'आफ्नै हातले ६ बालबालिकालाई बाहिर निकालेँ': पाकिस्तानमा विद्यालय भत्किँदा कम्तीमा ३४ जनाको मृत्यु

तस्बिर स्रोत, Getty Images
पाकिस्तानको पेशावरमा बिहीवार बिहान एउटा निजी विद्यालयको छाना भत्किँदा अधिकांश बालबालिकासहित कैयौँ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
पेशावर प्रहरीले उक्त विद्यालयका सञ्चालकलाई पक्राउ गरिएको जनाएको छ। प्रहरीले जारी गरेको एउटा विज्ञप्तिमा उक्त निजी विद्यालय 'शैक्षिक गुठी'का रूपमा सञ्चालित हुँदै आएको उल्लेख छ।
लेडी रेडिङ अस्पतालले ३२ विद्यार्थी र एक विद्यार्थीसहित ३३ जनाको मृत्यु भएको पुष्टि गरेको छ। त्यसै गरी अर्को स्थानीय अस्पतालले थप एक बालकको मृत्यु भएको जनाएको छ।
दिर कोलोनीस्थित अल-खैर विद्यालयमा स्थानीय समयानुसार बिहान ०८:४८ बजे उक्त घटना भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।
अधिकांश पीडित बालबालिका ६ देखि १२ वर्ष उमेर समूहका छन्।
घटनास्थलबाट बीबीसी संवाददाताले दिएको जानकारीअनुसार विद्यालय साँघुरो बाटोमा रहेको हुनाले र त्यहाँ एक पटकमा एउटा मात्र सवारीसाधन जान सक्ने भएकाले उद्धारकर्ता र एम्बुलेन्सलाई आवतजावत गर्न कठिनाइ भएको थियो।
पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीको कार्यालयले एउटा विज्ञप्ति जारी गर्दै हृदयविदारक घटनाले सिङ्गो राष्ट्रलाई स्तब्ध बनाएको जनाएको छ।
उद्धारकार्य सकियो

तस्बिर स्रोत, Reuters
पेशावरका अधिकारीहरूका अनुसार विद्यालयमा भग्नावशेष बाँकी भए पनि उद्धारकार्य सकिएको छ।
"सुरुमा भत्किएको भवनमा १६ वटा शव फेला परेका थिए," 'रेस्क्यू ११२२' का क्षेत्रीय निर्देशक आरिफ खट्टकले बीबीसीसँग भने।
"उद्धारकार्य पाँच घण्टाजति चल्यो। उद्धारकार्य सकिँदा २९ वटा शव फेला परे। तीमध्ये एउटा शव एक शिक्षिकाको थियो," उनले भने।
उनका अनुसार घटनास्थलमा आइपुग्दा सो विद्यालय संरचना नमिलेको भवनमा अर्थात् अस्थायी निर्माण गरेर सञ्चालन गरिएको आफूले देखेको बताए।
उद्धारकार्यमा खटेका बिलाल फैजीले बताएअनुसार बिहान ८:४८ बजेतिर विद्यालयको छानो भत्किएको सूचना रेस्क्यू कन्ट्रोल रूममा प्राप्त भएको थियो।
"त्यहाँ पुग्दा हाम्रा टोलीहरूले भवनको एउटा भागको छानो भत्केर अर्को भागमा खसेको देखे। प्रभावित कक्षाकोठाका विद्यार्थीहरू भग्नावशेषमा फसेका थिए।"
बेल्चाले खनेर फसेका मानिसलाई बाहिर निकाल्ने प्रयास

तस्बिर स्रोत, Reuters
घटनास्थलमा थप बालबालिका फसेको हुन सक्ने आशङ्कामा उद्धारकर्मी र स्थानीय बासिन्दाले भग्नावशेषमा खोजी गरेका थिए। खोजी तथा उद्धारकार्यमा स्थानीय बासिन्दाहरूले पनि सघाए।
स्थानीय सरकारी कलेजमा अध्यापन गराउने एक शिक्षकले उद्धारकार्यमा आफूले पनि सघाएको र भग्नावशेषमुनिबाट छ बालबालिकालाई आफू एक्लैले बाहिर निकालेको बीबीसीलाई बताएका छन्।
उनले साइरन र एम्बुलेन्सको आवाज सुनेपछि आफू तुरुन्तै अरू मानिसहरूसँगै घटनास्थलमा गएको बताए। उनका अनुसार उनीहरूले मिलेर भग्नावशेषबाट २० भन्दा बढी बालबालिकालाई बाहिर निकालेका थिए।
"मैले व्यक्तिगत रूपमा आफ्नै हातले छ बालबालिकालाई बाहिर निकालेँ। तीमध्ये अधिकांश जीवित थिए र कुराकानी गरिरहेका थिए। तर पछि उनीहरूको मृत्यु भएको पत्ता लाग्यो," उनले भने।
"त्यहाँ धेरै रगत थियो," उनले थपे। "एक जना बालकले आफूलाई धेरै दुखेको बताए। उनको मुखभित्र जिब्रो सुकेको थियो र उनले पानी मागेका थिए।"
अर्का एक स्थानीय बासिन्दाले आफूले फोनमा घटनाबारे पहिला जानकारी पाएको बताए। "मेरी दिदीले बिहान ९:३० बजे मलाई कल गरेर - 'चाँडै आऊ, साना विद्यार्थीहरू भत्केको छतमुनि फसेका छन्' भन्नुभयो," सोहेल नाम गरेका एक व्यक्तिले बीबीसीसँग कुरा गर्दै भने।
"म टोलका अरू मानिसहरूसँगै घटनास्थलमा पुगेँ। हामीले बेल्चाले खनेर उनीहरूलाई बाहिर निकाल्ने प्रयास गर्यौँ।
खाइबर पख्तुनख्वाका सबै विद्यालय भवनमा जोखिम पहिचान गर्न निर्देशन
प्रारम्भिक अनुसन्धानमा विद्यालयको भवनको संरचना कमजोर भएको देखिएको छ।
खाइबर पख्तुनख्वा प्रान्तका गभर्नर फसल करिम कुन्डीले शिक्षा सल्लाहकारलाई "यो घटनाको विस्तृत प्रतिवेदन पेस गर्न" र घाइते बालबालिकाले "सम्भव भएसम्म राम्रो उपचार" पाउने कुरा सुनिश्चित गर्न अधिकारीहरूलाई आफूले निर्देशन दिएको बताएका छन्।
कुन्डीले "सम्भावित जोखिमहरूको पहिचान गर्न र जहाँ आवश्यक छ त्यहाँ तत्काल सुधारात्मक उपायहरू अपनाइने कुरा सुनिश्चित गर्न" सबै विद्यालयहरूको "प्रान्तव्यापी संरचनात्मक सुरक्षापरीक्षण" को आदेश दिएका छन्।
"हामी हाम्रा बालबालिकाको सुरक्षामा खेलवाड हुन दिन सक्दैनौँ," उनले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



















