भ्लादिमिर पुटिन: क्रेम्लिन नेताको फेरि शपथ, परिवर्तनको मौका न्यून

तस्बिर स्रोत, Reuters
- Author, स्टीभ रोजनबर्ग
- Role, बीबीसी रुस सम्पादक
- Published
त्यो ठाउँमा सायद उनी आँखामा पट्टि बाँधेरै पनि हिँडन सक्छन्।
भ्लादिमिर पुटिनले पाँचौँ पटक 'ग्र्यान्ड क्रेमलिन प्यालेस' हुँदै सेन्ट एन्ड्र्युज थ्रोन हलसम्म लामो पैदल यात्रा गर्ने छन्। त्यहाँ उनले राष्ट्रपतिको रूपमा छ वर्षको नयाँ कार्यकालका लागि पद तथा गोपनियताको शपथ लिने छन्।
उनका लागि यो मार्ग परिचित हुन सक्छ, तर मे सन् २००० मा सम्पन्न पुटिनको पहिलो प्रवेश समारोहपछि धेरै परिवर्तन भएको छ।
त्यतिबेला राष्ट्रपति पुटिनले 'लोकतन्त्रको संरक्षण र विकास' तथा 'रुसको हेरचाह गर्ने' वाचा गरेका थिए।
चौबीस वर्षपछि अहिले क्रेम्लिनका यी नेता युक्रेनविरुद्ध युद्धमा छन्, जसमा रुसले ठूलो क्षति बेहोरेको छ। रुसमा उनी लोकतन्त्रको विकासमा लाग्नुको सट्टा आलोचकहरूलाई जेल कोच्दै र आफूविरुद्धका शक्ति सन्तुलन संयन्त्रलाई निस्तेज तुल्याउँदै लोकतन्त्रलाई साँघुरो पार्दै छन्।
"पुटिन आफूलाई अहिले भ्लादिमिर द ग्रेट, रुसी जार(सम्राट)का रूपमा लिन्छन्," ह्वाइट हाउसकी पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार फियोना हिल भन्छिन्।

तस्बिर स्रोत, BBC
"हामीले उनको पहिलो दुई कार्यकालको मूल्याङ्कन गर्यौँ भने मलाई लाग्छ त्यो पुटिन अनुकूलको विश्लेषण हुनेछ। उनले देशलाई राजनीतिक स्थिरता दिए र अगाडि बढाए। रुसी अर्थतन्त्र र व्यवस्थाले इतिहासकै राम्रो प्रदर्शन गरेका थिए।"
"युक्रेन युद्ध (दस वर्षअघिको क्रिमिया कब्जाको घटनायता) का कारण त्यो अवस्थामा नाटकीय परिवर्तन भएको छ। पुटिनले आफूलाई व्यवहारवादी नेताको सट्टा साम्राज्यवादी नेतामा रूपान्तर गरेका छन्।"
स्मरण रहोस्, भ्लादिमिर पुटिन पहिलो पटक सत्तामा आएयता अमेरिकाले पाँच फरक राष्ट्रपति र बेलायतले सात जना प्रधानमन्त्री पाएको छ।
रुसमा करिब एक चौथाइ शताब्दी शासन गर्दा पुटिनले निश्चित रूपमा आफ्नो छाप छोडेका छन्। विगतमा मानिसहरू 'ब्रेज्नेभवाद', 'गोर्वाचेभवाद' वा 'येल्त्सिनवाद'बारे विरलै चर्चा गर्थे।
तर पुटिनवाद: त्यो विशेष वाद हो।
"हाम्रो इतिहासमा एउटा अर्को 'वाद' छ– स्टालिनवाद," कार्नेगी युरेशिया रसियन सेन्टरका वरिष्ठ अनुसन्धकर्मी आन्द्रेई कोलेस्निकोभ भन्छन्।
"म भन्छु पुटिनवाद स्टालिनवादकै अर्को अवतार हो। उनी स्टालिन (पूर्व सोवियत तानाशाह) कै जस्तो व्यवहार गर्छन्। स्टालिनकै समयको जस्तो शक्ति व्यक्तिकृत गरिएको छ। उनी राजनीतिक दमन रुचाउँछन्। स्टालिनजस्तै पुटिन पनि बाँचुञ्जेल सत्तामा रहनका निम्ति तयार छन्।"
अहिले पश्चिमाहरूको चुनौती भनेको पुटिनले ठान्ने गरेको रुसी महानता पुनर्स्थापित गर्न प्रतिबद्ध र तीव्र रूपमा अधिनायकवादी बन्दै गएका पुटिनसँग कसरी व्यवहार गर्ने भन्ने हो, आधुनिक जार… जोसँग आणविक हतियार पनि छ।

