नेपाल निर्वाचन: कांग्रेस र एमालेले एकअर्कालाई बुथ कब्जाको आरोप, अध्ययनपछि पुन: मतदान गर्ने आयोगको निर्णय

मतदान स्थल
तस्बिरको क्याप्शन, बुढीगङ्गा नगरपालिका वडा नं १० मा पर्ने सिगाडा माध्यमिक विद्यालय मतदान स्थलमा पनि फर्जी मतको विषयमा विवाद भएको थियो।
Published

देशका करिब सबै स्थानीय तहको मतपरिणाम सकेपछि निर्वाचन आयोगले बिहीवार बेलुका बाजुराको बुढीगङ्गा नगरपालिकाको मतदान रद्द गर्ने निर्णय गर्‍यो।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट मात्रै प्रमुख र उपप्रमुख पदमा उम्मेदवार रहेको यो नगरपालिकामा दुवै पक्षले एक अर्कामाथि बुथ कब्जा गरेको आरोप लगाएका थिए।

बाजुराको यो स्थानीय तहमा पुन: मतदानको मिति भने तय भइसकेको छैन।

विवाद के थियो?

यो नगरपालिकामा कांग्रेसले दुई बुथ कब्जा गरेको एमालेको आरोप छ भने कांग्रेस नेताहरू एमालेले चार बुथ कब्जा गरेको आरोप लगाउँछन्।

बुथ कब्जा भएका भनिएका क्षेत्रमा पुनः मतदानको माग कांग्रेसले गरेको थियो भने एमालेले मतगणना अघि बढाउनुपर्ने अडान लिएको थियो।

स्थानीय स्तरबाट विवाद समाधान नभएपछि निर्वाचन आयोगले आयुक्त सगुन शम्शेर जबराको नेतृत्वमा एउटा टोली स्थलगत अध्ययनका लागि बाजुरा पठायो।

'९९ प्रतिशतसम्म मतदान'

कब्जा भएका भनिएका मतदान केन्द्रहरूमध्ये एउटा केन्द्रमा ९९ प्रतिशतसम्म मतदान भएको दाबी गरिएको छ।

नेकपा एमालेका बाजुरा जिल्ला इन्चार्जसमेत रहेका प्रतिनिधिसभा सदस्य लालबहादुर थापाले कांग्रेसले कब्जा गरेका स्थानमा ९९ प्रतिशत मतदान भएको दाबी गरे।

"यहाँ जे गरेर भए पनि कांग्रेसले चुनाव जित्नुपर्ने नीति लिएको देखियो। १,७१० मतदाता भएको स्थानमा बुथ कब्जा गरेर १,६९९ मत खसाएको अवस्था छ," थापाले भने।

"यति हुँदा पनि मतगणना गर्न हामी तयार थियौँ तर उहाँहरूले सबै वडामा मतदानको अडान लिनुभयो।"

बाजुरा मतदान

निर्वाचन आयोगले यसबारे केही बताउन चाहेन।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आफूले पनि अध्ययन प्रतिवेदन हेर्न नपाएकाले यसको पुष्टि गर्न नसक्ने बताए।

"मैले पनि प्रतिवेदन हेर्न पाएको छैन," उनले बिहीवार बीबीसीसँग भने।

बाजुराका कांग्रेस नेता बद्री पाण्डेले अत्यधिक मतदान भएको विषय स्वीकार गरे।

"मेयरका उम्मेदवारकै वडा भएकाले मतदाताहरूले माया गरेर मतदानमा अत्यधिक सहभागिता भएको हो। कब्जा भएको होइन। त्यहाँ सबैले मुचुल्कामा समेत सही गरेका छन्," उनले भने।

सुरक्षाकर्मीले मतदानस्थल छोडेपछि समस्या

बुढीगङ्गाका केही मतदानस्थलमा विवाद भएपछि सुरक्षाकर्मीहरू फर्किएको विवरणहरू आएका छन्।

निर्वाचन आयोगले निर्वाचनको सुरक्षामा "गम्भीर लापरबाही" भएको भन्दै प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा निकाय प्रमुखहरूलाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ।

आयोगले जिल्लामा नयाँ कर्मचारी खटाएपछि मात्रै नयाँ निर्वाचनको मिति घोषणा गर्ने सङ्केत गरेको छ।

कांग्रेस नेता पाण्डे एमालेले बुथ कब्जा गरेका स्थानमा सुरक्षाकर्मीहरू नै लखेटिएको आरोप लगाउँछन्।

"सुरक्षाकर्मीहरू समेत टिक्न नसकेर हिँडेपछि आफैँ मतपेटिका राख्नु भएछ र भोलिपल्ट आफैँ पुर्‍याउनुभएछ। यो कब्जा नभएर के हुन्छ?" पाण्डेको आरोप छ।

मतदान स्थल

एमालेका नेता थापाको दाबी भने फरक छ।

"त्यहाँ आफ्नो उम्मेदवारका पक्षमा मत नआउने देखेपछि कांग्रेसले सत्ताको दुरुपयोग गरेर सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएको हो," उनले भने।

"सुरक्षाकर्मीको जिम्मेवारी मतदान केन्द्र छोडेर फर्कने हो कि मतपत्रको सुरक्षा दिने हो?"

नेताहरूका अनुसार मतदानका लागि भारत र नेपालकै विभिन्न ठाउँबाट गाउँ पुगेका मध्ये धेरै मतदाताहरू फर्किइसकेका छन्।

आयोगको भनाइ के छ?

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल दुवै पक्षले धाँधली भएको आरोप लगाएपछि आयोगले बाजुराबारे अध्ययन गरेको बताउँछन्।

"एउटा पक्षले मतगणना गर्नुपर्छ भन्ने र अर्को पक्षले पुनः मतदान गर्नुपर्छ भन्ने। पुनः मतदान गर्न फेरि अर्को पक्ष राजी नहुने भएपछि विवादबारे अध्ययनका लागि आयोगको टोली बाजुरा पुगेको थियो," उनले भने।

जबरा नेतृत्वको टोलीले दुई दिन लगाएर गरेको अध्ययनपछि तयार गरेको प्रतिवेदन भने सार्वजनिक गरिएको छैन।