प्रधानमन्त्रीबारे गठबन्धन अझै अनिर्णीत, कांग्रेस र माओवादी आ-आफ्नै अडानमा

गठबन्धन

तस्बिर स्रोत, RSS

Published

प्रधानमन्त्रीका लागि दाबी पेस गर्न दलहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिन लाग्दा पनि सत्ताधारी गठबन्धन शक्ति बाँडफाँटबारे टुङ्गोमा पुग्न नसकेको नेताहरूले बताएका छन्।

यद्यपि अहिले सत्तामा रहेका प्रमुख दलका नेताहरूले सरकार गठनसम्बन्धी निरन्तर वार्ताहरू गरिरहेका छन्।

विशेषगरी गठबन्धनभित्रको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले आलोपालो प्रधानमन्त्रीका क्रममा पहिलो चरणमा आफूले नेतृत्व पाउनुपर्ने अडान राखेकाले कुरा मिल्न नसकेको नेताहरूले जानकारी दिएका छन्।

तर नेपाली कांग्रेसले राष्ट्रपति पद पनि नछाड्ने र सुरुमा आफ्नै नेतृत्वमा सरकार बन्नुपर्नेमा जोड गरिरहेको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा आ-आफ्नो अडानमा कायम रहँदा त्यसले गठबन्धन फुट्नसक्ने अड्कल पनि भइरहेको छ।

तर प्रधानमन्त्री देउवा निकट मानिने कांग्रेस नेता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले “सत्ता गठबन्धनकै सरकार बन्ने” दाबी दोहोर्‍याएका छन्।

यसैबीच दाहालले समयसीमा तोकेरै देउवालाई चेतावनी दिएको तथा समानान्तर रूपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि वार्ता अघि बढाएको खबरहरू आएका थिए।

तर शनिवार काठमाण्डू उपत्यकामा भएको एक कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले “दाहालको प्रधानमन्त्री बन्ने समय सम्भवतः सकिएको” बताएका छन्।

उनले दाहालले समयमै एमालेसँग सहकार्यको हात अघि नबढाएको सङ्केत गर्दै त्यस्तो अभिव्यक्ति दिएका हुन्।

गठबन्धनको बैठक

चुनावी तालमेल समेत गरेको सत्ताधारी गठबन्धनका नेताहरूले शनिवार सत्ता साझेदारीबारे छलफल गर्न निर्वाचनपछिको पहिलो बैठक गरेका छन्।

यसअघि निर्वाचनपछि उनीहरूले चुनावी समीक्षाका लागि मात्र यस्तो बैठक गरेका थिए।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उक्त बैठकले शक्ति बाँडफाँटबारे टुङ्गो लगाउन नसकेको बैठकपछि नेताहरूले बताएका छन्।

उनीहरूका अनुसार आइतवार बिहान पुनः गठबन्धनको बैठक बस्नेछ र सत्ता साझेदारीबारे टुङ्गो लगाउनेछ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकपछि सञ्चारकर्मीहरूलाई भने, “खबरहरू सुखद नै छन्, पाँच दलीय गठबन्धनको बैठक बसेर अहिलेको राजनीतिक विषयमा छलफल भएको छ। आगामी दिनमा कसरी जाने भन्ने पनि बैठकमा छलफल भयो।”

“बैठक भोलि (आइतवार) फेरि बस्नेछ र हामी एउटा निर्णयमा पुगेर त्यसबारे जानकारी गराउनेछौँ।”

उनले छलफल सकारात्मक रूपमा अघि बढेको दाबी गरे।

यद्यपि उनले पहिलो चरणमा को प्रधानमन्त्री बन्छ भन्ने टुङ्गो नलागेको सङ्केत गरे।

त्यसबारे पत्रकारहरूको प्रश्नमा उनले भने, “यसैले हलो अड्कन्न। प्रधानमन्त्री को पहिले बन्ने भन्ने कुरा गौण हो। गठबन्धनकै नेतृत्वमा सरकार बन्छ।”

कांग्रेस-माओवादी छलफल

प्रचण्ड र देउवा

तस्बिर स्रोत, rss

सत्ताधारी कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरूले विगत केही दिनदेखि निरन्तर छलफलहरू गरिरहेका छन्।

शुक्रवार साँझ पनि प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदारीबारे दाहाल र देउवाले छलफल गरेका थिए।

त्यस्तै शनिवार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दाहालसँग उनकै निवासमा पुगेर छलफल गरेका थिए।

कांग्रेसका अन्य नेता र दाहाल तथा माओवादी नेताहरूबीच पनि छलफल भइरहेका खबरहरू आएका छन्।