"परमाणु हतियारका विषयमा हामी धेरै कुरा गर्न सक्छौं," फियोना हिलको विश्वास छ। "पुटिनले युक्रेनमाथि परमाणु हतियारको धमास दिन खोज्दा चीन, भारत र जापानजस्ता देशहरू असाधारण रूपमा चिन्तित भएका थिए र रुसलाई रोकेका थिए। आणविक हतियार प्रयोग गर्नेबारे अनावश्यक र अनुमानित कुराकानी गर्नबाट रोक्न हामी एउटा अन्तर्राष्ट्रिय संरचना बनाएर रुसलाई रोक्न सक्छौं।"
"पुटिनसँग भिड्नका निम्ति एउटा उपाय हुन सक्छ, जो अनेक आयामबाट कपटी छन्। हामीले उनका निम्ति प्रतिबन्धित वातावरण बनाउन जरूरी छ, ताकि उनलाई मनपरी गर्न छुट नहोस्।"
आधिकारिक रूपमा पुटिनले मार्चमा भएको राष्ट्रपतीय चुनावमा ८७ प्रतिशतभन्दा धेरै मत हासिल गरेका थिए। उक्त चुनावमा उनले गम्भीर प्रतिद्वन्दीको सामना गर्नुपरेको थिएन, न उक्त चुनावलाई धेरैले स्वतन्त्र र निष्पक्ष चुनावका रूपमा हेरेका थिए।
त्यसोभए जोसेफ स्टालिनपछि सबैभन्दा लामो समय शासन गर्ने पुटिनलाई रूसीहरूले कसरी हेर्छन्?
त्यो थाहा पाउनका निम्ति म मस्कोबाट ७० मिल टाढा काशिरा शहर गएँ। यहाँ पुटिनको विशाल चित्रले एउटा अपार्टमेन्टको एउटा पूरै हिस्सा ओगटेको छ।
भनौं, काशिरामा विशाल भ्लादिमिर पुटिनले तपाईंलाई नियालिरहेका छन्।
"मलाई उनी मन पर्छ," सडकछेउमा फूल बेचिरहेकी भ्यालेन्टिनाले भनिन्। उनले सरकारबाट निवृत्तिभरण प्राप्त गर्छिन्।
"उनीसँग राम्रा विचार छन् र उनले हाम्रा लागि धेरै गरेका छन्। साँच्चै भन्नुपर्दा हाम्रो निवृत्तिभरण धेरै ठूलो छैन। तर पुटिनले सबैकुरा एकै पटकमा पूरा गर्न त सक्दैनन्।"
"उनी सत्तामा भएको झन्डै पच्चीस वर्ष भयो नि," मैले उनलाई भनेँ।
"तर हामीलाई (उनी गए भने) अर्को को आउँछ थाहा छैन," भ्यालेन्टिनाले जबाफ दिइन्।
"रुसमा हामी सबैले एकैनासले सोचौँ भन्ने अपेक्षा गरिएको छ," पुटिनको भित्तेचित्रबाट गुज्रिँदै गर्दा भ्यालेन्टिनाले भनिन्।
"मैले पुटिनविरुद्ध केही बोलेँ भने मेरा श्रीमान् भन्छन्– पुटिनविरुद्ध फेरि एक शब्द बोल्यौ भने म तिमीसँग पारपाचुके गर्छु।"
"उनी पुटिनका असाध्यै ठूला प्रशंसक हुन्। उनी भन्छन्, पुटिन नभएको भए हाम्रो जीवन नब्बेको दशकको जस्तै कष्टकर हुन्थ्यो।"
मैले नजिकैबाट हिँडिरहेका अलेक्जेन्डर नामका अर्का व्यक्तिलाई पुटिनबारे के सोच्नुहुन्छ भनेर सोधेँ। उनले भने, "अहिले यहाँ आफ्नो विचार राख्नु भनेको खतरनाक हुन सक्छ। त्यसैले कुनै टिप्पणी गर्दिनँ।"
मैले कुरा गरेका धेरैजसो मानिसहरूका अनुसार भित्तेचित्र भएको अपार्टमेन्टको बाटो भएर हिँडिरहँदा उनीहरू पुटिनको चित्रलाई उति ख्याल गर्दैनन्। उनीहरू अभ्यस्त भइसके।
ठीक त्यसैगरी उनीहरू एकजना व्यक्तिले रुसको शासनसत्ता चलाइरहेकोप्रति अभ्यस्त भएका छन् र क्रेम्लिनमा तत्काल कुनै परिवर्तन हुने सम्भावना देखिन्न।






















