तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
महारानी एलिजाबेथ द्वितीया यूकेको बाल्मोरलमा चिकित्सकीय निगरानीमा
महारानी एलिजाबेथ द्वितीया बाल्मोरलमा चिकित्सकीय निगरानीमा रहेको बकिङ्गम दरबारले जनाएको छ।
उनको स्वास्थ्यबारे चिकित्सकहरूले चिन्ता व्यक्त गरेपछि त्यसो गरिएको एउटा विज्ञप्तिमा जनाइएको छ।
छयानब्बे वर्षीया महारानीका सबै सन्तानहरू कि त स्कटिस क्षेत्र एबर्डिन नजिकैको उक्त निवासमा पुगेका छन् वा पुग्ने क्रममा छन्।
दरबारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "आज बिहान गरिएको थप मूल्याङ्कनमा महारानीका चिकित्सकहरूले उनको स्वास्थ्यबारे चिन्ता व्यक्त गरे र उनी चिकित्सकीय निगरानीमा रहन सुझाएका थिए।"
महारानी सहज अवस्थामा रहेको उक्त विज्ञप्तिमा थप भनिएको छ।
बकिङ्गम दरबारले यस्तो विज्ञप्ति जारी गर्नु निकै अस्वाभाविक मानिन्छ।
दरबारले निजी विषयका रूपमा हेरिने महारानीको स्वास्थ्य अवस्थाबारे प्राय: टिप्पणी गर्न रुचाउँदैन।
राजकुमार चार्ल्स त्यहाँ आफ्नी श्रीमती डचिस अफ कोर्न्वलसाथ पुगेका छन्।
प्रधानमन्त्री लिज ट्रसले "सिङ्गो राष्ट्रलाई" यो समाचारले "गहिरो चिन्ता" पार्ने बताएकी छन्।
उनले थप भनेकी छन्, "मेरो र हाम्रो यूकेभरिका मानिसहरूको प्रार्थना यस समयमा महारानी र उनको परिवारसाथ छ।"
महारानीले ट्रसलाई लन्डन नगईकन प्रधानमन्त्रीको रूपमा बाल्मोरलमा पदबहाल गराएकी थिइन्।