नेपाल वायुसेवा: दिल्ली उडान अन्तिम समयमा रोकिने अवस्था कसरी आयो?

Published

नेपाल वायुसेवा निगम (एनएसी) ले विगतमा पटक पटक आफ्नो निर्देशनलाई अवज्ञा गर्दा समेत यात्रुको हितलाई ध्यानमा राख्दै उसप्रति 'खुकुलो' भए पनि त्यो प्रवृत्ति झन् दोहोरिन थालेपछि आइतबार र सोमवार गरेर उसका दुईवटा दिल्लीतर्फका उडान रोकिदिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ताले बीबीसीलाई बताएका छन्। 

आइतबार र सोमवार रद्द गरिएका उडानहरू एनएसीले पूर्व स्वीकृति पाएका उडान तालिका अन्तर्गत थिएनन्। 

तर त्यसले यात्रुहरूको यात्रा तथा योजनामा अन्तिम समयमा पारेको असुविधाप्रति एनएसी र सरकारी नियामकले समेत संवेदनशीलता नदेखाएको भन्दै आलोचनाहरू भएका छन्। 

जसबारे क्यान प्रवक्ता जगन्नाथ निरौला भन्छन्, "विगतका उडान तालिकामा समेत एनएसीले यस्तो गल्ती पटक-पटक गरिसकेको छ। कतिपटक एक पटकलाई भन्दै छाड्ने!"

निरौलाले यात्रुहरूलाई समस्या पर्ने भन्दै आफूहरूले देखाएको 'लचकता'ले झन् एनएसीको 'मनोबल बढाएको' देखिएपछि उडान रोक्ने कदम चालिएको बताउँछन्।

"नत्र विगतमा हामीले यस्ता घटनामा धेरैपटक छाडेका पनि छौँ।"

एनएसीकी प्रवक्ता अर्चना खड्काले भने आफूहरूले तीन महिना अघिदेखि नै टिकेट विक्री खुला गर्ने गरेकाले समस्या आएको बताइन्। 

"हामी अन्तिम समयसम्म पनि यसअघि गर्दै आएकै उडानको स्वीकृति पाउने प्रयासमा थियौँ। तर त्यसो नहुँदा समस्या भएको हो।"

कमजोरी

क्यानले सोमवार जारी गरेको विज्ञप्तिमा एनएसीले 'यात्रुहरूलाई अलपत्र पारेको', 'गैरकानुनी तरिकाले बोर्डिङ पास' उपलब्ध गरेको भन्दै उसलाई स्पष्टीकरण सोधिएको जनाइएको थियो।

एनएसीले भने विज्ञप्तिमार्फत् नै 'विशेष कारणवश' हुन गएको उडान रद्दप्रति यात्रुहरूसँग क्षमायाचना गरेको थियो। 

तर त्यसको पृष्ठभूमि भने भैरहवा विमानस्थलबाट केही अन्तर्राष्ट्रिय उडानहरू थप्ने सरकारी योजनासँग जोडिन्छ।

अन्तर्राष्ट्रिय उडानमा अक्टोबर महिनाको अन्तिम आइतवारदेखि मार्च महिनाको अन्तिम शनिवारसम्मका निम्ति विमान कम्पनीहरूले हिउँदे उडान तालिका स्वीकृत गराउनुपर्छ। 

त्यसका लागि क्यानले अगस्ट महिनामै एनएसीलाई स्मरण गराउँदै उसको काठमाण्डू-दिल्ली दैनिक २ वटा उडानहरू रहेकामा त्यसमा केही गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट समेत राख्न आग्रह गरिरहेको थियो। 

"एनएसीको उडान हुने अन्य गन्तव्यमा दैनिक एउटा मात्र उडान हुने भएकाले दिल्ली सेक्टरका लागि त्यो सहज देखिन्थ्यो," क्यान प्रवक्ता निरौला भन्छन्।

"वहाँहरूले त्यसमा ठोस काम गर्नु भएन। बरु उडान नै स्वीकृत नभएको उडानको टिकट विक्री गरेर यात्रुहरूलाई अलपत्र पार्नुभयो।"

दिल्ली सेक्टरमा उडान घट्यो

यस घटनासँगै नेपाल वायुसेवा निगमले साप्ताहिक १४ उडान गर्ने गरेको दिल्ली सेक्टरको लागि अब साप्ताहिक १० उडानमा झारेको छ। 

नेपाल एअरलाइन्सलाई कात्तिक १८ भित्र भैरहवाबाट गर्ने उडानको योजना पेस गर्न भनिएको क्यानले जनाएको छ। 

"यस घटनाका हकमा भने क्यानले भैरहवाबाट उडान गर्नैपर्ने भनेको होइन, १० वटा साप्ताहिक उडानलाई मात्र अनुमति दिइएको हो," एनएसी प्रवक्ता खड्का भन्छिन्।

"भैरहवाबाट उडान गर्न केही समय त लाग्छ। तर हामीसँग उडान योजना मागिएको छ र हामी त्यसको तयारीमा जुटेका छौँ।" 

आइतबार र सोमवार रद्द गरिएका उडानको यात्रुहरूलाई अन्य उडानमा राखेर पठाउने काम भइरहेको र त्यो मङ्गलवारसम्ममा पूरा हुने उनले बताइन्।

"यसपछिका दिनमा प्रभावित हुने उडानका लागि अब हामी त्यसैगरी व्यवस्थापन गर्दै जान्छौँ। यसले यात्रुको आत्मविश्वासमा असर पर्ने कुरा हामीलाई थाहा छ।"

उड्डयन अधिकारीहरूका अनुसार हाल नेपालसँग भारतीय आकाश हुँदै भैरहवामाथि सीधै अवतरण गराउन पाउने हवाई मार्गको अनुमति छैन।

जसले गर्दा पश्चिमतिरबाट आउने जहाजहरू समेत सिमरामाथिको आकाशबाट प्रवेश गरेर भैरहवा पुग्नुपर्दा उडान खर्चिलो हुने विमान कम्पनीहरूले गुनासो गर्दै आएका पाइन्छन्।