भारतको अदालतले किन दियो 'अकबर' र 'सीता' नामका सिंहको नाम परिवर्तन गर्नुपर्ने आदेश?

    • Author, प्रभाकरमणि तिवारी
    • Role, कोलकाताबाट बीबीसी हिन्दीका लागि
  • Published

कलकत्ता हाईकोर्टको जलपाईगुडी सर्किट बेन्चले जनहित मामिलासम्बन्धी एउटा मुद्दामा सुनुवाइ गर्दै राज्य सरकारलाई त्यहाँको चिडियाखानामा रहेका एउटा भाले र अर्को पोथी सिंहको नाम परिवर्तन गर्न आदेश दिएको छ।

उक्त जनहित याचिकामा अदालतको फैसलापछि बीबीसी संवाददाता उमंग पोद्दारले जनहित याचिका (पीआईएल) सम्बन्धी पुस्तकका लेखक तथा संवैधानिक मामिलाका विज्ञ अनुज भुवानियासँग कुरा गरेका थिए।

भुवानियाले भने, "यो मुद्दामा कुनै अधिकारको हनन भएको छैन न त यससँग सम्बन्धित कुनै कानुन नै छ तर पनि रिट निवेदन दायर गरियो। यस्ता मुद्दामा के कानुनी हस्तक्षेपको आवश्यकता छ भन्ने अदालतले महसुस गरेन।"

अदालतले जरिवानासहित त्यो निवेदन खारेज गर्नुपर्थ्यो वा दया देखाएर निवेदकलाई निवेदन फिर्ता लिन आग्रह गर्नुपर्थ्यो भन्ने उनको मत छ।

कसले दिएको थियो निवेदन?

चिडियाखानामा राखिएको भाले सिंहको नाम ‘अकबर’ र पोथी सिंहको नाम ‘सीता’ हो।

उनीहरूलाई १२ फेब्रुअरीमा त्रिपुराबाट ल्याएर सिलगुडीको सफारी पार्कमा सँगै राखिएको थियो।

विश्व हिन्दू परिषद्ले हिन्दूहरूको धार्मिक भावनामा चोट पुग्ने भन्दै अदालतमा निवेदन दिएको हो।

परिषद्को याचिकामा सुनुवाइका क्रममा उच्च अदालतका न्यायाधीश सौगत भट्टाचार्यले पनि धेरै रोचक टिप्पणी गरेका थिए।

उनले सरकारी वकिललाई आफ्नो विवेकसँग सोध्न र विवादबाट जोगिन सल्लाह दिए।

उनले भने: "पश्चिम बङ्गालले पहिलेदेखि नै कैयौँ विवादको सामना गरिरहेको छ। यस्तो अवस्थामा सिंहको नामको विवादबाट बच्न सकिन्थ्यो। आम मानिसले सम्मान गर्ने व्यक्तिको नाममा कुनै पनि जनावरको नाम राख्नु हुँदैन।"

अदालतले राज्य सरकारका वकिल देवज्योति चौधरीलाई किन उनीहरूले आफ्नो घरपालुवा जनावरको नाम कुनै हिन्दू देवता वा मुस्लिम पैगम्बरको नाममा राख्छन् भनेर पनि सोधेको थियो।

न्यायाधीशले देशको एउटा ठूलो वर्गले सीताको पूजा गर्ने र अकबर एकजना धर्मनिरपेक्ष मुगल सम्राट भएको बताए।

उनले के कसैले रवीन्द्रनाथ ट्यागोरको नाममा जनावरको नाम राख्न सक्छ? भनेर प्रश्न गरे।

नाम परिवर्तन गर्ने सरकारी आश्वासन

अदालतमा सुनुवाइका क्रममा राज्य सरकारका वकिलले बताए अनुसार यी दुई जनावरको नाम क्रमशः सन् २०१६ र २०१८ मा त्रिपुरामा राखिएको थियो। तर उनीहरूलाई यहाँ ल्याएपछि नामको विवाद सुरु भयो।

उनले दुवैको नाम फेर्ने अदालतलाई आश्वासन दिए र परिषद्‌को याचिका खारेज गर्न अपिल पनि गरे।

तर अदालतले निवेदकलाई जनहित याचिकाको रूपमा दायर गर्न अनुमति दियो। अब त्यो निवेदनको जनहित याचिकाको सुनुवाइ हुने इजलासमा सुनुवाइ हुनेछ।

यो मामिला उच्च अदालतसम्म कसरी पुग्यो?

