अस्ट्रेलिया: चार वर्षीया बालिका दुर्गम स्थानमा हराएको १८ दिनपछि सकुशल फेला

तस्बिर स्रोत, Wa POLICE
पश्चिम अस्ट्रेलियाको दुर्गम स्थानमा १८ दिनदेखि हराइरहेकी एक चार वर्षीया बालिका एउटा बन्द घरभित्र सकुशल फेला परेकी प्रहरीले जनाएको छ।
क्लियो स्मिथ अक्टोबर १६ मा परिवारसँग बिदा मनाइरहँदा कार्नार्भोन सहरनजिकै एउटा क्याम्पिङ स्थलबाट हराएकी थिइन्।
उनको व्यापक खोज गरिएको थियो।
एक ३६ वर्षीय व्यक्तिलाई पक्राउ गरेर प्रहरीले सोधपुछ गरिरहेको जनाएको छ।
प्राप्त सुराकीको आधारमा बुधवार बिहान प्रहरी कार्नार्भोनस्थित एउटा घरभित्र बलपूर्वक प्रवेश गरेको थियो।
"उनीहरूले एउटा कोठामा क्लियोलाई भेट्टाए," पश्चिम अस्ट्रेलिया प्रहरीका उपप्रमुख कोल ब्लान्चले एउटा विज्ञप्तिमा भनेका छन्।
"एक प्रहरी अधिकृतले उनलाई बोके र सोधे: 'तिम्रो नाम के हो?' उनले जबाफ दिइन् 'मेरो नाम क्लियो हो'।"
छोरी खोजिदिन सहयोगको याचना गरिरहेका बाबुआमासँग उनको भेट गराइएको छ।
"हाम्रो परिवार फेरि पूरा भएको छ," उनकी आमा एली स्मिथले इन्स्टाग्राममा लेखेकी छन्।
उनको उद्धारको प्रहरी भिडिओमा उनी "मुस्कुराइरहेको" र "त्यस्तो अवस्थामा अपेक्षा गर्न सकिए जति राम्रो गरिरहेको" देखिएको वरिष्ठ प्रहरी अधिकारी क्रिस डाउसनले बताएका छन्।
क्लियोले हाल स्वास्थ्य उपचार प्राप्त गरिरहेको उनले बताए।
पक्राउ गरिएको व्यक्तिको स्मिथ परिवारसँग कुनै सम्बन्ध नरहेको प्रहरीले बताएको छ। प्रहरीले हालसम्म ती व्यक्तिलाई कुनै आरोप लगाएको छैन।

तस्बिर स्रोत, Reuters
क्लियोलाई फेला पारिएको घर पुग्न उनको घरबाट छ मिनेट कार यात्रा गरेपछि पुगिन्छ।
बालिका फेला परेपछि अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले "गजबको समाचार" भन्दै ट्वीट गरेका छन्।
प्रहरी कमिश्नर डाउसनले "मलाई लाग्छ अस्ट्रेलिया खुसी भएको छ" भनेका छन्।
"एउटी सानी बच्ची, जोखिम हुनसक्ने सानी बच्ची १८ दिनपछि फेला पार्नु... अवश्य नै मानिसहरूले नराम्रो भएको हुनसक्ने सोच्छन्, तर महत्त्वपूर्ण कुरा हामीले आशा गुमाएनौँ।"
के भएको थियो?
क्लियोको परिवार बिदा मनाउन गएको थियो। त्रिपालमा सुतिरहेको अवस्थामा क्लियो राति १:३० देखि ६:०० बजेको बीचमा हराएकी थिइन्।
सो दुर्गम स्थान पर्थबाट ९०० किलोमिटर टाढा छ अनि स्थानीय बासिन्दाहरूका लागि आकर्षक समुद्री किनार हो।
क्लियो आफ्नी बहिनीको कोक्रोनजिकै एउटा बिछ्यौनामा सुतिरहेकी थिइन्। त्रिपालकै अर्को खण्डमा सुतेकी आमा एलिसले बिहान उठेर हेर्दा क्लियो थिइनन् र त्रिपालको ढोका खुल्लै थियो।
प्रहरीले अपहरण भएको शङ्का गर्यो। क्लियोकी आमा पनि उनी एक्लै बाहिर नगएकोमा विश्वस्त थिइन्।

तस्बिर स्रोत, WA POLICE
पर्थबाट गएका १०० प्रहरीसहितको खोजी टोलीले जल, थल र आकाशबाट उनको खोजी गरेको थिए।
स्थानीय निकायले उनको बारेमा जानकारी दिनेलाई १० लाख अस्ट्रेलियाली डलर पुरस्कार घोषणा गरेको थियो।
अन्तर्राष्ट्रिय रूपमा चर्चा भएको घटनापछि पुरस्कारको लोभमा मानिसहरू उनलाई खोज्न अन्य सहरबाट आएको विवरण आएका थिए।
प्रहरीका ब्लान्चलका अनुसार हजारौँ टुक्रा सूचना जोडेर "परालमा सियो खोज्ने" काम गरिएको थियो।
"मङ्गलवार राति उनीहरूले सियो भेट्टाए जसबाट उनीहरूले घरको ठेगाना पाए र क्लियोको उद्धार गरे," उनले नेटवर्क सेभन टिभीलाई भने।
प्रहरीले सो सूचना कारसँग सम्बन्धित रहेको बताए पनि विस्तृत जानकारी दिएको छैन।
यो पनि हेर्नुहोस्





















