तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
रामदेवको कम्पनी पतञ्जलिका यी पाँचथरी औषधीमाथि प्रतिबन्ध
भारतको उत्तराखण्डमा बाबा रामदेवको कम्पनीका पाँच थरी औषधीको उत्पादनमा रोक लगाइएको छ।
'भ्रामक विज्ञापन' गरेको आरोपमा त्यस्तो कारबाही गरिएको अधिकारीहरूले जनाएका छन्।
द हिन्दु पत्रिकालाई उद्धृत गर्दै बीबीसी हिन्दीले उल्लेख गरेअनुसार पतञ्जलिका उत्पादन बनाउने दिव्य फार्मेसीलाई पाँच किसिमका औषधीको उत्पादन रोक्न उत्तराखण्डको अथोरिटीज अफ आयुर्वेदिक एन्ड युनानी सर्भिसेसले निर्देशन दिएको हो।
योग गुरु रामदेवको पतञ्जलि अन्तर्गतको उक्त फार्मेसीले ड्रग्स एन्ड म्याजिक रेमेडिज एक्टको पटक पटक उल्लङ्घन गरेको पाइएको समाचारमा उल्लेख छ।
आयुर्वेदिक एन्ड युनानी सर्भिसेसका लाइसेन्स अधिकृत डा. जी.सी.एस जंगपंगीले पठाएको पत्रमा फार्मेसीबाट तत्काल दिव्य मधुग्रिट, दिव्य आईग्रिट गोल्ड, दिव्य थाइरोग्रिट, दिव्य बीपीग्रिट र दिव्य लिपिडोम नामका औषधीको उत्पादन रोक्न भनिएको छ।
ती औषधीको प्रयोग मधुमेह, रक्तचाप र कोलेस्टरल, थाइरोयड र आँखाको सङ्क्रमणमा प्रयोग गरिन्छ।
पतञ्जलिको आपत्ति
दिव्य फार्मेसीमाथि उक्त कारबाही केरलका डा. के.वी. बाबुको उजुरीपछि गरिएको हो।
उनको उजुरीमा विज्ञापनमा गरिएको दाबीले मानव जीवनलाई जोखिममा पार्ने उल्लेख गरेका छन्।
तर पतञ्जलिको तर्फबाट जारी वक्तव्यमा दिव्य फार्मेसीका हरेक उत्पादन र औषधी निर्धारित मापदण्ड अनुरूप बनाउने गरिएको बताइएको छ।
उसले भनेको छ, "हामीमाथि ती मानिसले हमलालाई गरिरहेका छन् जसले औषधीको क्षेत्रमा भ्रम र भयको कारोबार गर्छन्। हामीले त्यो षड्यन्त्र सफल हुन दिन्नौँ।"
आफ्नो जबाफ सरकारी निकायलाई दिइएको बताउँदै पतञ्जलिले उजुरीकर्ता विरुद्ध कारबाहीको माग गर्ने जनाएको छ।
ती उजुरीकर्ताले उठाएको मुद्दा पहिले नै सुल्झिसकेको उसको भनाइ छ।