दुवै दलका नेताहरूले छलफल “सकारात्मक भएको” तर अझै पनि निर्णय हुन नसकेको बताउँदै आएका छन्।

बिरामी भएर अस्पताल भर्ना भएका नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पुगेका देउवा र प्रचण्ड। नेपाल अस्पतालबाट घर फर्किसकेका छन्

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, बिरामी भएर अस्पताल भर्ना भएका नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पुगेका देउवा र प्रचण्ड। नेपाल अस्पतालबाट घर फर्किसकेका छन्

माओवादी अध्यक्ष दाहालको अडान

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू पहिले प्रधानमन्त्री बन्नुपर्ने अडान राखेको कुरालाई माओवादी नेताहरूले अस्वीकार गरेका छैनन्।

शनिवारको बैठकमा सहभागी भएका माओवादी नेता देवप्रसाद गुरुङले पनि कुरा नमिल्नुको मुख्य कुरा “गठबन्धनको नेतृत्व”सँग नै सम्बन्धित भएको बताए।

उनले “अहिलेको मुलुकको नेतृत्व गणतन्त्रका प्रस्तावहरूले लिनुपर्ने अवस्था आयो त्यसैले गर्दा अहिले गणतन्त्र सङ्कटको अवस्था छ त्यसैले गर्दा उहाँको नेतृत्वमा बन्नुपर्छ भन्ने हो।”

“तर हामीले अन्तिम समयसम्म मिल्ला कि भन्ने आशा चाहिँ लिएका छौँ।”

शुक्रवार बीबीसीसँग कुरा गर्दै दाहालका स्वकीय सचिव समेत रहेका माओवादी नेता रमेश मल्लले पनि भनेका थिए, “…पावर शेयरिङमा हाम्रो अध्यक्षको नेतृत्वमा अघि बढौँ भन्ने माओवादी केन्द्रको निर्णय छ।”

गठबन्धनका अन्य दल के भन्छन्?

माओवादी र कांग्रेसबीच नै शक्ति बाँडफाँटबारे कुरा नमिलिरहेको अवस्थामा गठबन्धनभित्रका अन्य दलहरू पनि शनिवार भने सत्ता साझेदारीसम्बन्धी छलफलमा सहभागी भएका हुन्।

उक्त बैठकमा सहभागी गठबन्धनको दल राष्ट्रिय जनमोर्चाकी नेता दुर्गा पौडेलले “माओवादी र कांग्रेसबीच पहिले को प्रधानमन्त्री बन्ने भन्ने कुरा मिल्न बाँकी रहेको” बताइन्।

तर उनले गठबन्धनकै सरकार बन्नेमा सबै एकमत बनेको जानकारी दिइन्।

उक्त दलका अध्यक्ष चित्रबहादुर केसीले पनि शुक्रवार “ढिलो चाँडो दुई दल मिल्ने र गठबन्धनको सरकार बन्ने” अवस्था बन्ने बताएका थिए।

शीर्ष नेताहरू

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, सत्ता साझेदारीबारे विभिन्न दलका नेताहरूबीच छलफल जारी रहेको बुझिएको छ

संवैधानिक व्यवस्था 

नेपालको संविधानको धारा ७६ को उपधारा १ मा प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने र उनको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने व्यवस्था छ।

तर अहिले कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकाले उक्त धाराको उपधारा २ अनुसार राष्ट्रपतिले “दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्य”का लागि दाबी पेस गर्न आह्वान गरेकी छन्।

उक्त उपधाराअनुसार कुनै व्यक्तिले बहुमत पु‍र्‍याएमा निर्वाचनको परिणाम घोषणा भएको मितिले तीस दिनभित्र प्रधानमन्त्री नियुक्त हुनुपर्ने व्यवस्था छ।

त्यस्तो अवस्था नभएमा वा त्यसरी नियुक्त भएको व्यक्तिले नियुक्त भएको तीस दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेमा प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने प्रावधान छ।

तर त्यसरी नियुक्त भएको व्यक्तिले पनि तीस दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ।

त्यस्तो हुन नसकेमा राष्ट्रपतिले बहुमत पुर्‍याउने आधार पेस गर्ने प्रतिनिधिसभाको जुनसुकै सदस्यलाई प्रधानमन्त्रीको दाबी गर्ने अवसर दिन सक्ने व्यवस्था छ।

त्यस्तो व्यक्तिले पनि तीस दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्छ।

त्यस्तो व्यक्तिले पनि विश्वासको मत प्राप्त गर्न नसकेको वा प्रधानमन्त्री नियुक्त हुन नसकेको अवस्थामा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभाको विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधिसभा निर्वाचन सम्पन्न हुने गरी मिति तोक्ने व्यवस्था संविधानमा रहेको छ।