तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल निर्वाचन: कतिपय मतदान स्थलको अस्तव्यस्तताबारे के भन्छन् मतदाता?
स्थानीय तहको निर्वाचनमा देशका विभिन्न स्थानका मतदाताहरूले आआफ्ना मतदान केन्द्रको व्यवस्थापनबारे सामाजिक सञ्जालमार्फत आफ्ना अनुभवहरू राख्दै विभिन्न प्रश्नहरू उठाएका छन्।
नेपाल प्रहरीले देशका विभिन्न ११ मतदान स्थानमा "विवाद र स्थगन" पछि पुनः मतदान कार्य सुरु भएको जनाएको थियो।
कतिपयमा मतदान सुरु भएपछि विवाद र झडपहरू भएको प्रहरीको भनाइ छ।
"त्यस्ता विवाद भएका लगभग सबैजसो ठाउँमा मतदान पुनः सुरु भएको छ," नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले भने।
विशेषगरी ठूला दलका कार्यकर्ताबीच विवाद हुँदा केही स्थानमा अवस्थालाई नियन्त्रणमा लिन "हवाई फायर" समेत गर्नुपरेको उनले जानकारी दिए।
तीबाहेक लाम व्यवस्थापन, असहज भौतिक संरचना, मतदान ढिला शुरू हुनुजस्ता विषयबारे मानिसहरू बोलेका छन्।
अव्यवस्थित भिड र भौतिक संरचना
त्रिभुवन विश्वविद्यालय, पत्रकारिता विभागका सह प्राध्यापक डा. कुन्दन अर्यालले फेसबुकमा नागार्जुन नगरपालिका वडा नम्बर १० को मतदान केन्द्रबाट निस्कने बाटोको तस्बिर साझा गरेका छन्।
बाँसहरूलाई नाइलनको डोरीले बाँधेर बनाइएको भर्याङ जोखिमपूर्ण देखिन्छ। त्यो नै अमर ज्योति माध्यमिक विद्यालयस्थित मतदान केन्द्रबाट मतदान गरेर निस्कने बाटो भएको उनको दाबी छ।
खराब बाटोको अवस्थाबारे अर्यालले गरेका व्यङ्ग्यात्मक टिप्पणीमा मानिसले प्रश्न गरेका छन्: वृद्ध वृद्धा वा अपाङ्गता भएका मानिस कसरी ओर्लन्छन्?
अर्यालका अनुसार वृद्ध वृद्धालाई जहाँबाट भित्र पठाइयो त्यहीँबाट बाहिर निकाल्ने व्यवस्था गर्दा भिड बढेको र वातावरण अव्यवस्थित भएको उनले बताए।
त्यस्तै ७ बजे शुरू हुने भनिएको मतदान ढिला शुरू हुँदा लाम असन्तुलित भएको बताए।
"महिला र पुरुषको लागि दुई वटा लाइन छ। वृद्ध वृद्धा र अपाङ्गता भएकाहरू पनि त्यहीँ मिसिनु पर्छ। मतदान केन्द्र व्यवस्थापनमा कुनै सृजनशीलता नै छैन," उनले बीबीसीसँग भने।
मतदानमा ढिलाइ
ईश्वरपुर नगरपालिका वडा नं १२ स्थित नयाँटोल मतदान केन्द्रमा पनि लाम अव्यवस्थित बन्दै गएको बताउँछन् सर्लाहीका स्थानीयबासी बिपि कोइराला।
अपाङ्गता भएकाहरूलाई सुविधा भए पनि वृद्ध वृद्धा समेत लाममा बस्नु पर्ने बाध्यताबारे उनी बोले।
"सात बज्नुअघि लाइन बसेकाहरूको बाह्र बजेसम्म पनि पालो आएको छैन। यसरी त निर्धारित समयसम्म मतदान सकिनु सम्भव देखिँदैन," उनले आकलन गरे।
करिब १,६०० मतदाता भएको वडामा अपराह्न १ बजेसम्म करिब ३५० मत मात्र खसेको हुनसक्ने उनले बताए।
कर्मचारी कम हुनु पनि मतदान केन्द्र अव्यवस्थित हुनुको कारण हुनसक्ने उनको भनाइ थियो।
