भ्यालेन्टाइन्स् डे: मिथक र व्यापार

भ्यालेन्टाइन्स् डे: प्रेमको विश्वव्यापी उत्सव?

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, भ्यालेन्टाइन्स् डे: प्रेमको विश्वव्यापी उत्सव?
Published

प्रत्येक वर्ष फेब्रुअरी १४ मा मनाइने भ्यालेन्टाइन्स् डे एक व्यक्तिले अर्को व्यक्तिलाई प्रेमको सन्देशसहितका कार्ड, फूल र चकलेटहरु पठाएर उसप्रतिको स्नेह देखाउने एउटा अवसर हो।

अथवा यो अरु केही हो? यसको उत्पत्तिको बारेमा हामीलाई साँच्चै धेरै थाहा छैन तर विश्वभर प्रेम र प्रेमलीला मनाउने धेरै उत्सवमध्ये यो पनि एउटा अवसर मात्रै हो र यसको आधुनिक संस्करण व्यापारिक फाइदा हेर्ने व्यापारीको उपजमात्रै भएको केही मानिस ठान्छन्।

त्यसो भए भित्तेपात्रोकै सबैभन्दा रसिक मितिको बारेमा साँच्चै हामीलाई के थाहा छ?

इसाइपूर्वको उत्पत्ति

भ्यालेन्टाइन्स् डे एकदमै पुरानो परम्परा हो जुन तीन दिन लामो रोमन महोत्सव लुपरकेलियाबाट उत्पति भएको ठानिन्छ।

प्रजननका देवताको सम्मानमा यो उत्सव फेब्रुअरीको मध्यमा मनाइन्छ जसले वसन्तऋतुको आधिकारिक सुरुवातलाई पनि जनाउंछ।

उत्सवको एउटा अंशको रुपमा केटाहरुले बाकसबाट केटीहरुको नाम झिक्थे।

त्यो जोडी महोत्सवभरि एकअर्काको प्रेमीप्रेमिकाको रुपमा रहन्थे र शायद उनीहरुले बिहेसम्म गर्थे।

पछिल्ला शताब्दीमा, गिर्जाघरले यस्ता महोत्सवलाई उन्मूलन गर्न चाहेको थियो त्यसैले तिनीहरुले सन्त भ्यालेन्टाइनको सम्झनामा त्यसलाई इसाइ चाडका रुपमा रुपान्तरण गरे।

प्रतिद्वन्द्वी शहीदहरु

पहिले आधिकारिक भ्यालेन्टाइन्स् डे सन् ४९६ को फेब्रुअरी १४ मा पोप गेलासियसले उक्त नामका शहीदको सम्झनामा घोषणा गरेका थिए।

राता गुलाबहरु परम्परागत रुपमा भ्यालेन्टाइन डेसँग सम्बन्धित छन्।

तस्बिर स्रोत, Getty

तस्बिरको क्याप्शन, राता गुलाबहरु परम्परागत रुपमा भ्यालेन्टाइन डेसँग सम्बन्धित छन्।

तर कुन चांहि भन्नेमा हामी पूर्णतया विश्वस्त छैनौं।

रोमका एक जना पादरी सन्त भ्यालेन्टाइनलाई इस्वी सम्वतको तेस्रो शताब्दीमा मृत्युदण्ड दिइएको भन्ने विषय सबैभन्दा चलनचल्तीको व्याख्या हो।

तर यो मितिसंग जोडिएका कम्तीमा अन्य दुई दावीहरु पनि छन्।

एउटा चांहि रोम नजिकै अहिले टेर्नी नामबाट चिनिने सहरका पुजारी र अर्को चांहि उत्तर अफ्रिकी शहीद।

यी दुई सन्त भ्यालेन्टाइनबारे थप केही थाहा छैन र रोमका पादरी चांहि यी तीनमध्ये सबैभन्दा बढी उल्लेखित छन्।

रक्तपातपूर्ण भ्यालेन्टाइन

एउटा कथा यस्तो छ--सम्राट क्लाउडियस दोस्रोले विवाहलाई प्रतिवन्ध लगाएका थिए किनभने उनी विवाहित पुरुषलाई खराब योद्धा मान्थे।

