर्वाह गर्न आफूलाई तयार राखेको छु," उनले भने, "म बृहत्तर राष्ट्रिय सहमति खोजी संविधानप्रदत्त प्रक्रिया र व्यवस्थाका आधारमा निकास दिन पहल गर्ने छु।"

त्यसका निम्ति उनले आफूलाई "राष्ट्रिय एवम् लोकतान्त्रिक शक्तिहरूको बृहत् संवाद गरी राष्ट्रिय सहमतिका साथ अघि बढ्न दृढ सङ्कल्पित" रूपमा प्रस्तुत गरेका छन्।

पार्टीभित्र देखिएको आन्तरिक असहमति र कित्ताकाटमा 'असन्तुष्ट' पक्षमा खुलेका देउवाले आफूलाई विस्थापित गरेको विशेष महाधिवेशनबाट विधि, विधान र पद्धति मिच्ने काम भएको ठहर सुनाए।

असन्तुष्टहरूको आड र आशा अदालतप्रति?

शेखर कोइराला

तस्बिर स्रोत, RSS

उनले विशेष महाधिवेशनको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा फेरि ब्युँतिएकाले त्यसबारे थप टिप्पणी गर्न नचाहेको बताए। "तर सर्वोच्च अदालतबाट हामीलाई न्याय हुने छ भन्नेमा म विश्वस्त छु," देउवाले बताए।

यति भने पनि उनले एकताको खाँचोमा जोड दिएका छन्। उनको भनाइ छ, "अहिले देखिएको असहमतिलाई सबै साथीहरूको न्याय हुने, सबैको भावनाको कदर हुने बृहत्तर एकतामा बदल्नुपर्छ।"

धेरैलाई चासो छ, के देउवाले त्यसका निम्ति अग्रसरता लेलान्?

तर उनीसँग निकटस्थ नेताहरूको अभिव्यक्तिले असन्तुष्ट पक्ष अदालतको अन्तिम निर्णय हुँदासम्म पर्खिने मनस्थितिमा रहेको देखिन्छ।

"अब जुन साथीले जे कुरा भने पनि पुनरवलोकनको अन्तिम टुङ्गो नलग्दासम्म एकता हुन असाध्यै गाह्रो छ," नेता एनपी साउदले भने, "त्यसको निर्क्योल भइसकेपछि मात्रै पार्टी एकताको राजनीतिक निर्णय हुन्छ।"

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पनि मुद्दा पुनरवलोकन गर्ने अदालतको पछिल्लो निर्णयबाट आशा पलाएको धारणा राखेका छन्। उनले भने, "सर्वोच्च अदालतले गर्ने निर्णयबाट कांग्रेस पार्टीले न्याय पाउँछ भन्ने मलाई विश्वास छ।"

शशाङ्क कोइराला

तस्बिर स्रोत, RSS

अर्का नेता प्रकाशमान सिंहले पनि अदालतको निर्णयले १४ औँ महाधिवेशन[बाट निर्वाचित समिति]ले निरन्तरता पाउने बाटो खुला गरेको बुझाइ सुनाए।

"१४ औँ महाधिवेशन हुँदै १५ औँ महाधिवेशनमा जान, अगाडि बढ्न मार्ग प्रशस्त गरेको छ," नेता सिंहको बुझाइ छ।

"मध्यमार्गी" मानिने नेता डा. शेखर कोइरालाले पार्टी एकतामा जोड दिए। तर उनले भने, "सर्वोच्च अदालतले केही न केही न्याय दिन्छ र त्यससँगै कांग्रेसलाई एकढिक्का गरीकन अगाडि बढ्छौँ।"

नेतृत्वमा देउवाको खोजी

कृष्णप्रसाद सिटौला

तस्बिर स्रोत, RSS

असन्तुष्ट पक्षका कतिपय नेताहरूले अदालतको निर्णय आउनुअघि सहमति हुने सम्भावना पूरै अस्वीकार गरेका छैनन्।

