तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिका-इरान वार्ता 'अन्तिम सम्झौताको मार्गचित्र' बनाएर टुङ्गियो
अमेरिका र इरानबीचको सम्झौतालाई अन्तिम रूप दिन स्विट्जरल्यान्डमा सुरु भएको पहिलो चरणको वार्तामा "उत्साहजनक प्रगति" भएको कतार र पाकिस्तानले बताएका छन्।
गत साता भएको प्रारम्भिक सम्झौतालाई अन्तिम रूप दिन आइतवार सुरु भएको पहिलो चरणको वार्ता टुङ्गिएपछि कतार र पाकिस्तानले संयुक्त वक्तव्य जारी गरेका छन्। ती दुई देशले मध्यस्थता गरेका हुन्।
वक्तव्यमा "उच्चस्तरीय समिति"ले "६० दिन भित्र अन्तिम सम्झौतामा पुग्ने मार्गचित्र" तयार गरेको उल्लेख छ।
युद्ध अन्त्यका लागि गत साता भएको समझदारीपत्रमा ६० दिनभित्र अन्तिम सम्झौता गरिसक्ने उल्लेख छ। प्राविधिक वार्ताहरू साताभरि जारी रहने बताइएको छ।
त्यसअघि छलफलमा सहभागी अमेरिकी कूटनीतिज्ञले वार्ता होर्मुज जलमार्ग पुनः खोल्ने, दक्षिणी लेबननमा युद्धविराम लागु गर्ने र परमाणु सम्झौताबारे केन्द्रित रहेको बताएका थिए। उनका अनुसार प्रारम्भिक चरणमा "इरानका केही भ्रामक सन्देशहरूबारे स्पष्ट गर्न"मा विषयमा पनि छलफल भएको थियो।
लेबननमा इजरेल र हिज्बुल्लाहबीच झडप नरोकिएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसअघि उक्त समूहलाई नरोके इरानमाथि आक्रमण गर्ने चेतावनी दिएका थिए। लेबननमा सञ्चालित हिज्बुल्लाह समूहलाई इरानले समर्थन गर्दै आएको छ।
अमेरिकी कूटनीतिज्ञले अहिलेको छलफल वार्ताको प्राविधिक पक्षलाई अघि बढाउने प्रारम्भिक बिन्दु भएको बताएका छन्।
गत साता भएको समझदारीपत्रमा लेबनन सहित सबै मोर्चामा युद्ध अन्त्य गर्ने र होर्मुज जलमार्ग पुनः खोल्ने सहितका सहमति छन्।
यद्यपि दक्षिणी लेबननमा इजरेल र हिज्बुल्लाहबीच त्यसयता पनि लडाइँ चलिरहेको छ। लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार इजरेली हवाई आक्रमणमा महिला र बालबालिकासहित दर्जनौँ मानिसको ज्यान गएको छ।
द्वन्द्व बढेपछि अमेरिकाले शुक्रवार इजरेल र हिज्बुल्लाहबीच नयाँ युद्धविरामको घोषणा गरेको थियो। निरन्तर झडप र हवाई आक्रमणका कारण इरानले शनिवार होर्मुज जलमार्ग बन्दको घोषणा गरे पनि जहाजहरू त्यस मार्गबाट आवतजावत गरिरहेको जहाजहरूको निगरानी गर्ने 'डेटा'मा देखिएको छ।
अमेरिका र इरानी प्रतिनिधिमण्डलबीच लुसेर्नमा वार्ता हुनै लाग्दा ट्रम्प सामाजिक सञ्जालमा पोस्ट गर्दै इरानलाई हिज्बुल्लाहको आक्रमण रोक्न भनेका थिए। उनले 'प्रोक्सी' समूहहरूलाई लेबननमा समस्या सिर्जना गर्नबाट तत्काल रोक्न भनेका थिए। त्यसो नगरिए इरानले कडा आक्रमण भोग्नुपर्ने ट्रम्पको चेतावनी थियो।
इरानको वार्ता टोलीका प्रमुख मोहम्मद बागेर गालिबाफले त्यसमा प्रतिक्रिया जनाएका थिए। उनले भनेका छन्: "उनीहरू धम्कीको कुनै अर्थ छैन भन्ने सोच्दैनन्? यदि धम्कीले काम गर्थ्यो भने उनीहरू यति व्याकुल अवस्थामा हुन्थे?… उनीहरूले जति बोले पनि, काम गर्ने हामीले हो।"
आइतवार झडप रोकिएको समाचार आयो। इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले उत्तरी इजरेलको सुरक्षाका लागि आवश्यक परेसम्म इजरेली सेना दक्षिणी लेबननमै रहने बताएका छन्।
हिज्बुल्लाहका एक नेताले दक्षिणी लेबननमा इजरेली सैन्य उपस्थिति अस्वीकार्य भएको बताउँदै हिज्बुल्लाहले आत्मरक्षा गर्ने चेतावनी दिएका छन्।
स्विट्जरल्यान्डको होटेलमा वार्ता सुरु हुनुअघि कुरा गर्दै अमेरिकी वार्ता टोली प्रमुख उपराष्ट्रपति जेडी भान्सले वार्ता टोलीलाई ट्रम्पले "नयाँ थालनी गर्न" भनेको बताएका थिए।
अमेरिकी वार्ता टोलीमा भान्ससँगै ट्रम्पका ज्वाइँ ज्यारड कुश्नर र विशेष दूत स्टीभ विट्कोफ सहभागी छन्। इरानी टोलीमा सभामुख समेत रहेका गालिबाफसहित विदेशमन्त्री अब्बास अराग्ची सहभागी छन्।
वार्ताको सहजीकरण गरेको पाकिस्तानका प्रधानमन्त्री र सेना प्रमुख अनि कतारका प्रधानमन्त्री पनि स्विट्जरल्यान्डमै छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।