प्रधानमन्त्री वालेन्द्र शाहले 'एक्लै लड्नुपर्छ' भनेर के भन्न खोजेका हुन्?

तस्बिर स्रोत, PMO Nepal
प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले शुक्रवार मध्यरात हुनै लाग्दा फेसबुकमा गरेको पोस्ट उनको पार्टी र सांसदहरूप्रति लक्षित रहेको आकलन र व्याख्या भइरहेका छन्।
रास्वपाका कैयौँ सांसदहरूले संसद्मा सरकारको कामबारे प्रश्न गरेकै रात उनले गरेको पोस्टमा प्रयोग भएका शब्द र भावबारे सामाजिक सञ्जालमा बहस चलिरहेको छ।
'कहिलेकाहीँ एक्लै लड्नुपर्छ' भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्ति पार्टीबाट उनीमाथि भइरहेको दबावप्रति लक्षित रहेको हुनसक्ने एक जना विपक्षी दलका नेताले चर्चा गरेका छन्।
तर बीबीसीले कुरा गरेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रधानमन्त्री निकट दुई जना नेताहरूले उनको शाहको टिप्पणी पार्टी र नेताहरूप्रति लक्षित नरहेको दाबी गरे।
प्रधानमन्त्रीले के प्रतिक्रिया पाए?
प्रधानमन्त्रीले सन्दर्भ उल्लेख नगरी मानिसहरूलाई नआत्तिन भनेका छन् र एक्लै लड्नुपरेको सङ्केत गरेका छन्।
"केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्," प्रधानमन्त्रीले लेखेका छन्।
"सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।"
प्रधानमन्त्रीको यो पोस्ट आएकै दिन संसद्मा रास्वपाका पूर्व प्रवक्ता मनीष झा, सहायक प्रवक्ता रमेश प्रसाईँ, नेताहरू अमरेश सिंह सहित कैयौँ सांसदहरूले ग्यासको अभाव देखि सरकारका कतिपय कामहरूबारे प्रश्न गरेका थिए।
अघिल्लो दिन संसद्मा प्रश्न उठाएका झाले शनिवार सामाजिक सञ्जालमै प्रधानमन्त्रीको पोस्टबारे प्रतिक्रिया जनाएका छन्।
"परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौँ। हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्…," उनले लेखेका छन्।

तस्बिर स्रोत, RSS
बीबीसी न्यूज नेपालीको जिज्ञासामा झाले पार्टीका सांसदहरूबाट सदनमा सरकारका काम कारबाहीमा प्रश्न गरिनु सामान्य लोकतान्त्रिक प्रक्रिया भएको बताए।
"बालेन सरकार असफल भयो भने म पनि असफल हुन्छु। मन्त्रिपरिषद्मा भए वा नभए पनि मेरो पनि सफलता त्यसमा जोडिएको छ," मधेशमा चुनावी अभियानको संयोजकका रूपमा गरिएका वाचा सम्झँदै झाले सरकारमाथि खबरदारी जारी राखिने बताए।
प्रधानमन्त्रीको पोस्ट पार्टीसँग दूरी बढेको प्रति लक्षित रहेको हो भन्ने बीबीसीको जिज्ञासामा झा भन्छन्, "संवाद जति हुनुपर्ने त्यति नभएको होला तर संवाद नहुँदैमा त्यो निष्कर्षमा पुगिहाल्नुपर्ने अवस्था छैन।"
संसद्को विपक्षी दल नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्रीको पोस्टलाई 'सत्ता त्यागको लागी व्यापक दबाव बढ्दै गएको' सङ्केतका रूपमा चर्चा गरेका छन्।
बालेन निकट नेताहरू के भन्छन्

तस्बिर स्रोत, RSS
प्रधानमन्त्री बालेन निकट रास्वपा सांसद गणेश कार्कीले प्रधानमन्त्रीको पोस्ट सांसदहरूले संसद्मा उठाएको प्रश्न वा पार्टीप्रति लक्षित नभएको दाबी गरे।
"उहाँ कविताहरू पनि लेखिरहने मान्छे हो। यो राजनीतिक अर्थ लगाउनुपर्ने गहन विषय नै केही होइन," उनले भने।
सरकारका कामबारे संसद्मा रास्वपाका सांसदहरूबाट उठेका प्रश्नहरू सांसदहरूको व्यक्तिगत स्वतन्त्रतासँग जोडिएको उनको दाबी छ।
"हामीले सांसदलाई जनताको प्रतिनिधि भनेर बुझ्ने हो भने त जनताको कुरा कहिले सत्ताको पक्षमा हुन्छ कहिले विपक्षमा हुन्छ। त्यो कुरा भन्ने हो," कार्की भन्छन्।
प्रधानमन्त्रीले पार्टीबाट आफूलाई एक्लो बनाइएको महसुस नगरेको दाबी रास्वपा सांसद कार्कीको छ।
प्रधानमन्त्री शाह निकट रास्वपाका अर्का नेता रमेश पौड्याल पनि प्रधानमन्त्रीको भनाई आफ्नै दलप्रति लक्षित नरहेको दाबी गर्छन्।
"प्रधानमन्त्रीले कहिलेकाहीँ एक्लै लड्नुपर्छ भनेको विषयलाई विचार र दृष्टिकोणको हिसाबले एक्लै पर्दा पनि विचलित हुनुहुन्न भन्ने अर्थमा मैले लिएको छु, व्यक्ती एक्लै लड्ने अर्थमा होइन। अहिले गत निर्वाचनबाट खुम्चिन पुगेका पुराना दलहरूले रास्वापालाई एक प्रकारको घेराबन्दी गर्न प्रयत्न गरिरहेको सन्दर्भको आलोकमा प्रमको भनाइ लाई हेरिनुपर्छ," पौड्यालले भने।
तर प्रधानमन्त्रीको भनाइबारे उनको दलका नेताहरूले दाबी गरेजस्तो बुझाई पार्टी बाहिर देखिएको छैन।
प्रधानमन्त्रीको भनाइ कता लक्षित

