भारतको संसद् नजिकैबाट हजारौँ युवायुवतीले मोदी सरकारलाई दिएको चुनौती

तस्बिर स्रोत, Getty Images
- Author, प्रवीण
- Role, बीबीसी हिन्दी
- Published
- पढ्ने समय: ५ मिनेट
भारतको राजधानी दिल्लीको मध्यभाग सोमवार बिहानदेखि तनावग्रस्त रह्यो। कनट प्लेस, जनपथ र जन्तरमन्तरसहितका क्षेत्रमा जहाँ हेरे पनि हजारौँ युवाको घुँइचो मात्र देखिन्थ्यो।
धेरै स्थानमा मेट्रो स्टेशन र सडक बन्द थिए। तर ती युवाहरू सबै अवरोध छिचोल्दै बिहानदेखि नै जन्तरमन्तर पुग्ने प्रयासमा जुटेका थिए।
लाठी र अश्रुग्यासका शेल प्रहार हुँदाहुँदै पनि उनीहरू बेलुका अबेरसम्मै जन्तरमन्तरमा डटेर बसे।
भारतको शिक्षा प्रणालीमा सुधार र केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै दिल्लीको जन्तरमन्तरमा झन्डै एक महिनादेखि कक्रोच जनता पार्टी (सीजेपी) को नेतृत्वमा आन्दोलन चलिरहेको छ।
यसअघि एउटा प्रश्न बारम्बार उठ्ने गरेको थियो - सामाजिक सञ्जालमा केही दिनभित्रै करोडौँ फलोअर पाएको कक्रोच जनता पार्टी वास्तविक रूपमा चाहिँ कति बलियो छ?
सोमवार यो प्रश्नको उत्तर प्राप्त भयो। कलेज पढ्दै गरेका र परीक्षाको तयारीमा रहेका विद्यार्थीहरू पनि ठूलो सङ्ख्यामा सडकमा ओइरिए। आफूले उठाएका प्रश्नबारे सरकार लामो समयसम्म मौन बस्न नपाउने उनीहरूको धारणा छ।
विगत एक महिनादेखि यो आन्दोलन 'कभर' गरिरहेकी स्वतन्त्र पत्रकार स्मिता शर्माका अनुसार यी युवाहरूले केन्द्र सरकारलाई शिक्षा प्रणालीमा मात्र समस्या भएको नभई महँगी र बेरोजगारीजस्ता अन्य मुद्दाहरूलाई पनि बेवास्ता गर्न नहुने सन्देश दिएका छन्।
'युवाहरूले आफ्ना लागि मात्र आन्दोलन गरेका होइनन्'

तस्बिर स्रोत, EPA/Shutterstock
कक्रोच जनता पार्टीले केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै सोमवार संसद् भवनतिर मार्च गर्न आफ्ना समर्थकहरूलाई आह्वान गरेको थियो। त्यसकै लागि ठूलो सङ्ख्यामा युवाहरू दिल्लीका सडकमा भेला भए।
बिहान केही ठाउँमा तनाव भयो। पछि सीजेपीले सरकारले आफूहरूलाई वार्ताका लागि बोलाएको दाबी गर्यो।
यद्यपि केन्द्रीय मन्त्री जेपी नड्डाले वार्ताको प्रस्ताव प्रदर्शनकारीहरूले गरेको बताए।
नड्डाले सामाजिक सञ्जालको प्ल्याट्फर्म 'एक्स'मा सीजेपीका प्रतिनिधिहरूसँग भएको भेटघाटको तस्बिर पोस्ट गर्दै लेखे : "आज बिहान पहिलो पटक प्रदर्शनकारीहरूको तर्फबाट सरकारसँग वार्ता गर्ने प्रस्ताव आयो र बिहान ११:५० बजेदेखि नै हाम्रो वार्ता जारी छ।"
"सौहार्दपूर्ण वातावरणमा भेटघाट भयो। उनीहरूको प्रतिनिधिमण्डलसँग विस्तृत रूपमा पहिले मौखिक छलफल भयो र त्यसपछि झन्डै ४ बजेतिर उनीहरूले मलाई लिखित निवेदन दिए। मैले सबै प्रदर्शनकारीलाई धर्ना अन्त्य गर्न र अवस्थालाई सामान्य बनाउन प्रशासनलाई सहयोग गर्न अनुरोध गरेको छु।"
तर युवाहरू सम्मिलित यति ठूलो विरोधप्रदर्शनपछि पनि सरकारले सीजेपीले अघि सारेको मुख्य मागलाई अहिलेसम्म स्वीकार गरेको छैन। त्यसैले युवाहरू सडकमा ओर्लिँदा के उपलब्धि भयो त भन्ने प्रश्न उठेको छ।
हामीले युवा पिँढी सम्मिलित आन्दोलनलाई नजिकबाट नियाल्दै आएका पत्रकार र विज्ञहरूसँग कुरा गरेर यो प्रश्नको उत्तर खोज्ने प्रयास गरेका छौँ।
यो आन्दोलनको पक्षमा उभिएका सामाजिक कार्यकर्ता योगेन्द्र यादवले सोमवार भने, "आज जन्तरमन्तरमा मैले जुन नयाँ पुस्तालाई देखेँ, त्यसबाट त्यसले मेरो विश्वास अझ बलियो भएको छ। यी युवाहरूले आफ्ना लागि मात्र सङ्घर्ष गरिरहेका हैनन्। उनीहरू त न्यायपूर्ण शिक्षा प्रणालीका लागि, रोजगारी दिने अर्थव्यवस्थाका लागि अनि जनताप्रति उत्तरदायी राजनीतिका लागि सङ्घर्ष गर्दै छन्।"
खतराको घण्टी?

