इजरेलले सबै बन्धकलाई रिहा गराउने गरी वार्ता थाल्नेः नेतन्याहू

तस्बिर स्रोत, Reuters
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले हमासको नियन्त्रणमा बाँकी रहेका सबै बन्धकहरूको रिहाइ र "इजरेललाई मान्य हुने" शर्तमा गाजा युद्ध अन्त्य गर्ने विषयमा वार्ता थाल्न आफ्ना वार्ताकारहरूलाई निर्देशन दिएको बताएका छन्।
अन्तर्राष्ट्रियस्तरमा र देशभित्रै विरोध भइरहँदा गाजा सिटीमा भीषण हमला गर्ने योजनालाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको पनि बिहीवार राति उनले इजरेली फौजहरूलाई बताए।
कतार र इजिप्टका मध्यस्थकर्ताहरूले गाजामा युद्धविराम गराउने प्रयत्न अहिले गरिरहेका छन्।
साठीदिने युद्धविराम गर्ने अनि आधा जति बन्धकहरूलाई रिहा गर्ने प्रस्ताव उनीहरूले प्रस्तुत गरेका छन्, जुन प्रस्तावलाई हमासले सोमवार स्वीकार गरिसकेको छ।
तर त्यसप्रति पहिलो पटक प्रतिक्रिया जनाउँदै नेतन्याहूले वार्ताका लागि गरिएको प्रस्ताव स्वीकार गरेनन्।
आंशिक रिहाइ अस्वीकार्य
एक इजरेली अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले वार्तास्थलको टुङ्गो लाग्नासाथ नयाँ वार्ताका लागि वार्ताकारहरू त्यसतर्फ लाग्ने जनाएका छन्।
बिहीवार राति गाजा डिभिजन मुख्यालय पुगेका नेतन्याहूले "हाम्रा सबै बन्धकहरूको रिहाइका लागि तत्काल वार्ता थाल्न वार्ताकारहरूलाई निर्देशन दिएको" एउटा भिडिओ वक्तव्यमार्फत् बताए।

तस्बिर स्रोत, Reuters
"गाजा सिटीमाथि नियन्त्रण गर्ने तथा हमासलाई परास्त गर्ने आईडीएफका योजनालाई अनुमोदन गर्न म यहाँ आएको हुँ," नेतन्याहूले भने।
"हमासलाई पराजित गर्ने र सबै बन्धकहरू रिहा गर्ने कुरा एकसाथ अगाडि बढ्नुपर्छ," अर्को चरणको वार्ताका शर्तबारे विस्तृत उल्लेख नगरिकनै उनले भने।
इजरेली अधिकारीहरूले सबै ५० जना बन्धकहरूको रिहाइमा जोड दिँदै आंशिक रूपमा बन्धकहरूको रिहाइ गराउने सम्झौता स्वीकार नहुने बताउँदै आएका छन्।
"निर्दोष नागरिकहरूविरुद्ध बर्बर युद्ध जारी राख्नका निम्ति" नेतन्याहूले युद्धविराम सम्झौतामा अवरोध सिर्जना गरिरहेको हमासले बुधवार आरोप लगाएको समाचार संस्था रोएटर्सले जनाएको थियो।
बाइस महिनादेखि जारी युद्धबीच अब बाँकी ५० जना बन्धकहरूमध्ये अब २० जना जीवित रहेको हुनसक्ने इजरेलको विश्वास छ।
भीषण बमबारी
इजरेलले शुरूवाती हमला थालिएको बताएको भोलिपल्ट गाजा सिटीको पूर्वी क्षेत्रमा बिहीवार इजरेली फौजहरूले भीषण बमबारीहरू गरेका प्यालेस्टिनीहरूले बताएका छन्।
फौजहरू अगाडि बढ्नुअगावै पूर्वनिर्धारित योजनाअनुसार गाजा सिटीका सबै १० लाख मानिसहरूलाई दक्षिणतर्फ पठाउनका लागि तयार रहन स्वास्थ्य अधिकारी तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूलाई इजरेली डिफेन्स फोर्सेस आईडीएफले चेतावनी दिएको छ।
गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले "स्वास्थ्य प्रणालीअन्तर्गत बाँकी रहेको पक्षलाई बेवास्ता गर्ने कुनै कदम स्वीकार्य नहुने" जनाएको छ।
संयुक्त राष्ट्रसङ्घ र सहायता समूहहरूले अन्त जान नसक्ने अथवा जान नचाहनेहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
हमाससँग युद्धविरामबारे अप्रत्यक्ष वार्ताहरू गत महिना विफल भएपछि बेन्जमिन नेतन्याहूले हमला तीव्र पार्ने र सिङ्गो गाजालाई अधीनमा लिने मनशाय घोषणा गरेका थिए।
हमासले दक्षिणी इजरेलमा सन् २०२३ को अक्टोबर ७ तारिखमा हमला गरेर करिब १२०० जनाको ज्यान लिएको र २५१ जनालाई बन्धक बनाएपछि इजरेलले आक्रमण थालेको हो।
हमासको स्वास्थ्य मन्त्रालयका अनुसार इजरेली आक्रमणमा हालसम्म कम्तीमा ६२ हजार १९२ जना प्यालेस्टिनीहरू मारिएका छन्।
गाजा युद्धमा हताहतीसम्बन्धी त्यो सबैभन्दा भरपर्दो उपलब्ध तथ्याङ्क भएकोले संयुक्त राष्ट्रसङ्घले पनि त्यसैलाई उद्धृत गर्दै आएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