यद्यपि भ्यालेन्टाइनले भने विवाह भगवानको योजनाको हिस्सा भएको र विश्वका लागि एउटा प्रयोजन भएको भन्दै नियमलाई तोडे र गोप्य रुपमा विवाह गराए।

अमेरिकामा भ्यालेन्टाइन्स् डे कै लागि भनेर चकलेट, केकहरुमा ठूलो रकम खर्च हुने गरेको छ।

तस्बिर स्रोत, Getty

तस्बिरको क्याप्शन, अमेरिकामा भ्यालेन्टाइन्स् डे कै लागि भनेर चकलेट, केकहरुमा ठूलो रकम खर्च हुने गरेको छ।

जब सम्राट क्लाउडियसले यो थाहा पाए तब भ्यालेन्टाइनलाई हिरासतमा राखियो र पछि उनलाई मृत्युदण्ड दिइयो।

जेलमा रहँदा उनी जेलरको छोरीसँग प्रेममा परे। जब उनलाई फेब्रुअरी १४ मा मृत्युदण्ड दिन लगिदैं थिययो उनले ‘तिम्रो भ्यालेन्टाइन’बाट भन्दै ती महिलालाई प्रेमपत्र पठाए। त्यही नै आफ्ना प्रेमीप्रेमिकालाई कार्ड पठाउने आधुनिक अभ्यासको उत्पत्तिविन्दु मानिन्छ।

लोकप्रियता र व्यापारिकरण

पहिलेपहिले पनि इसाइहरुले भ्यालेन्टाइन डे मनाउने गरेपनि त्यो प्रेम र उपहार आदानप्रदानसंग मध्य युगपछि मात्रै सम्बन्धित हुन थाल्यो।

यो दिवसलाई पहिला बेलायत र त्यहाँबाट युरोप हुँदै नयाँ विश्वसम्म लोकप्रिय बनाउन अंग्रेजी साहित्यका दुई हस्तीहरु शउसर र शेक्सपियरले महत्वपूर्ण भूमिका निर्वाह गरेको जस्तो देखिन्छ।

कागजका कार्डहरु आफ्नो प्रेमीप्रेमिकालाई दिने चलन मध्य युगमै विकसित भइसकेको थियो।

तर यो १९ औं शताब्दीमा मात्रै यो ठूलो व्यापार बनेको हो जुनबेला ‍औद्योगिक क्रान्तिले उद्योगहरुबाट कागजको कार्ड बनाउन सम्भव तुल्यायो।

सन् १९१६ मा मिजउरीमा रहेको कमै नाम सुनिएको हलमार्क कार्डस् अफ क्यानसस सिटी भन्ने कम्पनीले ठूलो मात्रामा भ्यालेन्टाइन कार्डहरु उत्पादन गर्न थालेको थियो जसले सुखद क्षण मनाउने तरिकामा नै विश्वमा परिवर्तन ल्याएको थियो।

उक्त कम्पनी अहिले भ्यालेन्टाइन्स् डेको दिन १३ करोड भन्दा बढी कार्डहरु विक्री गर्ने उद्योगको एउटा अंश भएको छ।

शनिबार यो दिवस विश्वभर एउटा ठूलो व्यापार बनेको छ, विशेषगरी अमेरिकामा।

राष्ट्रिय खुद्रा महासंघले गरेको भ्यालेन्टाइन्स् डेमा हुनसक्ने उपभोक्ता खर्च सर्वेक्षण अनुसार अमेरिकाले यो वर्ष यो दिनमा उपहार र कार्डहरुका लागि मात्रै १८ अर्ब डलरभन्दा बढी खर्च गर्नेछ।

त्यसको अर्थ भ्यालेन्टाइन्स् डे मनाउने प्रत्येक अमेरिकीले चकलेट, फूलहरु र लुगामा औसत १ सय ४२ डलर खर्च गर्नेछन्।

त्यसैले यो दिवसलाई केहीले धार्मिक,केहीले रसिक र केहीले व्यापारिक रुपमा लिएका छन् जसरी कसैकसैले मायाका लागि भन्न सक्छन्।