निवेदकको तर्क के थियो भने उनलाई यो जानकारी पत्रपत्रिकाबाट प्राप्त भएको हो।

सिलगुडीबाट प्रकाशित हुने बाङ्ग्ला पत्रिकाले 'सङ्गीर खोजे सीत' (साथीको खोजीमा सीता) शीर्षकमा समाचार छापेको थियो।

परिषद्‌का अनुसार उक्त विषयलाई आपत्तिजनक ढङ्गले प्रकाशित गरिएको थियो। त्यसले देशभरि फैलिएका हिन्दूहरूको धार्मिक भावनामा चोट पुग्नेछ।

अनि त्यसबारे देशभरिबाट गुनासो आएको निवेदनमा दाबी गरिएको थियो। त्यसबारे तत्काल कारबाही नभए व्यापक आन्दोलन र सामाजिक अशान्ति हुने खतरा भएको पनि उनको दाबी थियो।

दुई दिनसम्म चलेको सुनुवाइका क्रममा महान्यायाधिवक्ताले सायद माया गरेर सिंहको नाम सीता राखेको हुन सक्ने तर्क गरेका थिए।

उनले निवेदनमा प्रश्न उठाएको जस्तो यो सार्वजनिक हितसम्बन्धी मुद्दा नभएको बताए।

त्यसपछि अदालतले निवेदकलाई यस विषयमा जनहित याचिका किन दायर भएन भनेर सोध्यो।

के नामले धार्मिक भावनामा ठेस पुग्छ?

विश्व हिन्दू परिषद्का वकिल शुभंकर दत्त भन्छन्, "हामीले हिन्दू देवीको नाममा सिंहको नाम राखिएको विरुद्ध निवेदन दिएका थियौँ। अदालतले यसबारे राज्य सरकारसँग जवाफ मागेको छ र नाम परिवर्तन गर्न निर्देशन दिएको छ। परिषद्ले यसअघि पनि यस सम्बन्धमा चिडियाखानाका अधिकारीहरूलाई पत्र लेखेको थियो। त्यसपछि हामीले याचिका दायर गर्नुपर्‍यो। अदालतको निर्णय परिषद्‌को जित हो। अदालतले उसको तर्कलाई स्वीकार गरेको छ।"

धार्मिक भावनामा चोट पुर्‍याउने प्रश्नमा अदालतले हस्तक्षेप गर्न सक्ने केही कानुनविद्हरू बताउँछन्।

कलकत्ता हाईकोर्टका अधिवक्ता सुनिल राय भन्छन्, "जहाँ धार्मिक भावनामा चोट पुग्ने मुद्दा जोडिन्छ, त्यहाँ अदालतले सामाजिक सद्भाव र शान्ति कायम राख्न हस्तक्षेप गर्न सक्छ। त्यसैले अदालतको निर्णय आफ्नो ठाउँमा सही छ। यो जनावरहरूको नामकरणको विषय नभइ कुनै विशेष समुदायको धार्मिक भावनामा चोट पुर्‍याउने कुरासँग सम्बन्धित छ। धार्मिक भावनालाई चोट पुर्‍याउनु हुँदैन।"

तर यो मामिलामा केही व्यक्तिहरूको फरक धारणा छ। उनीहरूका अनुसार यस्तो विषयमा अदालतले हस्तक्षेप गर्नुहुँदैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।