तस्बिर स्रोत, PMO Nepal
राजनीतिक विश्लेषक मुमाराम खनाल प्रधानमन्त्रीलाई कसैले एक्लो बनाएको नभई उनको स्वभाव नै सानो समूहमा बस्ने रहेको बताउँछन्।
"उनी एक्लो बनाइएको नभई एक्लो स्वभावका मान्छे हुन्। घुलमिल हुँदैनन्, अरूसँग संवाद गर्दैनन् र सानो समूहमा बस्ने व्यक्ति हुन्," खनाल भन्छन्।
"उनी शक्तिमा रहेकाहरूको तिखो आलोचनाबाट शक्तिमा आए। उनी यसअघि पदमा रहँदा आलोचना थिएन भए पनि सुन्ने गरी थिएन। आलोचना सुरु भएपछि सुरुमा प्रतिरक्षामा देखिन्थे अहिले चाहिँ अलि आतङ्कित भएको मेरो बुझाई छ।"
विश्लेषक खनाल प्रधानमन्त्री शाह पार्टीका सांसदहरूको आलोचनाबाट भन्दा पनि आम मानिसहरूबाट आइरहेका प्रतिक्रियाबाट विचलित भएको हुनसक्ने ठान्छन्।
"उनी प्राविधिक रूपमा मात्रै पार्टीमा छन्, भावनात्मक रूपमा छैनन्। पार्टीप्रति उनको रुचि र दृष्टिकोण पनि देखिँदैन," खनालले बीबीसी न्यूज नेपालीसँग भने।
"साङ्गठनिक मान्छेले मात्रै पार्टीबाट आएको कुरालाई हेर्छ। बालेनजस्तो मास लिडरले पार्टी भित्र र बाहिरबाट आएको कुरालाई उस्तै दृष्टिबाट हेर्छन्।"
प्रधानमन्त्रीको पोस्टका पाँच सम्भावित अर्थ

तस्बिर स्रोत, RSS
सम्पादक तथा विश्लेषक सुधीर शर्माले प्रधानमन्त्रीको पोस्ट 'अमूर्त' रहेको र उनले 'मनभरि भएको कुरा पनि राम्ररी पोख्न नसकेको' हुनसक्ने टिप्पणी सामाजिक सञ्जालमा मार्फत् गरेका छन्।
शर्माले प्रधानमन्त्रीको भनाईका पाँच वटा सम्भावित अर्थ पनि लगाएका छन्।
प्रधानमन्त्रीको भनाइले अझै सही समय नआएको र चाँडै काम देखाउन गाह्रो हुने अनुभूतिको सङ्केत गरेको हुनसक्ने शर्माको टिप्पणी छ।
उनले 'ढिलो भएर मान्छेमा छटपटी बढ्यो कि भन्ने चिन्ता' पनि प्रधानमन्त्रीमा देखिएको हुनसक्ने उल्लेख गरेका छन्।
"बाहिर देखिएभन्दा आफूले भोगिरहेको वास्तविकता फरक छ है भनेर जनतालाई सुनाउन मन लागेछ। तर त्यो 'वास्तविकता' के हो भन्ने कुराचाहिँ खोलिहाल्न नमिल्ने अवस्था रहेछ," शर्माको टिप्पणी छ।
"हामीले झट्ट हेर्दा १८२ सिटको तागत देख्छौँ, तर सिंहदरबारभित्रको एक्लोपन उत्तिकै पट्यारलाग्दो रहेछ । पहिले मेयर छँदा झैँ अहिले पनि 'एक्लै' लड्नु परिरहेको रहेछ । तर कोसँग लड्नु परेको हो, त्यो भने खुलाउन नसकिने बाध्यता रहेछ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।





















