तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
युक्रेन युद्ध: रुसी विदेशमन्त्रीद्वारा तीन विदेशी नागरिकलाई मृत्युदण्ड सुनाइएको कदमको बचाउ
रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभले बिहीबार मृत्युदण्ड सुनाइएका दुई ब्रिटिश र एक मोरक्कोका नागरिकले स्वघोषित "डोनेट्स्क गणराज्य"मा आपराधिक क्रियाकलाप गरेको दाबी गरेका छन्।
यूकेकी विदेशमन्त्री लीज ट्रसले चाहिँ युक्रेनी समकक्षीसँग सजाय सुनाइएका आफ्ना नागरिकहरूको रिहाइ सुनिश्चित गर्ने प्रयासबारे छलफल गरेको बताएकी छन्।
तीनैजनालाई अन्तर्राष्ट्रिय मान्यता नपाएको रुस पक्षधर स्वघोषित डोनेट्स्क गणराज्यको एउटा अदालतले दोषी ठहर्याएको थियो।
युक्रेनी फौजको पक्षबाट लडिरहेका बेला उनीहरू रुसको कब्जामा परेका थिए।
संयुक्त राष्ट्रसङ्घले समेत यसबारे चासो व्यक्त गरेको छ।
उसको मानव अधिकार कार्यालयले युद्धबन्दी विरूद्धको त्यस्तो सुनुवाइ युद्धअपराध हुने जनाएको छ।
रुसी विदेशमन्त्रीले के भने?
लाभ्रोभले "सम्बन्धित अपराधहरू डोनेट्स्क गणराज्यको सीमाभित्र भएकाले त्यसको सुनुवाइ समेत त्यहीँको कानुनका आधारमा भएको" बताए।
युक्रेनबाट अलग्गिन भन्दै डोनेट्स्कमा सन् २०१४ यता मस्कोको सहयोगमा पृथकतावादी फौजले सैन्य अभियान चलाइराखेको छ।
उक्त क्षेत्र अझै अन्तर्राष्ट्रिय रूपमा युक्रेनी भूभाग मानिन्छ।
लाभ्रोभको भनाइ उद्धृत गर्दै रुसी सरकारी समाचार संस्था आरआईएएनले लेखेको छ, "बाँकी सबै कुरा अनुमानमा आधारित छन्। म डोनेट्स्क गणराज्यको न्यायिक र कानुन कार्यान्वयन गर्ने प्रणालीमा हस्तक्षेप गर्दिनँ।"
डोनेट्स्कको हैसियत
डोनेट्स्कको धेरैजसो भाग युक्रेनी नियन्त्रणमा छ। जसलाई संयुक्त राष्ट्रसङ्घका सदस्यहरूमध्ये रुसले मात्र स्वतन्त्र राज्यको रूपमा स्वीकार्छ।
रुसी सरकारी समाचार संस्थाहरूले अदालतका प्रमुखलाई उद्धृत गर्दै मृत्युदण्डको सजाय पाएकासामु क्षमादान माग्ने 'अधिकार' रहेको जनाएका छन्।
ब्रिटिश विदेशमन्त्री लीज ट्रसले यो विषय युक्रेनी समकक्षीसँग उठाएकी छन्।
तर हाललाई लण्डनमा रहेका रुसी राजदूतलाई सोधपूछ गर्न डाकिएको भने छैन।
बीबीसीका कूटनीतिक संवाददाता जेम्स ल्याण्डलले दुई ब्रिटिशहरूको भाग्यको फैसला कानुनले भन्दा राजनीतिले गर्ने देखिएको बताउँछन्।