कोभिड नेपालः थप ५५ सय ८३ जनामा कोरोना भाइरस, सङ्क्रमण बढेको बेला बालबालिकालाई कसरी जोगाउने

परीक्षणका लागि स्वाब दिँदै एक महिला।
Published

नेपालमा विगत २४ घण्टामा थप ५,५८३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। सो अवधिमा आठ हजार दुई सय ६७ जना सङ्क्रमणमुक्त भएका छन्।

अहिलेको वृद्धिसँगै देशभरि भएका पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ७४,६५३ पुगेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

कुल सङ्क्रमितमध्ये २७२ जना बालबालिका छन्।

अहिले नवजात शिशुदेखि १० वर्ष उमेर समूहका ८८ जना र ११ देखि २० वर्ष उमेर समूहका १८४ जनामा सङ्क्रमण देखिएको हो।

सरकारले सोमवार प्रकाशित गरेको विवरणमा सङ्क्रमण पुष्टि भएका बालबालिकाको सङ्ख्या २२२ र आइतवार २३७ थियो।

केही दिनअघि देशभरि भएका सक्रिय सङ्क्रितको सङ्ख्या ९० हजार नाघेको थियो। तर सोमवार झन्डै ८० हजार सक्रिय सङ्क्रमितहरू रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटेको तथा पहिला फेला परेका सङ्क्रमित निको हुने क्रम बढेकाले सक्रिय सङ्क्रमितको सङ्ख्या बढेको हो।

Nepal_daily_covid_Cases

कहाँ बढे सङ्क्रमित?

मन्त्रालयले प्रकाशित गरेको विवरणअनुसार अहिले काठमाण्डू उपत्यकाका तीन जिल्लामा १,९०७ सङ्क्रमित फेला परेका छन्। अरू सङ्क्रमित विभिन्न जिल्लमा भेटिएका हुन्।

तीमध्ये १,४०४ काठमाण्डू जिल्लाका, १९५ भक्तपुर जिल्ला र ३०८ ललितपुर जिल्लाका हुन्।

अहिले काठमाण्डूमा मात्र ५०० भन्दा बढी सङ्क्रमित र दुई वटा जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित छन्।

तर सामान्य लक्षण देखिएका मानिस नगएकाले सङ्क्रमितको सङ्ख्या सरकारी तथ्याङ्कभन्दा बढी भएको विज्ञहरूको भनाइ छ।

विज्ञहरूका अनुसार नेपालमा अहिले अतिसङ्क्रामक ओमिक्रोन भेरिअन्टका कारण सङ्क्रमण फैलिएको हो। चाँडै फैलिने भए पनि अधिकांश सङ्क्रमित व्यक्तिमा मध्यम खालका लक्षण देखिने गरेका छन्।

खोपका लागि लामवद्ध विद्यार्थी।

तस्बिर स्रोत, EPA

के हो बालबालिकामा सङ्क्रमण बढ्नुको कारण?

सङ्क्रमणको यस लहरमा बालबालिकामा सङ्क्रमणदर उच्च देखिएको नेपाल पेड्रियाटिक सोसाइटीका अध्यक्ष एवम् बालरोग विशेषज्ञ डा. गणेशकुमार राईले बीबीसीसँग बताए।

"सुरुको लहरमा बालबालिकामा सङ्क्रमण निकै कम थियो। दोस्रो लहरमा केही बढ्यो र तेस्रो लहरमा त्यो क्रम बढ्दो देखिएको छ," उनले भने।

राईले सङ्क्रमितसँग प्रत्यक्ष सम्पर्कलाई उनीहरूको समूहमा सङ्क्रमण फैलिनुको प्रमुख कारण भएको बताए।

"पहिलो र दोस्रो लहरमा बालबालिका घरमै बसे। सङ्क्रमितसँग सम्पर्कमा आएनन्। तेस्रो लहरअघि त विद्यालय खुले। बालबालिका बाहिर निस्किए," उनले भने।

त्यस्तै बालबालिकालाई खोप ढिला दिइएकाले पनि बालबालिकामा सङ्क्रमण फैलिएको हुनसक्ने उनको भनाइ छ।

खोपका लागि लाम बसेका बौद्ध भिक्षुहरू।

तस्बिर स्रोत, EPA

बालबालिकालाई सङ्क्रमणबाट जोगाउन के गर्ने?

बालबालिकालाई कोभिड-१९ विरुद्धका नियम सिकाए पनि पालन गराउन कठिन हुने विज्ञहरूको धारणा छ। त्यसैले अभिभावक नै बढी सचेत हुनुपर्नेमा डा. राई जोड दिन्छन्।

"मास्क लगाउन, दूरी कायम राख्न, बेलाबेला हात धुन वा स्यानिटाइजर लगाउन त भन्यौँ। तर साना नानीहरूले तरिका जानेनन्। नतिजास्वरूप तेस्रो लहरमा उनीहरूमा सङ्क्रमण बढ्दो देखिएको हो।"

अभिभावकले बालबालिकालाई भिडभाडबाट जोगाउनु नै प्रमुख उपायका रूपमा सुझाउँछन्। त्यस्तै सुरक्षा मापडण्डको पालना र लक्षण देखिएका बालबालिकालाई अन्य बालबालिकाको सम्पर्क हुने स्थानहरूमा नपठाउनु उचित हुने बताउँछन्।

माघ १५ पछि केही स्थानमा विद्यालय खुलेको देखिएको छ।

"बाह्र वर्षदेखि १८ वर्षसम्मका बालबालिकालाई खोप उपलब्ध छ। अभिभावकहरूले केन्द्र पहिचान गरी आफ्ना सन्तानलाई छिटो खोप लगाउनु लानुपर्‍यो," राईले भने।

त्यस्तै हालका लागि विद्यालय बन्द नै राखिनुपर्ने उनको सुझाव छ।

के छ अरू तथ्याङ्क?

विगत २४ घण्टामा १० हजार ७ सय ७६ पीसीआर र ६ हजार ८ सय ९८ एन्टिजन विधिबाट गरी कुल १७ हजार ६ सय ७४ वटा परीक्षण भएका थिए।

तीमध्ये पीसीआर गरिएका र एन्टिजन विधिबाट गरिएका ५ हजार ५ सय ८३ वटा नमुनामा सङ्क्रमण देखिएको हो।

उक्त अवधिमा झन्डै ८ हजार २ सय ६७ जना सङ्क्रमितहरू निको भए भने कोभिड-१९ सँग सम्बन्धित कारणले ९ जनाको ज्यान गएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। के छ अरू तथ्याङ्क?