इज्जत जोगाउने सङ्घर्षमा आयोजक कतार

तस्बिर स्रोत, Getty Images
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
- Published
९२ वर्षको विश्वकप फुटबलको इतिहासमा आयोजक राष्ट्रले उद्घाटन खेल कहिल्यै हारेको थिएन। त्यो नमिठो इतिहास एक्वडोरसँग २-० ले हारेसँगै कतारले बनाइ सकेको छ।
एउटा सानो अरब देश, जसले दुई दशक लामो अवधिमा राष्ट्रिय टोलीलाई बलियो बनाउन विशाल धनराशि खर्च गर्यो र टोलीलाई विश्व वरियताको ५१ औँ स्थानसम्म पुर्यायो।
सन् २०१९ को एसियन कप जितेर टोलीले विश्वकपको आफ्नै मैदानमा राम्रो प्रदर्शन गर्ने आशा पनि दिलायो।
तर आइतबारको साँझ अल बैत रङ्गशालामा टोलीको सुरुआत निकै खराब अनि विवादास्पद बन्न पुग्यो।
कतारले खेल त हार्यो नै, समर्थकहरूलाई त्यो भन्दा ठूलो पीडा खेलाडीहरूको खराब प्रदर्शनमा रह्यो।
एक्वडोरले गरेको एउटा गोललाई भिडियो असिस्टेन्ट रेफ्री (भार) को मद्दतले अस्वीकार गरिएपछि त्यसको आलोचना पनि कतार माथि नै भइरहेको छ।
समूह ए मा कतारले अर्को हप्ता समूह चरणका बाँकी दुई खेल खेल्दै छ।
मङ्सिर ९ गते अफ्रिकी राष्ट्र सेनेगलसँग र मङ्सिर १३ गते युरोपेली प्रतिद्वन्द्वी नेदरल्याण्ड्ससँग।
र, कतिपय फुटबल विश्लेषकहरूले कतारको आगामी खेल झन् खराब हुने अनुमान गर्न थालिसकेका छन्।
‘नर्भस’ खेलाडी
खेलको कुल ९० मिनेटमा कतारले विपक्षी पोस्टमा एक पटक पनि धावा बोल्न सकेन।
जम्मा ५ प्रहार गर्न सक्यो, त्यसमा एउटा प्रहार पनि गोल लक्षित थिएन।
एक्वडोरले पनि विपक्षी पोस्टमा जम्मा ६ प्रहार मात्र गर्न सक्यो। खेलमा कुल जम्मा ११ वटा पोस्ट आक्रमणका साथ सन् १९६६ पछिको यो विश्वकपको सबैभन्दा निरस पूर्ण उद्घाटन खेल बन्यो।
इङ्ग्लिश प्रिमियर लिगका पूर्व खेलाडी डियन एस्टोनले कतारी खेलाडीहरूको प्रदर्शन विश्वकप स्तरको हुनै सकेन।
उनले भने, - "शायद कतारका जनताले उनीहरूबाट धेरै आशा गरेका थिए। त्यसैले खेलाडीहरू नर्भस देखिए।"

तस्बिर स्रोत, Getty Images
इङ्ग्ल्याण्डका पूर्व राष्ट्रिय खेलाडी एलन सियररको प्रतिक्रिया पनि त्यस्तै थियो।
उनले बीबीसी स्पोर्टसलाई भने -"पहिलो हाफ खराब थियो नै दोस्रो हाफ झन् खराब भयो।"
अस्ट्रेलियाका पूर्व खेलाडी क्रेग फोस्टरले लेखेका छन् - " कतारका खेलाडीहरूमा कुनै लक्ष्य नै देखिएन। "
यसरी सामाजिक सञ्जालहरूमा र फुटबल विश्लेषकहरूले कतारको खेलको आलोचना गरिरहेका छन्।
‘भार’को आलोचना
खेलको पाँच मिनेट नबित्दै एक्वडोरका स्ट्राइकर इनर भ्यालेन्सियाले आयोजक विरुद्ध हेडबाट पहिलो गोल गरे।
गोलका बेला उनी भन्दा अगाडि कतारका दुई रक्षक स्पष्ट रूपमा देखिन्थे। तर रेफ्रीले भिडिओ असिस्टेड रेफ्री 'भार' को मद्दतले उक्त गोललाई 'अफ साइड' दिए, जुन निर्णयको खूबै आलोचना भयो।
इनर भ्यालेन्सियाले विश्वकपमा पहिलो ह्याट्रिक गर्ने इतिहास कोरिनबाट पनि वञ्चित भएको उक्त निर्णयपछि इङ्ग्ल्याण्डका पूर्व खेलाडी एलन सियररले भने- "यस्तो निर्णय आगामी दिनहरूमा पनि देखिन थाल्यो भने यो महिना भित्रमा मेरो रक्तचाप बढ्ने निश्चित छ।"
एक्वडोर र कतारका समर्थकहरूबिच त रङ्गशाला भित्रै यो विषयमा भनाभन नै भयो। जब गोललाई अफसाइड करार गरियो एक जना एक्वडोरका समर्थकले कतारले पैसाको बलमा रेफ्री किनेको भन्दै इशारा गरे।
उनको यो क्रियाकलापबाट रुष्ट एक कतारी नागरिकले उनलाई चुप रहने इशारा गर्दै भनाभनमा उत्रिए।
खाली रङ्गशाला र संस्कृतिको प्रश्न
उद्घाटन खेल हेर्न अल बेत रङ्गशालामा ६७ हजार ३७२ दर्शक उपस्थित थिए, जहाँ अधिकांश कतारका नागरिक रहेका थिए।
तर दोस्रो हाफपछि रङ्गशालाका अधिकांश सिटहरू खाली देखियो।
पहिलो हाफमा खाएको दुई गोलले पछि परेपछि आयोजक राष्ट्रका कतिपय समर्थकहरूले दोस्रो हाफमा रङ्गशाला छोडिसकेका थिए।
कतारी दर्शकहरूमा विश्वकप हेर्न रहर भएको तर 'फुटबल संस्कार' नभएको कारण यस्तो हुन गएको विश्लेषकहरू बताउँछन्।
कतारका प्रशिक्षक फेलिक्स साञ्चेजलाई यो प्रश्न राख्दा उनले भने - "मलाई विश्वास छ , हामीले राम्रो खेल्नेछौँ र कतारका दर्शकहरूले अबका दिनमा अन्तिम समयसम्म टोलीलाई साथ दिनेछन्। "
तर प्रशिक्षक साञ्चेजलाई सजिलो भने छैन।
अफ्रिकन कप अफ नेसन्स च्याम्पियन सेनेगल र नेदरल्याण्डस् विरुद्धको खेलमा उनीहरूको उच्च स्तर देखिसकिएको छ।
लिगका बाँकी दुई खेलमा पनि पराजित भएमा कतारले लिगका सबै खेल हार्ने पहिलो आयोजकको अर्को कीर्तिमान रच्नेछ।
साथै सन् २०१४ को विश्वकप आयोजक दक्षिण अफ्रिका पछि लिग चरणबाटै बाहिरिने आयोजक बन्नेछ।
यस्तो कीर्तिमान बनाउनबाट जोगिन कतारले बाँकी दुई खेलमा निकै सुधारिएको खेल प्रदर्शन गर्न जरुरी देखिन्छ।




