देउवाले पनि भनेका छन्, "पार्टीभित्र अहिले देखिएको असहमतिलाई सबै साथीहरूको न्याय हुने, सबैको भावनाको कदर हुने गरी बृहत्तर एकतामा बदल्नुपर्छ। त्यसमा कोही पनि व्यक्तिकेन्द्रित हुनुहुँदैन। कांग्रेसको हितलाई नै एकताको आधार बनाउनुपर्छ।"

नेता विजयकुमार गच्छदारले उनलाई पार्टी नेताभन्दा माथि उठ्न आग्रह गरेका छन्। आफू पार्टी एकता चाहने व्यक्ति भएको र अहिलेको अवस्थामा द्विविधामा रहेको उनले सुनाए। अनि उनले "दूषित राजनीतिलाई दलदलबाट निकाल्न" देउवालाई आग्रह गरे, "शेरबहादुर दाइ, तपाईँ पार्टीभन्दा माथि उठ्नुपर्‍यो, देशका लागि समर्पित भएर टुङ्गो लगाउन चाहनुभयो भने सक्नुहुन्छ।"

नेता रमेश लेखकले १४ औँ र विशेष महाधिवेशनबाट निर्वाचित समितिलाई मिलाएर जाने यसअघिको प्रयास र छलफलअनुसार अघि बढ्नुपर्ने राय व्यक्त गरेका छन्।

तर संस्थापन पक्ष महाधिवेशन गर्ने जिम्मेवारीबाट पछि हट्न तयार भएमा सहमत हुन सक्ने 'कठोर' लाग्ने खालको सर्त असन्तुष्ट पक्षका कतिपय नेताहरूले अघि सारेका छन्।

नेता प्रकाशशरण महतले १४ औँ महाधिवेशनबाट निर्वाचित समितिमा दुवै पक्षको प्रतिनिधित्व रहेको बताउँदै त्यसैलाई १५ औँ महाधिवेशन गराउने जिम्मेवारी दिनुपर्ने धारणा राखेका छन्।

नेता विमलेन्द्र निधिको पनि भनाइ छ, "शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन सम्पन्न गर्नुपर्छ।"

देउवा सभापति हुन् कि होइनन्?

विमलेन्द्रनारायण निधि

तस्बिर स्रोत, RSS

नेता कान्छाराम तामाङले असन्तुष्ट पक्षको कार्यालयमा शेरबहादुर देउवाको कोठामा आफूले कसैलाई नसोधीकन सभापतिको बोर्ड राखिदिएको बताएका छन्।

अनि नेता विमलेन्द्र निधिले त देउवालाई 'पूर्व' वा 'निवर्तमान' सभापति नभन्न आग्रह नै गरे।

"आज पनि कांग्रेसको सभापति शेरबहादुर देउवा नै हुनुहुन्छ, अरू कोही होइन, यो सन्देश लिएर जानूस्," उनले भने, "त्यस कारणले कांग्रेसको सभापतिलाई निवर्तमान वा पूर्वसभापति भन्नुपर्दैन, नभन्नुहोला।"

भेला आयोजक समितिका संयोजक डा. शशाङ्क कोइराला, नेताहरू पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, प्रकाशशरण महत र एनपी साउदलगायतले देउवालाई 'सभापति' भनेरै सम्बोधन गरेका थिए।

तर देउवालाई सभापति भनेर सम्बोधन नगर्ने नेताहरू पनि थिए। देउवानिकट मानिने नेता रमेश लेखकले देउवालाई सभापति भनेर सम्बोधन गरेनन्। महालक्ष्मी उपाध्याय 'डिना'ले देउवालाई 'आदर्श र श्रद्धेय नेता' भनेर सम्बोधन गरिन्।

नेता गच्छदारले "हाम्रा नेता शेरबहादुर देउवाजी" र डा. शेखर कोइरालाले "आदरणीय नेता पूर्वप्रधानमन्त्री" भनेर सम्बोधन गरेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।