तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९०० नाघ्यो
भेनेजुएलामा गएका दुई वटा शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउने मानिसहरूको सङ्ख्या ९०० नाघेको छ भने कम्तीमा ३,३६० जना घाइते भएको सरकारले जनाएको छ।
जीवित व्यक्तिहरूको खोजीमा उद्धारकर्मीहरू प्रयासरत रहँदा परिवारजनहरू आफन्तका अवस्थाबारे खबरको प्रतीक्षामा व्यग्र देखिन्छन्।
घाइतेहरूको उपचार अस्थायी स्वास्थ्य केन्द्रहरूमा भइरहेको छ। भूकम्पका कारण देशको उत्तरी क्षेत्रमा दर्जनौँ भवनहरू ध्वस्त भएका छन्। त्यसमा राजधानी कराकसका भवनहरू पनि रहेका छन्।
एकजना वरिष्ठ सरकारी अधिकारीका अनुसार सयौँ अन्तर्राष्ट्रिय उद्धारकर्मीहरू भेनेजुएला पुगेका छन् र थप उद्धार टोलीहरू पुग्ने क्रममा छन्।
गत बुधवार केही सेकेन्डको अन्तरालमा दुई वटा शक्तिशाली भूकम्पले भेनेजुएलालाई हल्लाएका थिए।
दोस्रो भूकम्प ७.५ म्याग्निट्यूडको थियो, जसलाई पछिल्लो एक शताब्दीमा त्यहाँ गएका शक्तिशाली भूकम्पमध्ये एक मानिएको छ।
दुई सयभन्दा बढी परकम्प
सरकारी टेलिभिजनमार्फत् शुक्रवार प्रसारित सम्बोधनमा राष्ट्रिय सभाका अध्यक्षले मृतकको सङ्ख्या ९२० पुगेको र कम्तीमा १७२ जना अझै पनि भग्नावशेषमा फसेको आशङ्का गरिएको बताए।
दर्जनौँ मानिसलाई जीवितै उद्धार गरिएको छ, जसले उनीहरूलाई आफ्ना परिवार र प्रियजनसँग पुनर्मिलन गराउन सकेकाले "हामीलाई खुशी दिएको छ," अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले टेलिभिजन सम्बोधनका क्रममा भनिन्।
उनका अनुसार प्रारम्भिक भूकम्पपछि हालसम्म २१४ वटा परकम्प रेकर्ड गरिएका छन्।
राष्ट्रिय सभाका अध्यक्षका अनुसार सयौँ भवनहरू क्षतिग्रस्त वा पूर्ण रूपमा ध्वस्त भएका छन्, जसमा धेरै अस्पताल र किनमेल केन्द्रहरू पनि रहेका छन्। त्यसबाहेक कम्तीमा १,००० अन्य पूर्वाधार संरचनाहरूमा पनि क्षति पुगेको छ।
अन्तर्राष्ट्रिय उद्धारकर्मीहरूले "भयानक विनाश" देखेको नर्वेजियन शरणार्थी परिषद्का महासचिवले बताएका छन्।
सञ्चार सेवा अवरुद्ध तथा सडकहरू क्षतिग्रस्त हुँदा र स्रोतसाधनको अभावका कारण प्रारम्भिक उद्धार तथा आपत्कालीन प्रतिकार्य कठिन बनेको थियो।
यद्यपि उद्धारकर्मीहरूले खाली हात प्रयोग गरेर भत्किएका भवनहरूबाट मानिसहरूलाई बाहिर निकालिरहेका विवरणहरू सार्वजनिक भएका छन्।
अन्तर्राष्ट्रिय उद्धार टोली
ब्रिटिश खोज तथा उद्धार टोली, उद्धार कुकुरहरू र ड्रोन बोकेको सैनिक विमान शुक्रवार भेनेजुएलातर्फ प्रस्थान गरेको छ।
उक्त विमानमा 'मर्सीसाइड फायर एन्ड रेस्क्यू'को नेतृत्वमा बेलायतका १४ वटा अग्नि तथा उद्धार सेवाका विशेषज्ञहरू सवार छन्।
संयुक्त राज्य अमेरिका, नेदरल्यान्ड्स, मेक्सिको र स्विट्जरल्यान्डलगायत अन्य देशले पनि उद्धार टोलीहरू पठाएका छन्।
अमेरिकाले युद्धपोत, यातायात विमानहरू तथा १५ करोड अमेरिकी डलर बराबरको सहायता परिचालन गर्ने घोषणा गरेको छ।
भेनेजुएला किन भूकम्पको जोखिममा?
दक्षिण अमेरिकाको उत्तरी तटीय क्षेत्रमा रहेको ल्याटिन अमेरिकी राष्ट्र भेनेजुएला दुई वटा टेक्टोनिक प्लेट रहेको क्षेत्रमा पर्छ।
यो देश क्यारिबिअन र साउथ अमेरिकन टेक्टोनिक प्लेट एक आपसमा भेट हुने बिन्दुमा छ।
यी दुवै प्लेटहरू सरिरहेका हुन्छन्। अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसका अनुसार घर्षणका कारण दुई वटामध्ये कुनै प्लेट टुक्रिँदा उक्त क्षेत्रमा भूकम्प पैदा हुन्छ।
दुई वटा प्लेटको मिलन बिन्दुमा पर्ने भएका कारण भूकम्पको जोखिम क्षेत्रमा रहेको भेनेजुएलामा सन् १९६७ मा पनि ठूलो भूकम्प आएको थियो।
बुधवारको दोस्रो भूकम्प त्यसयताको सबैभन्दा ठूलो रहेको यूएसजीएसको तथ्याङ्कले देखाएको छ।
भेनेजुएलाभन्दा सयौँ किलोमिटर टाढाको कोलम्बियाको राजधानी बोगोटामा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।
कुल दुई करोड ८० लाख जनसङ्ख्या रहेको भेनेजुएलामा अधिकांश मानिसहरू देशको उत्तरी क्षेत्रमा बसोबास गर्छन्। राजधानी कराकसमा मात्रै करिब ५० लाख मानिसहरूको बसोबास छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।