तस्बिर स्रोत, Getty Images
पत्रकार स्मिता शर्माका अनुसार सोमवारको विरोधप्रदर्शनमा त्यति ठूलो सङ्ख्यामा युवाहरू सडकमा ओर्लिन्छन् भन्ने कसैले अनुमान नै गरेको थिएन। उनी यो कुरालाई यो आन्दोलनको ठूलो विशेषता मान्छिन्।
उनी सोमवारको विरोधप्रदर्शनलाई नेतृत्वविहीन आन्दोलनका रूपमा पनि हेर्नुपर्ने ठान्छिन्।
"इन्टरनेट बन्द गरिएको थियो। सीजेपीका नेताहरूले आफ्ना कुरा फैलाउन सकिरहेका थिएनन्। मेट्रो स्टेशनहरू बन्द थिए। सन्देश पुर्याउन सजिलो थिएन। आन्दोलन शिक्षाको विषयबाट सुरु भएको थियो, तर कुरा महँगी, बेरोजगारी र [निर्वाचनमा] भोट चोरी भएको कुरासम्म पुग्यो। कक्षा १२ मा अध्ययनरत विद्यार्थीदेखि कलेजका विद्यार्थीसम्मले यी कुरा उठाए, जुन आफैँमा अनौठो विषय थियो।"
यो आन्दोलनबाट आगामी दिनमा सरकारका लागि कस्तो चुनौती बढ्न सक्छ त? उत्तर दिँदै स्मिता शर्माले भनिन्, "सरकारले यो विरोधप्रदर्शनबाट कुनै पाठ पढेन भने ठूलो गल्ती हुने छ। किनभने युवाहरूले आफूहरू मार्च गरेर संसद्तिर जान चाहेको स्पष्ट पारेका छन्। सीजेपीले उनीहरूलाई थामथुम पारेर मार्च गर्न नदिएको थियो भने पनि जन्तरमन्तरमा भेला भएका हजारौँ मानिसहरूको भिडले संसद् मार्च गर्न अघि बढ्ने थियो।"
"उनीहरूमाथि लाठी प्रहार भयो। त्यसपछि पनि उनीहरू फर्केर आउँदै थिए, त्यो सामना गर्दै थिए। विद्यमान निराशालाई बेवास्ता गरियो भने आज एउटा बलून फुटे जसरी आगामी दिनमा [आक्रोश] फेरि विस्फोटित हुन सक्छ। सरकारका लागि यो गम्भीर सन्देश हो।"
वरिष्ठ पत्रकार हेमन्त अत्री पनि स्मिता शर्मासँग सहमत छन्।
उनी युवाहरूको विशाल सहभागिता भएको यो विरोधप्रदर्शन आगामी दिनमा मोदी सरकारका लागि समस्या उत्पन्न हुन सक्ने सङ्केत मान्छन्।
उनले भने, "मोदी सरकारले अहिलेसम्म यस देशका जनतालाई सहज रूपमा लिँदै आएको थियो। त्यो भ्रम अब भङ्ग भएको छ। यो कुरा यो विरोधप्रदर्शनको उपलब्धि हो। मानिसहरू आएर चुपचाप फर्किएका होइनन्," उनले भने।
"उनीहरूले यस देशको लोकतन्त्र बलियो छ र यसको जरा बलियो छ भन्ने देखाएका छन्। सरकारले यसलाई कमजोर बनाउन सक्दैन।"

तस्बिर स्रोत, Getty Images
"कुनै पनि देशका लागि युवाहरूको भूमिका वर्तमानका लागि मात्र नभई भविष्यका दृष्टिले पनि अत्यन्त महत्वपूर्ण र निर्णायक हुन्छ," अत्रीको धारणा छ।
"चाहे सरकार छान्न होस् वा सरकार परिवर्तन गर्न।"
"सरकारका लागि यो 'चेतावनीको घण्टी' हो। सरकारले लामो समयसम्म जनतालाई बेवास्ता गर्न पाउँदैन। सरकारले उत्तरदायित्व सुनिश्चित गर्नुपर्छ। अन्यथा जनताले सडकमा ओर्लिन बिर्सिएका छैनन्। यसको प्रभाव दीर्घकालमा देखिने छ। हाम्रो लोकतन्त्र दानमा आएको होइन, हामीले त्यसलाई कमाएका हौँ। अनि दिल्लीका सडकमा जे देखियो, त्यही हाम्रो लोकतन्त्रको शक्ति हो।"
हेमन्त अत्री भन्छन्, "सरकारलाई हिन्दू र मुस्लिमका नाममा आफ्नो राजनीति चल्न सक्छ भन्ने लाग्छ। तर अब त्यस्तो हुनेवाला छैन। जनता मूल मुद्दातर्फ फर्किँदै छन्।"
"अनि युवायुवती यसरी अगाडि आउनु सरकारका लागि ठूलो चेतावनीको घण्टी हो। सरकाले आफ्नो काम गर्ने शैली सुधार्नुपर्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















