थाईल्यान्डमा हिरासतमा अनसनरत अभियानकर्मीको निधन

तस्बिर स्रोत, Family handout
- Author, फ्लोरा ड्रुरी
- Role, बीबीसी न्यूज
- Published
राजसंस्थाको अपमान गरेको अभियोग लागेकी थाईल्यान्डकी एक अभियानकर्मीको अनसनका क्रममा हिरासतमा निधन भएको छ।
नेटिपँ “बूङ्ग” सुनेसाङकोमको मुटुले “अचानक काम गर्न छोडेपछि” मङ्गलवार बिहान उनको निधन भएको अधिकारीहरूले बताएका छन्।
अट्ठाइस वर्षीया सुनेसाङकोम युवा नेतृत्वको एउटा आन्दोलनकी हिस्सा थिइन् जुन आन्दोलनले राजसंस्थासम्बन्धी व्यवस्थामा पुनःसंरचनाको माग गरेको थियो।
उनीमाथि विभिन्न सातवटा अभियोग लगाइएकोमा दुईवटा आरोप राजसंस्थाको अपमान गरेको विषयसँग सम्बन्धित थिए।
अदालतको अवहेलना
उनी गत ज्यानुअरी २६ तारिखदेखि हिरासतमा थिइन्। हिरासतमा लगिएको भोलिपल्ट उनले अनसन शुरू गरिन्।
फेब्रुअरीको अन्त्यदेखि अनसनका क्रममा उनी पानी पिउन थालिन् भने एप्रिलदेखि उनले खाना खान थालेकी थिइन्।
थाईल्यान्डको न्याय प्रणालीमा र राजसंस्थाको आलोचनालाई अपराध ठहर्याउनेसम्बन्धी एउटा बदनाम कानुनमा पुनःसंरचना गर्नुपर्ने माग सुनेसाङकोमले गर्दै आएकी थिइन्।
शुरूमा उनलाई अदालतको अवहेलनासम्बन्धी अभियोगमा गिरफ्तार गरिएको थियो।
तर राजसंस्थाको आलोचनासम्बन्धी मुद्दामा जमानत रद्द भएपछि सुनेसाङकोमको हिरासत अवधि लम्ब्याइयो।
राजसंस्थाको आलोचनासम्बन्धी उनीमाथि दुईवटा अभियोग लगाइएको थियो।
त्यसमा एउटा चाहिँ राजपरिवारका सवारीले निम्त्याउने ट्राफिक अस्तव्यस्तताबारे जनताको राय मागेको विषयसँग सम्बन्धित थियो।
न्यायाधीशकी छोरी
दोषी ठहर भएको अवस्थामा सुनेसाङकोमलाई १५ वर्षसम्मको जेलसजाय हुन सक्थ्यो। उनी एक न्यायाधीशकी छोरी पनि थिइन्।
थाईल्यान्डमा राजसंस्थाको आलोचना गर्न नपाइने विषयमा संसारकै कठोरमध्येका कानुन चलनचल्तीमा छन्।
त्यहाँको एउटा कानुनी सहायता समूह टीएलएचएसका अनुसार राजसंस्थाको आलोचना गरेको अभियोगमा सन् २०२० यता २६० वटा मुद्दा दर्ता गरिएका छन्।

तस्बिर स्रोत, Getty Images
उक्त कानुनअन्तर्गत यसै वर्षको शुरूतिर एक पुरुषलाई ५० वर्षको जेलसजाय सुनाइएको थियो जुन सोसम्बन्धी हालसम्मकै लामो सजाय भएको बताइन्छ।
थाई कारागार अधिकारीहरूका अनुसार अनसनका कारण उनी निकै कमजोर भइसकेकी थिइन् र उनमा रक्तअल्पताको समस्या देखिएको थियो।
फरक राजनीतिक धारणा राखेकै भरमा कसैलाई थुन्न नपाइने उनले तर्क गर्दै आएकी थिइन्।
थाई राजनीतिमा राजसंस्था र सेनाको प्रभाव घटाइनुपर्ने भन्दै सन् २०२० मा भएको देशव्यापी प्रदर्शनका क्रममा सुनेसाङकोम उदाएकी थिइन्।
कानुनमा के छ
थाईल्यान्डको दण्ड संहिताको धारा ११२ लाई 'लीज-म्याजस्टी' कानुन पनि भनिन्छ।
"जसले राजा, रानी, राजगद्दीको उत्तराधिकारी वा राज्यसहायकको अपमान वा बदनाम गर्छ वा धम्की दिन्छ उसलाई तीनदेखि १५ वर्षसम्म जेल सजाय हुने छ," उक्त धारामा उल्लेख छ।
सन् १९०८ मा बनेको देशको पहिलो फौजदारी संहितामा खासै परिवर्तन गरिएको छैन। तर दण्डको व्यवस्थालाई सन् १९७६ मा कडा बनाइएको थियो।
के गर्दा राजतन्त्रको अपमान हुन्छ भन्ने व्याख्या गरिएको छैन। स्पष्ट व्याख्याको अभावमा अधिकारीहरूले कानुनको व्याख्या आफूखुसी गर्न सक्ने आलोचकहरूले बताउने गरेका छन्।
लीज-म्याजस्टीसँग सम्बन्धित उजुरी जसले जोसुकैविरुद्ध पनि दिन सक्छ। उजुरी परेको छ भने प्रहरीले अनिवार्य त्यसबारे अनुसन्धान गर्नुपर्छ।
त्यस्तो उजुरीको आधारमा पक्राउ परेका मानिसलाई जमानतमा रिहा गर्न अस्वीकार गर्न पनि सकिन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