काठमाण्डू, नागार्जुन ५ को युवा सहभागिता विद्यालयमा रहेको मतदान केन्द्रको अस्तव्यस्तताबारे गुनासो गर्छन् मानवशास्त्री डा. डम्बर चेम्जोङ।
"मतदानस्थलमा हेर्न, सुन्न वा हिँड्न नसक्नेहरूका लागि केही व्यवस्था नै गरिएको छैन। यसैलाई व्यवस्थित गर्ने भनेर यातायात ठप्प पारिएको छ। अस्पताल जानु पर्ने बिरामीहरूको अवस्था कस्तो होला?," उनले प्रश्न गरे।
मतपत्र नै झन्झटिलो
आजका लागि मतदाता सेवाग्राही भए पनि उनीहरूलाई सहज हुने वातावरण निर्माण नभएको उनको ठहर छ।
"मानिसहरू मत हालेर निस्कँदा पसिनाले भिजेका छन्। मतपत्र झन्झटिलो भयो। त्यसको डिजाइन नै छरितो भएन," उनले भने।
आफूले भोगेको परिस्थिति विश्लेषण गर्दा मतदान समयमा नसकिने र धेरै मत बदर हुन सक्ने सम्भावना देखिएको उनले बताए। मतदान शिक्षा प्रभावकारी नभएको कारण समस्या देखिएको हुनसक्ने पनि उनको अनुमान छ।
वर्षा र हिलो
कतिपय स्थानमा भने वर्षाका कारण समस्या भोग्नु परेको मतदाताहरूले बताएका छन्। इलामका पुष्प कट्टेलले आफ्नो मतदानस्थल वर्षाका कारण हिलाम्मे भएको गुनासो गरेका छन्।
त्यस्तै बालकृष्ण आचार्य नाम गरेका ट्विटर प्रयोगकर्ताले पनि लेखेका छन्: "मतदान उत्साहका साथ गरियो। तर व्यवस्थापन निकै फितलो लाग्यो मौसमविद्ले वर्षाको सम्भावना छ भन्दाभन्दै पनि मतदाताले सुरक्षित तवरले अमूल्य मतदान गर्न पाएनौँ।"
जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले मतदानको दिन देशैभरि वर्षाको सम्भावना रहेको जनाएको थियो।
निर्वाचन आयोगले पनि सोही अनुरूप मतदान स्थल र मतगणना स्थलमा त्रिपाल वा प्लास्टिकको व्यवस्था मिलाउन निर्देशन दिएको थियो।
दधि मगरले पनि मौसम पूर्वानुमान र सतर्कता अपनाउन गरिएको आग्रहका बाबजुद खुला चौरमा सामान्य पालको भरमा मतदान आयोजना गरिएको प्रति आलोचना व्यक्त गरे।
उनले भने,"बुटवलमा बिहानैदेखि पानी पर्न थाल्यो। वर्षाका कारण गर्दा मतदान नराम्रैसँग प्रभावित त भएन तर पानी पर्छ भन्दाभन्दै चौरमा सामान्य टेन्टको भरमा मतदान गराइएको छ। अधुरो व्यवस्थापन देखियो।
"क्रम सङ्ख्या नै परिवर्तन"
मतदाता परिचयपत्रमा भएको क्रम सङ्ख्या परिवर्तन हुँदा आफूले तनाव भोग्नु परेको निशा कुँवरले बताएकी छन्।
"मतदाता परिचय पत्रमा भएको क्रम सङ्ख्या परिवर्तन भएछ। नयाँ पत्ता लगाउनु नै झन्झटिलो थियो। तराईको घाममा लाम पनि लामो बस्नु पर्यो। हामीलाई रिस उठ्यो, वाक्क लागेको थियो," उनले अनुभव बीबीसीमार्फत साझा गरेकी छन्।
युवा तथा शारीरिक अपाङ्गता नभएकाहरूले समेत वृद्ध वृद्धा तथा अपाङ्गता भएकाहरूको लागि दिइएको सुविधा दुरुपयोग गरेको उनले सुनाइन्।
लेखेकी छन्,"गठबन्धन गरेका राजनीतिक दलहरूले निम्त्याएको समस्याको फरक कथा छ।"