वर्षाले एसीसी प्रिमिअर कपको फाइनल खेल बिथोलिएमा के हुन्छ?

क्रिकेट समर्थक

तस्बिर स्रोत, CAN

    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू
  • Published

नेपाल र यूएईबीच सोमवार (आज) हुने एसीसी प्रिमिअर कप क्रिकेटको बहुप्रतीक्षित फाइनल खेल वर्षाले बिथोलेमा के हुन्छ?

कतिपय क्रिकेट प्रेमीहरूले यो विषयमा चासो राखिरहेका छन्।

काठमाण्डूको कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा भइरहेको प्रतियोगिताका पछिल्ला खेलहरू वर्षाका कारण नमज्जाले प्रभावित भइसकेकोले क्रिकेट प्रेमीहरू वर्षाको नियमबारे जान्न उत्सुक देखिएका छन्।

विगत तीन दिनदेखि परेको झरीले दुवै सेमिफाइनल र तेस्रो स्थानको लागि भएको खेल प्रभावित भएका थिए।

जसका कारण खेलको नतिजाका लागि अन्य नियमहरूको सहारा लिइयो।

नेपाल र कुवेतबीच कीर्तिपुर क्रिकेट मैदानमा भएको खेल न्यूनतम आवश्यक ओभरको खेल नभएपछि रद्द भयो। समूह चरणको शीर्ष स्थानमा रहेको आधारमा नेपालले फाइनलमा स्थान बनाउन सक्यो।

मुलपानीमा भएको ओमान र यूएईबीचको सेमिफाइनलको नतिजा भने डकवर्थ लुइस (डीएलएस) पद्धतिको आधारमा तय गरियो जसमा यूएई २ रनले विजयी भयो।

रेड लाइन
रेड लाइन

तेस्रो स्थानका लागि ओमान र कुवेतबीचको खेल पनि वर्षाले बिथोलिए पछि एकदिवसीय वरीयतामा कुवेत भन्दा माथि रहेका आधारमा ओमानले उपाधि प्राप्त गर्‍यो।

प्रतियोगितामा तेस्रो भएसँगै ओमान इमर्जिङ टिम्स एसिया कपमा छनोट हुन सफल भयो।

के फाइनलमा पनि पानी पर्ने पूर्वानुमान छ?

वर्षा हुने पूर्वानुमान

क्रिकेट मैदान

तस्बिर स्रोत, CAN

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमवार बिहान काठमाण्डूमा हुरी बतास चल्ने र दिउँसो पानी पर्न सक्ने सम्भावना उच्च देखिएको छ।

सोमवार केही कारण खेल रद्द भए मङ्गलवार पुनः खेल सञ्चालन हुने गरी 'रिजर्भ डे' राखिएको छ। तर मङ्गलवार पनि काठमाण्डूमा वर्षा हुने अनुमान गरिएको छ। मङ्गलवार वर्षाको सम्भावना उच्च रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

X पोस्ट समाप्त

पानीले खेल बिथोलेमा

क्रिकेट टिम

तस्बिर स्रोत, CAN

यस्तो अवस्थाका लागि एसियाली क्रिकेट परिषद्ले 'प्लेइङ कन्डिसन' बारे स्पष्ट नियमहरू उल्लेख गरेको छ।

यदि दोस्रो इनिङ्सको कम्तीमा २० ओभरको खेल भइसकेको अवस्थामा खेलको नतिजा डीएलएस प्रणालीमा गरिनेछ।

तर २० ओभर नपुग्दै वर्षाले अवरुद्ध भएको अवस्थामा भने खेल रद्द हुनेछ।

फाइनल खेल 'टाई हुन पुगेमा' वा 'कुनै नतिजा ननिस्केको' अवस्थामा खेलको निर्णय 'सुपर ओभर' बाट हुनेछ।

नेपाल क्रिकेट सङ्घका कार्यवाहक सचिव दुर्गाराज पाठकका अनुसार 'सुपर ओभर' पनि बराबरी भएमा फेरि अर्को एउटा 'सुपर ओभर' मार्फत नतिजा निकाल्ने प्रयास गरिनेछ।

तर खेल रद्द हुने अवस्था बन्यो भने खेल 'रिजर्भ डे' मा धकेलिनेछ।

'रिजर्भ डे'

क्रिकेट समर्थक

तस्बिर स्रोत, CAN

'रिजर्भ डे' को नियम पनि पहिलो दिनको फाइनलकै जस्तै हो।

यदि 'रिजर्भ डे' मा पनि 'खेल रद्द' हुन पुग्यो र 'सुपर ओभर' को पनि सम्भावना देखिएन भने चाहिँ विजेताको छिनोफानो दुई टोलीको आइसीसी एकदिवसीय वरीयताको आधारमा गरिनेछ।

त्यसो भएमा नेपाल फाइनलको विजेता बन्नेछ।

किनकि एकदिवसीय वरीयतामा नेपाल १४ औँ स्थानमा छ भने यूएई १९ औँ स्थानमा छ।

कार्यवाहक सचिव पाठक भन्छन्, “'प्लेइङ कन्डिसन' मा यो नियम उल्लेख गरिएको छ"।

प्रिमिअर कप विजेता एसिया कपका लागि छनोट हुनेछ। त्यहाँ छानिएको टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपको समूह ‘ए’ मा पर्नेछ। जहाँ भारत र पाकिस्तान जस्ता देशका राष्ट्रिय टोली छन्।

यस्तै समूह 'बी' मा श्रीलङ्का, अफगानिस्तान र बाङ्गलादेश रहेका छन्।

एसिया कपको १३ औँ संस्करण सेप्टेम्बरमा पाकिस्तानमा हुन लागेको छ।